दैलेख, १८ जेठ । नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनीको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेला जम्बुकाँधमा शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले योग्यताअनुसार काम र आवश्यकताअनुसार ज्यालाको व्यवस्था हुने समाजवादी व्यवस्थाका लागि नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
पुँजीवादी व्यवस्थाको विकल्प राजतन्त्र नभई समाजवादी गणतन्त्र भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “अहिलेको पुँजीवादी व्यवस्था भ्रष्टाचारी र अपराधीहरूको व्यवस्था भएको प्रमाणित हुँदै छ ।”
नेमकिपाका अर्का केन्द्रीय सदस्य केसेन्द्र कार्कीले समाजवादी व्यवस्था स्थापना गर्न सम्पूर्ण कार्यकर्ताहरू उत्साही हुनुका साथै क्रान्तिकारी पार्टी र अनुशासित कार्यकर्ता हुन उत्तिकै जरूरी छ भन्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले कार्यकर्ताहरूले समाजवादी आचरणलाई पालना गर्नुपर्ने, पार्टीको निर्देशनअनुसार साङ्गठनिक गतिविधि जनतामाझ पु¥याई जनतालाई राजनीतिकरूपमा सचेत गराउनु जरूरी छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष निरकबहादुर शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुरेन्द्र शाही, धनकुमारी शाही, महेश न्यौपानेलगायतले बोल्नुभएको थियो ।
भेलाले निरकबहादुर शाहीको अध्यक्षतामा १९ सदस्यीय नेमकिपा चामुण्डा बिन्द्रासैनी चौथो नगर सम्मेलन तयारी समिति गठन गरेको छ ।