त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न/देशद्रोही शासकहरूविरुद्ध जाग्न जनता हरदम तयार रहनुपर्ने
भक्तपुर, १० कार्तिक । बिहीबारबाट सुरु भएको त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा अग्रज किसान कार्यकर्ता आशकाजी माक, सांस्कृतिक गुरु चन्द्रबहादुर कपाली, अग्रज स्वास्थ्यकर्मी दिलबहादुर मातां र गीतकार नारायणकुमार आचार्यलाई प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नगद रू. १० हजारसहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले देशलाई घात हुने विषयमा हस्ताक्षर गर्ने शासकहरू देशद्रोही हुन् भन्दै विद्यार्थीलाई गलत विषय पढाउने पाठ्यक्रम नै फेर्नुपर्ने हुँदा ख्वप विश्वविद्यालयको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।
विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष साम्राज्यवादीहरूकै अङ्ग भएकोले हामी त्यसमा फस्न नहुनेतर्फ सचेत पार्दै उहाँले भक्तपुरस्थित धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई भक्तपुर अस्पतालभन्दा पश्चिमको जग्गा भारतकै डरले प्रदान नगरेको बताउनुभयो ।
प्रधानमन्त्रीलाई रकम नबुझाउने शिक्षामन्त्रीलाई राजीनामा गराएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “शिक्षामन्त्रीले शिक्षकहरू जिल्लान्तर सरुवामा घुस लिँदा रहेछन्; त्यसैले यी शासकहरूविरूद्ध जनता जाग्न हरदम तयार भएर बस्नुपर्छ ।”
नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सिंहदरबारमा बसेर शासन गर्ने शासकहरूले भारतको विरूद्ध एक शब्द पनि बोल्न नसकेको उल्लेख गर्दै भारतका पुँजीपति वर्गको सेवाको लागि नेपालमा बिजुली उत्पादन गर्ने काम देश हितविपरीत रहेको बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको बारेमा भएको बैठकमा कालापानीबारे भारतसित कुरा गर्न सुझाव दिएको बताउँदै उहाँले कालापानीमा भारतीय प्रम मोदीले विनाअनुमति भ्रमण गरेको विरोधमा नेपाल सरकार नबोलेकोमा आक्रोश पोख्नुभयो ।
त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा पाठ्यक्रम बनाउने नै विदेशी एजेन्ट भएको चर्चा गर्दै ती विदेशी दलालहरू देशका लागि खतरा छन् भन्नुभयो ।
सरकारले संसद्मा प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयक सङ्घीयताविरुद्ध रहेको उल्लेख गर्दै उहाँले स्थानीय पालिकाको अधिकार कटौती नगर्न चेतावनी दिनुभयो ।
उहाँले नगरपालिकाको कर्मचारी नियुक्ति गर्न पाउने अधिकार खोसिएकोमा भत्र्सना गर्नुभयो ।
स्रष्टा समाज नेपालका अध्यक्ष लक्ष्मणराज जोशीले संरा अमेरिकाले जहाँ जहाँ हात हाल्छ त्यहाँ त्यहाँ विध्वंशबाहेक केही नभएको उदाहरण दिँदै भन्नुभयो, “संरा अमेरिकाले आफ्नो स्वार्थविपरीत चल्ने जसलाई पनि आतङ्ककारी घोषणा गर्दै हत्या गर्छ; तर मारिएकालाई त्यस देशले सहिद घोषणा गर्छ !”
