भक्तपुर, ५ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा ऐतिहासिक भ्रष्टाचारीविरोधी आन्दोलनको स्मरणमा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा अतिथि प्रेम सुवालले ठुला पार्टी भनाउँदाहरू पार्टीको सिद्धान्तअनुसार नचल्दा र बाँडीचुडी देशको ढुकुटी रित्याउने काम गरी जनतालाई शासन गरिरहेको हुँदा सोको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनतालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाबारे सुसूचित पार्नुपर्छ भन्नुभयो ।
सरकारमा जाने पार्टीका सांसददेखि वडाध्यक्ष, सचिव, कर्मचारीको अख्तियार दुरूपयोग आयोगमा मुद्दा दर्ता भएबाट देशमा चरम भ्रष्टाचार बढिरहेको स्पष्ट पार्दै त्यस्ता गतिविधिको भण्डाफोर गरी भ्रष्टाचारमुक्त देश बनाउने अभियानमा लाग्नु सचेत नागरिकहरूको दायित्व भएको बताउनुभयो ।
सरकारमा पुगेका नयाँ पार्टीका सांसदहरू पनि उनीहरूकै पछि लाग्नु विडम्बना भएको उल्लेख गर्दै उहाँले देश र जनताको हितको पक्षमा लाग्नु राजनैतिक कार्यकर्ताको काम हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुरका जिल्ला उपाध्यक्ष तथा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले २०२५ साउन २ र २०२६ असार १९ को भ्रष्टाचारविरोधी आन्दोलनबारे प्रस्ट पार्दै जनताले बचत गरेको बचत हिनामिना गरी बचतकर्तालाई आहत पु¥याइरहेको हुँदा त्यसतर्फ सचेत हुनुपर्छ भन्नुभयो ।
वाग्मती प्रदेश सांसद गीता काफ्लेले प्रदेश सरकारको नीति तथा कार्यक्रममा पेस भएको विनियोजित गर्नुपर्ने शीर्षकमा सरकारका हिमायतीहरूले बजेट विनियोजन नगरी क्षमायाचना गरेर पन्छिन खोजेको बताउनुभयो ।
चानपा–९ का वडाध्यक्ष गणेश त्यातले नपाको गतिविधि तथा बजेट विनियोजन जनताको सरोकारको पक्षमा भन्दा कार्यकर्ता पाल्नेतर्फ केन्द्रित रहेको बताउनुभयो ।
कार्यक्रममा चानपा कार्यपालिका सदस्य तथा ९ नं. वडा महिला जनप्रतिनिधि कमला गिरी, गणेशराम सुवाल र एस.बी.फोजुले पनि बोल्नुभएको थियो ।