प्रदेश सरकारका ७ वर्षका सफलता तथा असफलताका विषयमा शासक दलहरूबिचको छलफल यहाँ हामीले सुन्यौँ । सात वर्षसम्म यो प्रदेशलाई बिना कुनै फल र जनताको पक्षमा सिन्कोसमेत नभाँची यो प्रदेशको औचित्यमाथि प्रश्न उठ्न दिने स्वयम् शासक दलहरू नै हुन् । यो स्थितिका निम्ति अहिलेसम्म प्रदेश सरकारमा जाने सबै दलहरू जिम्मेवार छन् ।
सहिद दिवस भर्खरै हामीले मनायौँ । सहिदहरूले अहिले पनि कतैबाट हेरिरहेका छन् भने यो देशका शासकहरूलाई पहिला देख्दा हुन् । सहिदहरूका आँखामा ठुलो अपराधी तथा जनविरोधी कोही ठहर्नेछन् भने शासकवर्ग र शासक दलहरू नै हुन् । त्यसका जिम्मेवार नेताहरू नै हुन् ।
देशमा दुईदलीय शासन व्यवस्थाको खतरा बढ्दै छ । यसको सङ्केत आजभन्दा ३० वर्षअगाडि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय नेता नारायणमान बिजुक्छेँ (रोहित) ले केन्द्रीय संसद्मा दिनुभएको थियो । त्यतिखेरसम्म देशका शासन सत्तामा जाने दलका नेताहरू कि त बेखबर थिए कि त तिनले सुने नसुनेझैँ गरे । आज देशले त्यसको परिणाम भोग्दै छ । अझै पनि हामीले होस पु¥याएनौँ भने देश बर्बादीतर्फ वा अर्को नराम्रो चङ्गुलमा फस्ने निश्चित छ ।
अहिले हामी पनि प्रदेशकै विषयमा चर्चा–परिचर्चा गर्दै छौँ । प्रदेश आवश्यक छ या छैन भन्नेबारेमा पुस्ट्याइँ पेस गर्ने हाम्रो काम र व्यवहारबाट नै हो । यदि यो आवश्यक छैन भने यसलाई लामो समय किन पाल्ने ? आवश्यक छ भने काम र व्यवहारबाट पुष्टि गरौँ ! यसको नेतृत्व गर्नेहरूले अझ बढ्ता जिम्मेवार भएर अगाडि बढौँ ! हाम्रो सुझाव छ । हामीले बन्दोबस्त यदि गर्न जानेका छैनौँ, गर्ने आँट र सोच हामीसँग छैन भने स्थानीय तहलाई हाम्रो बजेटहरू पठाइदेऔँ । बलियो ढङ्गमा स्थानीय तहहरूलाई अधिकार देऔँ ! बजेट देऔँ ! केही–केही समाधानहरू जरूर निस्कनेछन् । बरू यसमा एउटा उपाय सोचौँ ! नियम बलियो बनाऔँ र अनुशासनमा राखौँ ! भ्रष्टाचारशून्यतालाई प्रत्याभूति दिलाऔँ ! पार्टी स्वयम्ले जबसम्म भ्रष्टाचारीलाई जोगाउनेछ र भ्रष्टाचारीहरूलाई प्रश्रय दिनेछ तबसम्म देशको समस्या समाधान हुनेछैन । हामीले देश–विदेशका खबरहरू सुनिरहेका छौँ । भ्रष्ट मन्त्री, भ्रष्ट राष्ट्रपतिहरू कार्यरत रहँदा र त्यसपछि पनि तिनीहरू सजायका भागीदार बनिरहेका छन् । जेल पुग्दै छन् । त्यस्तो खालको घटना यहाँ नहोस् भन्ने हाम्रो चाहना हो । त्यसो नहुँदै यदि हामीले बुद्धि पु¥यायौँ भने देशमा अहिलेको जुन गञ्जागोल छ केही हदमा त्यो रोकिने छ । सत्तामा बसेका नेताहरू र सत्तामा बसेका पार्टीका कार्यकर्ताहरू स्वयम्ले जबसम्म भ्रष्टाचार गर्नेछन् त्यतिबेलासम्म हामी जतिसुकै कराए पनि यो देश उँभो लाग्ने छैन । आजको स्थिति आउनुमा एउटा कारण के हो भने सत्तामा बसेका दलका नेता र कार्यकर्ताहरू स्वयम् भ्रष्टाचारका निम्ति जिम्मेवार छन् । यसबाट हामी कसरी मुक्त हुन सक्दछौँ ? यसबाट कसरी माथि उठ्न सक्दछौँ ? कसरी उठ्ने ? आजको यक्ष प्रश्न यही हो ।
