यो बजेटमाथिको छलफलमा भाग लिइरहँदा एउटा ग्रीक कथा याद आयो, ‘पाण्डोराको बाकस’ । हाम्रो आर्थिक मामिला मन्त्रीको बाकस खुलेसँगै यहाँ असन्तोष, बेथिति, विसङ्गति, दुःख, अन्याय, अत्याचार र भेदभावजस्ता सम्पूर्ण खालका नकारात्मक चीजहरू, नकारात्मक पक्षहरू बाहिर आएको हामीले देख्यौँ ।
एउटा प्रश्न म सोध्न चाहन्छु । यो बजेटमाथिको छलफल किन रौनकविहीन हुँदै छ ? किन त्यति उत्साह देखिएन ? सातौँ वर्षमा हामी छौँ । रौनकविहीन तथा उत्साहहीन ढङ्गमा छलफल भइरहेको छ । यस विषयमा सोच्नको निम्ति अनुरोध गर्दछु ।
हाम्रो प्रदेशमा बजेट आउँछ, महँगी बढ्छ, बजेट आउँछ, गरिबी बढ्छ ! बजेटसँगसँगै अनियमितता बढ्छ, अन्याय बढ्छ, अत्याचार बढ्छ, बेइमानी बढ्छ, भ्रष्टाचार बढ्छ, बेरोजगारी बढ्छ । यो हाम्रो हरेक बजेटको असफलता हो कि होइन ? हाम्रो आर्थिक नीति तथा प्रणालीको असफलता हो कि होइन ? यो विषयमा कहिले हामीले सोच्ने ? जिम्मेवार सबैले यसमा सोचविचार पु¥याऔँ भन्ने म अनुरोध गर्दछु । हाम्रो राजनीतिक चिन्तनमा दोष कहाँनिर छ ? यथार्थमा हाम्रो राजनीतिक व्यवस्थामा दोष हो । यस विषयमा गम्भीरतापूर्वक सोच्न अनुरोध गर्दछु ।
यहाँ भागबन्डाको राजनीति देखिरहेका छौँ । डकैतहरूको पनि भागबन्डा हुँदो रहेछ । डकैतहरूको भागबन्डा कस्तो हुन्छ भने जसको बढी हतियार उसलाई त्यही हिसाबले बढी भाग ! के हामी त्यही शैलीमा गइरहेका हौँ ? प्रदेश सरकारले जवाफ दिन आवश्यक छ ।
के यो बजेट फट्याँइको, धुत्र्याइँ, बेइमानको, ढाँट, छलकपटको नाम हो ? शासक दलले जवाफ दिन आवश्यक छ । यति सा¥हो भद्रगोल किन भइरहेका छौँ ? किन हामी नियम मिच्नमा बहादुरी देखाउँदैछौँ ? यसमा पनि सरकारले जवाफ दिन आवश्यक छ ।
यहाँ माओको नाम लिने पार्टी र धेरै नेताहरू छन् भन्ने सुन्छौँ । माओ त्सेतुङले विकासको सन्दर्भमा, समाजको परिवर्तनको सम्बन्धमा, चीनको सन्दर्भमा ‘Walking on two legs’ अर्थात् दुई खुट्टा टेकेर अगाडि बढ्ने नीति अपनाएको हामी सबैलाई थाहा छ । हाम्रो सन्दर्भमा भन्ने हो भने ‘Walking on two legs’ भनेको कृषि र उद्योगलाई सँगसँगै लाने हो । गाउँ र सहरलाई पनि सँगसँगै लाने भनेको हो । गाउँलाई पनि प्राथमिकता, सहरलाई पनि प्राथमिकता । गाउँलाई मात्र प्राथमिकता दिएर पुग्दैन, सहरमा पनि विकास । सहरलाई मात्र जोड दिने होइन, गाउँलाई पनि । मजदुरले काम पाऊन् र किसानले खेतीपातीका निम्ति आवश्यक बन्दोबस्त पाऊन् । शिक्षा र स्वास्थ्यमा प्राथमिकता । विज्ञान र प्रविधिमा विकासमा जोड दिँदै संस्कृति र सभ्यताको जगेर्नामा यथोचित ध्यान पु¥याउँदै अगाडि बढ्ने ।
के नाराबाजी गर्दैमा हामी माओ त्सेतुङ विचारधाराका पक्षधर हुनसक्छौँ ? सक्दैनौँ । यदि हामी शक्तिमा छौँ र हामी व्यवहारमा सिद्धान्तलाई अनुवाद गर्न चाहन्छौँ भने विज्ञान तथा प्रविधि, कृषि, शिक्षा, स्वास्थ्य, उद्योगमा प्राथमिकता केन्द्रित गर्न हामीलाई कसले छेक्यो ? छेक्ने तागत कोसँग भयो ? यो विषयमा पनि जिम्मेवार शासक दलले वा सरकारले गम्भीरता देखाउन आवश्यक छ ।
आज यो वाग्मती प्रदेश सरकारको बजेटसँगसँगै जनता होइन, मजदुर—किसान होइन, बिचौलियाहरू रमाइरहेका छन् । यो बजेटमा बिचौलियाहरूको साठी प्रतिशतभन्दा बढी भाग रह्यो भन्ने आलोचना र विरोधको आवाज आइरहेको छ । किन आयो होला ? को हुन् ती बिचौलिया ? ती दलभित्रका बिचौलिया हुन् कि बाहिरका बिचौलिया हुन् ? यसको छानबिन हुन आवश्यक छ । सरकारले यसको व्यवहारबाट जवाफ देओस् । यो बजेट किन यति सा¥हो भेदभावकारी बन्यो ? किन हामी भेदभाव गर्नमा यति सा¥हो माहिर बन्यौँ ? शासक दल र सरकारले जवाफ देऊन् ।
राणा शासनको अन्त्य किन भयो भन्नेबारेमा हामीलाई थाहा छ । श्रेणीको विभाजन । क, ख, ग श्रेणीका राणा ! के हामी फेरि त्यहीँ राणाशासन बिउँताइरहेका छौँ ? श्रेणी विभाजनमै विश्वास राख्दै छौँ ? नवसम्भ्रान्त वर्ग हामी बन्दै छौँ ? या नवसम्भ्रान्त वर्ग जन्माउँदै छौँ ? यसको पनि प्रदेश सरकारले, मुख्यमन्त्रीले, आर्थिक मामिला मन्त्रीले जवाफ दिन आवश्यक छ । श्रेणीविभाजनको अन्त्य होस् ! नवसामन्तवादको अन्त्य होस् ! नवसम्भ्रान्त तयार गर्ने खालको व्यवहार र काम तुरून्त बन्द गरियोस् भन्ने माग हामी गर्दछौँ । नेपाल मजदुर किसान पार्टीको यसमा जोडदार माग छ । राणाको अन्त्य त्यहीँ कारणले भयो । पञ्चायतको अन्त्य त्यहीँ कारणले भयो । नव पञ्च र नव राणाहरूको अन्त्य पनि त्यहीँ कारणले हुनेछ !
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले वाग्मती प्रदेश सरकारको बजेट वक्तव्यमाथि गत असार ७ गते भएको छलफलमा बोल्दै राख्नुभएको विचार सामान्य सम्पादनसहित)