काठमाडौँ, १२ साउन । नेपाल मजदुर किसान पार्टीको १० औँ काठमाडौँ जिल्ला परिषद् शनिबार कीर्तिपुरमा सम्पन्न भयो ।
परिषद्ले जिल्ला समितिको प्रतिवेदन संशोधनसहित पारित ग¥यो । परिषद्ले काठमाडौँ जिल्ला सम्मेलन पुस २६ र २७ गते गर्ने निर्णय गरेको छ ।
परिषद्मा विभिन्न नगर समितिको प्रतिवेदन, पेसागत र वर्गीय समितिको प्रतिवेदन पेस गरिएको थियो ।
परिषद्को दोस्रो दिन शनिबार भएको प्रशिक्षणमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टीका कार्यकर्ताहरूले कम्युनिस्ट आचरणअनुसार देश र जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
उहाँले कम्युनिस्ट पार्टीको नाम राखेर कम्युनिस्टको आचरण त्यागी कलकारखाना विदेशीलाई बेच्ने कम्युनिस्ट हुन नसक्ने बताउनुभयो ।
उहाँले कम्युनिस्टको सरकारले समाजलाई शिक्षित र बुद्धिजीवी बनाई देशको सेवा गर्न प्रेरित गर्नुपर्छ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “समाजवादी क्रान्तिसँगै १८ वर्षमै चीन विश्वको धनी देश बन्न सफल भयो । पुँजीवादले २०० वर्षमा गरेको काम कम्युनिस्ट सरकारले छोटो समयमा सफलता हासिल गरेर संसारलाई देखाइदिएको छ ।”
कम्युनिस्ट को हो, होइन भन्ने कुरा मुखले होइन काम र व्यवहार देखाउने स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले एमाले र माओवादी भाइकाङ्ग्रेस भएको हुँदा ती पार्टीबाट कामदार जनताको पक्षमा काम हुनेछैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेका र एमालेको संयुक्त सरकार संसदीय व्यवस्थाको सिद्धान्तविपरीत छ । संसद्मा ठुलो हुने दलले सरकारको नेतृत्व गर्ने र दोस्रो ठुलो दलले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने मान्यता संसदीय व्यवस्थाको मान्यता हो ।”
राजनीतिक कार्यकर्ताहरूले सुसंस्कृत समाज बनाउन सचेत नागरिकको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता अध्यक्ष बिजुक्छेँले औँल्याउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टीका कार्यकर्ताहरू अनुशासित, इमानदार भई पार्टी विधानलाई अक्षरसः पालना गरी कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।
नेमकिपाका नेता तथा कार्यकर्ताहरू अनुशासित, इमानदार र नैतिकवान भएकाले तत्कालीन पञ्चायती शासकलाई आँखाको धुलो साबित भएको ठानी नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती राज्य व्यवस्थाले भक्तपुर काण्डको षड्यन्त्र रचेको उहाँले बताउनुभयो ।
अहिले पनि फरक ढङ्गले भक्तपुर काण्डजस्तै अनेक षड्यन्त्र चालु रहेकोले सतर्कतासाथ काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “स्थानीय तहमा निर्वाचित भएर पार्टीको निर्देशनअनुसार र भक्तपुर नगरपालिकामा काम भइरहेको छ । शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण सम्बन्धमा भक्तपुर नगरपालिकाले गरिरहेको काम अरू स्थानीय तहको निम्ति चासोको विषय बनेको छ ।”
प्राध्यापक समाजका सुनिल दुवालले द्वन्द्वात्मक भौतिकवाद र माक्र्सवादी शिक्षाबारे प्रशिक्षण दिनुभएको थियो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको परिषद्ले नारायण महर्जनको संयोजकत्वमा ४९ सदस्यीय नेमकिपा काठमाडौँको सातौँ जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।
परिषद्मा समितिका कोषाध्यक्ष रमेश डंगोलले समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।