अहिले प्रदेशलाई हामीले हे¥यौँ भने आम्दानी पनि गर्न नसक्ने खर्च पनि गर्न नसक्ने स्थितिमा छ । यो के तरिका हो ? हामीले यसको जिम्मेवारी लिनुपर्दैन ? सात वर्षसम्म प्रदेश सरकारको नेतृत्व गर्ने, जिम्मेवार तहमा पुग्नेहरूले त्यसको विषयमा बोल्नुपर्दैन ? सोच्नुपर्दैन ? यहाँ पनि हाम्रो रचनात्मक विरोध छ । सबैले ध्यान पु¥याऔँ भन्ने हाम्रो आग्रह हो ।
अहिले त नयाँ बजेटको बारेमा तयारी गर्नुपर्ने बेला भइसक्यो । तर, अहिलेको बजेट नै हामी खर्च गर्न सकिरहेका छैनौँ । बजेटको सदुपयोग, त्यसको रिजल्ट हामी देखिरहेका छैनौँ । हामीले यति ग¥यौँ, उति ग¥यौँ भन्नुभन्दा पनि परिणाम सबैसामु छ नि र हामीले गफै मात्रै ग¥यौँ कि काम ग¥यौँ भन्ने कुरा त सबैलाई थाहा छ । प्रदेशवासीहरूलाई थाहा छ । यहाँनिर अलिकति नैतिक जिम्मेवारीको पनि प्रश्न उठ्छ । नहुँदा नहुँदै पनि भइरहेको छ भन्नु गर्न सकिरहेको छैन, हामीले गरिरहेका छौँ भन्नु त्यो जति अर्को ठुलो पाखण्ड के होला ? अप्रिय हुन सक्छ यो शब्द तर मुखले एउटा भनिरहने काम अर्को गरिरहने त्यो पाखण्ड हो । पाखण्डी हामी नबनौँ । प्रदेश सरकारलाई यो शुभकामना छ । शुभकामना दिनैपर्छ भने यतिसम्म शुभकामना हामी पनि दिन्छौँ । त्यो रोगबाट मुक्त बनौँ । केही नगर्ने तर हामी गफ हाँकिरहने, त्यो मिलेन ।
अहिले त विश्वमा तहल्का मच्चाउँदै छ डीपसीकले । अब च्याट जीपीटीको जमानासँगै डीपसीकको आयो । डीपसीकलाई वाग्मती सरकार कस्तो छ भनेर सोध्यौँ भने जवाफ मिल्नेछ, ‘गफाडी नै गफाडी छ, काम केही गर्दैन, फाल्तु छ, कस्तो अचम्म खालको !’ प्रदेशवासीलाई त थाहा भएकै कुरा भयो !
अब ढिला भइसक्यो । आफ्नै खुट्टामा उभिने हामीले विवेक अपनाएनौँ भने अस्तित्व कहाँनिर पुग्छ, त्यो ठेगान छैन । किनभने हामीले अमेरिकालाई ड्रिमल्यान्ड भन्यौँ । अमेरिका आज देश निकाला गर्दै छ; लाखौँलाई देश निकाला गर्दै छ । हाम्रा पनि कति कति देश निकालामा पर्दै छन् भन्ने आउँदै छ । आप्रवासीहरूलाई निकाल्ने कुरा गर्दै छ । अनुदान रोक्ने कुरा गर्दै छ । अनेक कुरा गर्दै छ । भर्खरै निर्वाचित राष्ट्रपतिले त्यो निर्णय गरेको हामी सुन्दै छौँ । अर्काको भर परून्जेल सुख नमिल्ने यसले पनि प्रस्ट पार्छ । ‘आयो ! एमसीसी आयो ! यो हुने भयो, त्यो हुने भयो भनी उफ्रियौँ हामी ¤ के हुँदै छ आज ? परिणाम विस्तारै के हुँदै जाला ? समयले बताउला ! त्यसकारण, आफ्नै खुट्टामा उभिनको निम्ति देशले र त्योभन्दा अगाडि प्रदेशले तयारी गरेनौँ भने दुर्भाग्य कसैले पनि रोक्न सक्ने छैन । व्यावहारिकरूपमा तयारी हाम्रो प्रदेशले गरोस् ।
हिजो चीनसँग मात्र भएको ‘ट्रेड वार’ अहिले संसारमा क्यानाडा, मेक्सिकोलगायत अन्य विभिन्न देशसँग चौतर्फीरूपमा अतिरिक्त कर लगाउने अमेरिकाले घोषणा गरिसकेको छ । २५ प्रतिशतदेखि ६० प्रतिशतसम्म अतिरिक्त कर ! कसरी चल्छ देश ? त्यसकारण, अहिले सत्तामा अनेक गफ हाँकेर बस्यौँ भने भोलि ढिला होला र हाम्रो आग्रह हो । दीर्घकालीन सोच तथा दूरदर्शिता नै छैन भने सरकारमा किन बस्ने ? हामीलाई आश्चर्य लाग्छ ! अलिकति केही गरिखान सक्यौँ भने पो सरकारमा बसेर झन्डा हल्लाउन सुहाउला ! केही गर्न सक्दैनौँ भने राजीनामा दिने हो । नैतिकता अलिकति बाँकी छ भने यसबारे सोचौँ !
