काठमाडौँ, ११ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपा काठमाडौँ जिल्लाको दसौँ जिल्ला परिषद् शुक्रबार पार्टी प्रकाशन पुस्तक प्रदर्शन गरी उद्घाटन गर्नुभएको छ ।
उक्त परिषद्मा सचिव सुवालले नेपाल मजदुर किसान पार्टी आफ्नो प्रकाशनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल र अन्तरक्रिया गरी कार्यकर्ता र शुभेच्छुकहरूको राजनीतिक र सांस्कृतिक स्तर माथि उठाउन लागिपरेको उल्लेख गर्दै भन्नुभयो, “राजनीतिक परिवर्तन गर्न एक युग लाग्न सक्छ, हतार मानेर हुँदैन । भारतबाट बेलायती उपनिवेशलाई हटाउन दुईसय वर्ष लाग्यो । नेपालमा राणा शासन अन्त्य हुन १०४ वर्ष लाग्यो ।”
अमेरिकी जनताले लामो सङ्घर्ष गरेर बेलायती उपनिवेशवादलाई पराजित गरेको स्पष्ट पार्दै उहाँले बेलायतबाट मुक्त भएको अमेरिका र भारतमा अहिले बेलायती उपनिवेशवादकै छाप देखिएको छ† अमेरिकी सरकारले संसारका ९०२ ठाउँमा सैनिक अखडा बनाएको छ भने भारतले दक्षिण एसियामा आफ्नो प्रभाव कायम गरेको छ तर न्यायप्रेमी जनताले अमेरिकी र भारतीय सरकारको थिचोमिचोलाई प्रतिरोध गर्दै छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस विदेशी पुँजीको सेवा गर्ने पार्टी हो । नेकाको सरकारले सार्वजनिक संस्थान कौडीको मोलमा बिक्री ग¥यो । युवालाई वैदेशिक रोजगारीमा पठायो । माक्र्सको मृत्युपछि उहाँकै शिष्य वर्नस्टिनले पुँजीवादी चुनाव जितेर संसद र सरकारमा पुग्ने बाटो लियो । एमालेका मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ पनि वर्नस्टिनकै बाटो हो । माओवादी भारतको ‘ट्रोजन हर्स’ हो । पुँजीवादी सरकारमा गएकाहरू जनताको पार्टी हुन सक्दैनन् ।”
“आर्थिक र वैदेशिक मामिलामा एउटै दृष्टिकोण राख्ने राजनीतिक पार्टीहरूको अलग अस्तित्व जरुरी छैन । एउटा पार्टीका नेता र कार्यकर्ताहरूलाई अर्को पार्टीको चुनाव चिह्नमा मत हाल्न लगाउनु राजनीतिक नैतिकता र सिद्धान्तनिष्ठ होइन ।”, उहाँले भन्नुभयो ।
अमेरिकी प्राध्यापक एवम् वरिष्ठ लेखक नोम चोम्स्कीले त्यहाँको डेमोक्रेटिक र रिपब्लिकन पार्टी उद्योगी–व्यापारीको पार्टी भएको स्पष्ट पार्दै सचिव सुवालले उद्योगी–व्यापारीहरूले चन्दा नदिने बताएपछि बाइडेनले राष्ट्रपति उम्मेदवार नहुने बताउनु अमेरिकी राजनीतिमा उद्योगी–व्यापारीको कब्जा रहेको पछिल्लो प्रमाण हो भन्नुभयो ।
नेपालमा नेका र एमालेको संयुक्त सरकार गठन गराउन एक उद्योगी–व्यापारीबाट मध्यस्थता गरिएको घटनाले यो संयुक्त सरकार पनि कामदारवर्गको हितमा नबनेको पुष्टि गर्छ, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “जसको हातमा अर्थतन्त्र हुन्छ, राजनीति उसैको हुन्छ । भारतमा उद्योगी–व्यापारीहरूको समर्थन भएकै कारण मोदीको भाजपा तेस्रो पटक सरकारको नेतृत्वमा पुगेको हो । बेलायतमा सरकारमा फेरिएर पुग्ने कन्जरभेटिव र लिवरल पार्टी पनि उद्योगी–व्यापारीकै पार्टी हुन् । नेपालमा पनि पुँजीपतिवर्गले नेका र एमालेको दुई पार्टी प्रणाली बनाउन प्रयास गर्दै छ । यसले नेका र एमाले एउटै ढ्याकको खुकुरी र त्रिशुल साबित भयो ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले देशमा सत्ता परिवर्तन देश र जनताको हितमा नभई सत्ता स्वार्थमा मात्र लागेको बताउनुभयो ।
पुँजीवादमा सबै सत्तासीन दलहरू भ्रष्टाचारमा डुबेका छन् भन्दै उहाँले जनताको सरकारले मात्र भ्रष्टाचारी, अनियमितता गर्ने जनविरोधीलाई कारबाही गर्छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सृजना सैंजूले नयाँ राजनीतिक पार्टीले पुरानै पार्टीको गतिविधिलाई निरन्तरता दिने गरेको बताउनुभयो ।
सत्ता प्राप्तिको लागि देशको सार्वभौमिकता, स्वाधीनतामाथि आँच आउने प्रवृत्तिले देश र जनताको सेवा नहुने उहाँले बताउनुभयो ।
पार्टीका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले राजनीतिक कार्यकर्ताहरू हरेक विषयमा सक्षम भई जनताबिच जान तयार हुनुपर्ने बताउनुभयो ।
राजनीतिक ज्ञान नलिइकन जनताको बिच सङ्गठन र सेवा गर्न नसक्ने भएकोले माक्र्सवादी शिक्षाबाट प्रशिक्षित हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्लाका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष राजवीर डंगोल, सचिव श्यामकुमार महर्जनले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा केन्द्रीय सदस्य एन. महर्जन, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवाल र प्राध्यापक समाजका सहसचिव इ. सुजन माकले फासीवादबारे प्रशिक्षण दिनुभएको थियो ।
परिषद्मा जिल्ला समिति, पेसागत तथा वर्गीय जिल्ला समिति र विभिन्न नगर समितिको प्रतिवेदन प्रस्तुत हुने परिषद् शनिबार पनि चालु रहनेछ ।