भक्तपुर, ४ जेठ । नेपाल मजदुर किसान पार्टी, चानपा–६ नगरकोटको आयोजनामा विश्वका सर्वहारावर्गका महान् गुरु कार्लमाक्सको २०७ औँ जन्म दिवस मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपा, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले समाजवादी व्यवस्थामा स्वास्थ्य र शिक्षा निःशुल्क हुने, ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतनको व्यवस्था हुने, बालबालिकाहरूको लागि शिशुशाला र बालउद्यानको बन्दोबस्त हुने, योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको व्यवस्था हुने, उत्पादनका मुख्य–मुख्य साधानहरू सामाजीकीकरण हुने, बौद्धिक विकासमा समान अवसर पाउने, रोजगारको व्यवस्था हुने र आर्थिक समानता हुने भएकोले उक्त व्यवस्थाको लागि समाजवादी गणतन्त्र प्रचार अभियानमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाले कार्यकर्ता तथा जनता राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिक रूपमा सचेत र सङ्गठित बनाउने काम गर्दै आइरहेको उल्लेख गर्दै उहाँले हरेक कार्यकर्ताले विश्वको इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, दर्शनशास्त्रलगायतका पार्टी प्रकाशनहरू गहिरिएर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले माक्र्सवाद पुँजीवादको उत्थान विकास र पतनको बाटो भएकोले पुँजीवादी व्यवस्थाको विकृति, विसङ्गति, भ्रष्टाचार, अनियमितता तथा अवगुणको विरुद्धमा गाउँगाउँमा अभियान चलाउनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ, चाँगुनारायण नगर समितिका उपाध्यक्ष जी.आर. सुवालले हरेक कार्यकर्ताहरू निःस्वार्थी, निडर, अध्ययनशील, समाजसेवी र क्रियाशील हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
नेमकिपा, चानपा – ६, नगरकोटका अध्यक्ष कुमार थिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्रामसङ्घ, चाँगुनारायण नगर समितिका सरोज थिङ र सञ्जीव मोक्तानले पनि माक्र्सको जीवनीबारे बोल्नुभएको थियो ।