नेपालको हिमाल, पहाड र तराईका गरिब जनताको समस्या उस्तै छ । तराईका सबै जिल्लाहरू छिमेकी देश भारतसँग सिमाना जोडिएको छ । यहाँ खुला सिमानाका कारण दुवै देशका गरिब जनता सधैँ अप्ठ्यारोमा परेका छन् । खुला सिमानाको फाइदा दुवैतिरका अपराधीहरूले लिइरहेका छन् । खुला सिमाना अपराधीहरू ओहोरदोहोर गर्ने चोर बाटो बन्दै छन् ।
तराई क्षेत्र समथर भूभाग भएकोले तराईलाई अन्न उत्पादन गर्ने भण्डारको रूपमा लिन सकिन्छ । यो क्षेत्रमा हिमाल र पहाडका जनतालाई वर्षभरि पुग्ने सँगसँगै निर्यात गर्न सकिने खाद्यान्न उत्पादन गर्न सकिन्छ । तर, चुरे, भावर दोहन र उपयुक्त सिँचाइको व्यवस्थापन नहुँदा तराईका अधिकांश कृषियोग्य जग्गा मरुभूमिमा परिणत हुँदै छ ।
तराईका बहुमत जनता कृषिमा आधारित भए पनि अधिकांश किसानहरूको नाममा खेत छैन । नेपाल मजुदर किसान पार्टीले जोत्नेलाई जमिन वितरण अर्थात् क्रान्तिकारी भूमिसुधारमार्फत कृषि उत्पादनमा जोड दिइरहेको छ । तर, शासकहरू किसानमाथि अन्याय र विश्वाघात गर्दै छन् ।
नेपालमा भएका हरेक आन्दोलनमा मजदुर र किसानहरूको उल्लेखनीय योगदान छ । तर, गरिबको समस्या ज्यूँका त्यूँ छ । शोषक, सामन्त र जमिनदारहरूको किसानप्रति थिचोमिचो बढ्दो छ । तराईका विभिन्न जिल्लामा वि.सं. २००८ सालदेखि २०१४/१५ सम्ममा किसान आन्दोलन भएको थियो । ती किसान आन्दोलनबाट सामन्तहरू समाप्त हुँदै थिए । हाम्रो पार्टीले बारा, पर्सा, रौतहट, धनुषा, सिराहा र सप्तरीलगायत तराईमा भएको किसान आन्दोलनबारे नयाँ पुस्तालाई सुशिक्षित पार्न ‘ऐतिहासिक किसान आन्दोलन (बारा, पर्सा, रौतहट, धनुषा, सिराहा र सप्तरी) एक अध्ययन’ नेपाली, भोजपुरी र मैथली भाषामा पुस्तक प्रकाशित गरेर गरिब जनतालाई शिक्षित पार्दै आएको छ । तर, कम्युनिस्टको नाममा सरकारमा गएका सरकारहरूले सामन्तवर्गकै सेवा गरे । कम्पनीको नाममा सामन्त र पुँजीपतिवर्गलाई हदबन्दीभन्दा बढी भएको जग्गा सरकारी नगरी बिक्री गराउँदै छन् ।
गरिबको हक अधिकार सुनिश्चित गर्न किसान आन्दोलन अगाडि बढाउनु जरुरी थियो । सरकारमा गएका दलहरू किसान आन्दोलनविरोधी भएको अहिले पुष्टि भयो ।
तराईमा बर्सेनि चल्ने शीतलहरका कारण अधिकांश गरिब जनताले आवश्यकताअनुसारको न्यानो कपडा र उपयुक्त छाना नपाउँदा अकालमै ज्यान गुमाउँदै छन् ।
नेपाल भारतको दसगज्जा नजिकै अन्तर्राष्ट्रिय कानुनविपरीत तराई मधेसको खेतबारी र बस्ती नै डुबान हुने गरी भारतले ठुलठुला बाँध र तटबन्ध बनाएका छन् । बर्सेनि बाढीको कारण तराईका खेतमा फल्न फुल्न लागेका बालीहरू नष्ट हुनुका साथै जनता घरबारविहीन हुनुपरेको छ । तराईका जनताको समस्या शिक्षा, स्वास्थ्य, रोजगार, भारतीय एसएसबीबाट हुने अत्याचार र सिमाना अतिक्रमणलगायतको विरोधमा मधेश आधारित दलहरू पनि मौन छन् । यसबारे शासक दलहरूले एक शब्द कहीँकतै विरोधमा बोलेको सुनिँदैन । राणा शासन र पञ्चायती व्यवस्थालाई फाल्न सक्ने जनताले देशघाती शासक दल र तिनका नेताहरूलाई निश्चय पनि एक दिन सजाय दिनेछन् ।