“ओसामा बिन लाडेन संराी अमेरिकाले नै तयार गरेका व्यक्ति हुन्† जब लाडेन अमेरिकाको स्वार्थविपरीत गए उसलाई आतङ्ककारी भनी अमेरिकाले हत्या ग¥यो, यस्ता उदाहरणहरू धेरै छन्”, उहाँले थप्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले हाम्रो कला, संस्कृति, सम्पदा नै हाम्रा चिनारी भएको चर्चा गर्दै त्यसको संरक्षण, सम्वद्र्धन गरी भक्तपुर नगरपालिकाले आम्दानीको स्रोत बनाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिकाले बर्सेनि यहाँका सांस्कृतिक धरोहरका रूपमा रहनुभएका सांस्कृतिक गुरुहरूको सम्मान गर्दै नयाँ पुस्तालाई पनि आफ्नो संस्कृतिप्रति जागरुक गर्ने प्रयास गरिरहेको छ ।”
पनौतीका कवि सूर्यप्रसाद लाकोजुले पनौतीको भक्तपुरसित गहिरो सम्बन्ध रहेको तथ्य पनौतीको ब्रह्मायणीको मूर्तिमा राजा भूपतीन्द्र मल्लको शालिक भएबाट पुष्टि हुन्छ भन्दै नेवा सांस्कृतिक सत्ता राजनीतिभन्दा व्यापक र लामो समयसम्म टिकिरहेको बताउनुभयो ।
भक्तपुर अहिले राजनीतिक दृष्टिले मात्र नभई शैक्षिक, सांस्कृतिक र सम्पदा संरक्षणका दृष्टिले पनि आकर्षणको केन्द्र बन्दै आएको चर्चा गर्दै उहाँले ‘रेमिट्यान्स’ शीर्षकको कविता सुनाउनुभयो ।
वनस्पतिविद् प्रा.डा. धर्मराज डंगोलले नेपालभाषामा वातावरणबारे साहित्यको अभाव भइरहेको अवस्थामा यस्ता सम्मेलनले त्यो अभाव पूर्ति गर्ने विश्वास व्यक्त गर्दै भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा नेपालभाषालाई पनि स्थान दिएर नयाँ पुस्तालाई उत्साहित गरेकोमा प्रशंसा गर्नुभयो ।
वास्तुकलाविद् प्रा.डा. सुदर्शनराज तिवारीले विगतमा आफूले भक्तपुरमा १५ वर्षसम्म सम्पदा संरक्षणमा काम गर्दाको अनुभव सुनाउँदै भक्तपुरले पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने जुन काम गर्दै आएको छ त्यो अरुको लागि अनुकरणीय छ भन्नुभयो ।
संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले यहाँका सर्वसाधारण व्यक्ति पनि आफ्ना लागि गुरुतुल्य रहेको चर्चा गर्दै आफूलाई जिउँदो सरस्वती भनेकै जन्मदिने आमा भनेर यहाँका सर्वसाधारणले सिकाएको बताउनुभयो ।
उहाँले भारतको अस्तित्व हुनुभन्दा धेरै अगाडि लिच्छविकालीन टिस्टुङको एक शिलापत्रले बृहत्तर नेपालको जानकारी दिने उदाहरण दिनुभयो ।
नेमकिपाले जघन्य भ्रष्टाचारका अपराधीलाई मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग सान्दर्भिक रहेको चर्चा गर्दै उहाँले मध्यकालीन नेपालमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिइन्थ्यो भन्नुभयो ।
उहाँले गणतान्त्रिक शासनमा अनेक काण्डैकाण्डले देश चुर्लुम्मै डुबेकोमा आक्रोश व्यक्त गर्नुभयो । उपत्यकाको ‘पायो’ जात्रा वास्तवमा सैनिक दिवस भएको उदाहरण दिँदै उहाँले यसलाई युद्ध विजय उत्सवको रूपमा मान्नुपर्ने धारणा राख्नुभयो ।
सैनिक बलको आधारमा नेपालको कालापानी क्षेत्र भारतले हडपिरहेकोमा आपत्ति जनाउँदै प्रा.डा. श्रेष्ठले भन्नुभयो, “संसारको इतिहासमा सैन्यवादभन्दा सधैँ राष्ट्रवाद बलियो स्थापित भइआएको छ ।”