सहकारी क्षेत्रको विषय अत्यन्त गम्भीर छ । हामीले बारम्बार यो ठाउँमा ७ वर्ष लगातार उठाएको कुनै कुरा छ भने सहकारी क्षेत्रको हो । यो क्षेत्र डामाडोल हुँदै छ । सहकारी भनेको हाम्रो ‘अर्गानिक’ पुँजी हो । त्यो समेत ध्वस्त भयो भने देशको केही पनि आफ्नो बाँकी रहँदैन । केन्द्रीय बजेट त अरूसँग भर परेको बजेट । तर आफ्नै पुँजी, आफ्नै रकम भनेको त सहकारीसँग भएको पुँजी हो । त्योसमेत विदेश पलायन, त्यो समेत डामाडोलको स्थितिमा, त्यो समेतमा हामी सुरक्षित बनाउन र व्यवस्थापन गर्न चुकिरहेका छौँ । अब फेरि सहकारीमा जो–जो ठगहरू छन्, एक होइन, दुई होइन, सारा ठगहरूलाई समातेर तिनीहरूको घर–घरानाबाट सहकारीका पीडितहरूलाई रकम फिर्ता गर्नुपर्छ । सहकारीको जुन पुँजी छ, रकम छ त्यसलाई जोगाउनेतर्फ हाम्रो प्रदेश सरकार र सहकारी मन्त्रालय केन्द्रित हुनुपर्छ । सारा जनता मिलेर त्यसमा काम गर्नुपर्छ । मोलाहिजा राख्ने कुरा आउँदैन । यो सहकारीको सवाल अत्यन्त संवेदनशील हो । त्यसमा चुक्यौँ भने हामी २५ वर्ष पछाडि पर्नेछौँ । हाम्रा उद्योगधन्दा, कलकारखानाहरू चल्न सक्ने छैनन् । कुटिर उद्योगहरूको विकास सम्भव हुने छैन ।
प्रदेश सरकारको मुकाम यहीँ छ । अहिलेको खबरले भन्यो, हेटौँडा सिमेन्ट कारखाना ६ महिनामा २६ दिन चल्छ । लामो इतिहास भएको उद्योगको यो बिजोग छ । तर, प्रदेश सरकार देख्दैन । त्यो कुनै हर्नै नपर्ने, सुन्नै नपर्ने, देख्नै नपर्नेझैँ सरकार गर्दै छ । यो पनि एक हिसाबले हाम्रो निम्ति नैतिक हाँक र क्षमतामाथि प्रश्न हो । यो विषयमा पनि अलि ध्यान पु¥याऔँ भन्ने हाम्रो आग्रह हो ।
नेपाल मजदुर किसान पार्टी २०३१ साल माघ १० गते स्थापना भएको हो । यो वर्ष हामी ५१ औँ वर्षमा प्रवेश गरेका छौँ । हामी कामदार जनताबिच गएर पार्टी स्थापना दिवस मनाउने काम अगाडि बढाउँदै छौँ । देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने, यो देशको अस्तित्व, देशको अखण्डता रक्षाको निम्ति काम गर्ने, माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराको आधारमा देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने नेपाल मजदुर किसान पार्टीको उद्देश्य हो, लक्ष्य हो । जनताको प्रजातन्त्र हुँदै समाजवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने अन्तिम गन्तव्य हो । त्यसमा हामी अविचलितरूपमा लाग्दै छौँ । नेपाली कामदारवर्ग र नेपाली राष्ट्रिय पुँजीपतिवर्गसमेतको सहयोगमा हामी अगाडि बढ्दै छौँ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेपाली कामदार जनता र विदेशमा रहेका सम्पूर्ण नेपाली कामदार जनताप्रति, देशभक्त नेपालीप्रति हार्दिक–हार्दिक शुभकामना दिन्छु ।
(वाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशनको पहिलो बैठक गत माघ १८ गते बस्यो । सो बैठकमा नेमकिपाको तर्पmबाट विचार व्यक्त गर्दै नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राख्नुभएको मन्तव्य सामान्य सम्पादनसहित प्रस्तुत छ ।)