भक्तपुर, ११ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा ब्यासी एकाइ समितिको आयोजनामा शुक्रबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले नेमकिपा देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्न स्थापना भएको बताउनुभयो ।
“पुँजीवादी सरकारको सहुलियत र सुविधाबाट टाढा रहनु निःस्वार्थपूर्वक देश र जनताको सेवा हो, निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्नेहरू उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरणको पक्षमा हुनेछन्, माक्र्स र एङ्गेल्सको शिक्षा पनि सामाजिकीकरण हो । पदमा पुगेकाहरू उद्योग–व्यापारमा लाग्नु र पदकै आधारमा तिनको उद्योग–व्यापारको शेयरको मूल्य बढ्नु निःस्वार्थपूर्वक सेवा होइन । नेमकिपाका कार्यकर्ताहरूले निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्दै छन्”, उहाँले भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका कार्यवाहक अध्यक्ष लक्ष्मीभक्त लासिवाले नेमकिपा नेपालको कम्युनिस्ट पार्टीहरूमा देखिएका खोटा विचारहरूलाई चिर्दै तल्लोवर्गको समाज स्थापना गर्न स्थापना भएको पार्टी हो भन्नुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले देशमा वर्गसङ्घर्ष आज पनि आवश्यक रहेको र पञ्चायती सरकारले २०४५ सालमा नेमकिपा र कार्यकर्ताहरूको समूल नष्ट गर्न खोजेको इतिहासबारे प्रस्ट पार्नुभयो ।
नेमकिपा भनसका गङ्गाराम ज्याख्वले बीआरआई परियोजनबारे बोल्नुभयो ।
सरोज दथेपुथेको सभापतित्वमा भएको उक्त कार्यक्रममा रत्नकाजी नातरी र पवनकृष्णले पनि बोल्नुभएको थियो ।