पुरातत्वविद् अरुणा नकर्मीले पृथ्वीनारायण शाहले उपत्यका जितिसकेपछि रणजित मल्ल काशीवास जाँदा नागार्जुनमा बसेर रचेको रचना आज पनि हामी भजन गाइरहेका छौँ भन्दै साहित्य इतिहास पनि भएको धारणा राख्नुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आफू पनि दैलखको नेवार भएको जानकारी दिँदै जनतालाई बचाएर भाषा–संस्कृति जोगाउने तःमुंज्याको नारा सान्दर्भिक छ भन्नुभयो ।
देशको युवा जनशक्ति बिदेसिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले युद्धग्रस्त इजरायलमा भक्तपुरका २० जना युवा रहेको जानकारी दिनुभयो ।
डा. सरोज धितालले भक्तपुरले आफूहरूलाई दिएको माया, प्रेम, स्नेहबाट आफू भावुक भएको उल्लेख गर्दैै भक्तपुरमा विविधताको बिचमा समानताको खोजी हुन्छ; समानतामा प्रेम र मैत्री भेटिन्छ भन्नुभयो ।
भक्तपुर आफूलाई अन्धकारको बिचमा देखिने प्रकाशजस्तो लाग्छ भन्दै उहाँले भक्तपुरबाटै मैले हरेक बिरामीलाई मानवीय र सामाजिक नाताले हेर्न सिकेको बताउनुभयो ।
कार्यक्रममा कवि रामप्रसाद ज्ञवालीले सभ्य मान्छे बस्ने ठाउँ नै सभा हो भन्ने कुरा कार्यक्रममा यहाँ घण्टौँ बस्दा अनुभूति भएको उल्लेख गर्दै पान्डुरा बाकसबाट विकृति विसङ्गति निस्केजस्तै अहिले देशमा विकृति व्याप्त भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
पान्डोराको बाकस बन्द गर्ने सानी बालिकाको नाम ‘आशा’ हो भन्दै उहाँले वर्तमान नेपालको पान्डोराको बाकस बन्द गर्ने आशा भक्तपुर रहेको उल्लेख गर्नुभयो ।
लेखक हरिहर तिमिल्सिनाले भक्तपुर नगरपालिकाले १५ लाखमा डाक्टर पढाउने कुरालाई ‘अन्नपूर्ण’ दैनिकमा आफूले लेख लेख्दा असम्भव भनी प्रतिक्रिया आएको जानकारी दिँदै तिनीहरूलाई धनप्रेमीको लागि असम्भव भए पनि जनप्रेमीले त्यसलाई सम्भव पार्छन् भनी जवाफ दिएको बताउनुभयो । उहाँले ‘शिक्षक र पैतालाको धुलो’ शीर्षकको कविता सुनाउनुभएको थियो ।
कवि अभय श्रेष्ठले ‘आमाको उत्तरदान’ कविता सुनाउनुभयो भने दोलखाली भाषामा ई. रामभक्त मास्केले पनि भाषा, संस्कृति संरक्षणबारे कविता वाचन गर्नुभएको थियो ।
जनकवि चन्द्रबहादुर उलकले ‘जिगु ख्वप दे’ शीर्षकको कविता सुनाउनुभयो भने गायक सत्यनारायण मानन्धरले कवि उलकको ‘जी नेवा स्वनिगया थुवा’ गीत सुनाउनुभएको थियो ।
लघु कथाकार धनमान श्रेष्ठले ‘भिसा’ नामको लघु कथा सुनाउनुभयो भने पुण्यराम कवां, हरिसुन्दर पोतामाहाँ, श्रीकृष्ण महर्जन, टेकबहादुर राना, सत्यनारायण श्रेष्ठ (बनेपा), सुवर्ण महर्जन, न्हुछेरत्न बज्राचार्यलगायतले कविता वाचन गर्नुभयो । त्यस्तै विभिन्न प्रतियोगी साहित्य सर्जकहरूले कथा, कवितालगायत साहित्य वाचन गर्नुभयो ।
कार्यक्रममा वाचित साहित्यतर्फ कथा विधामा एल के सुन्दर पहिलो, श्रीया पहिजु दोस्रो र रामेश्वरी कोजू तेस्रो हुनुभयो भने कवितातर्फ रत्नगोपाल सिंख्वाल पहिलो, हरिसुन्दर पोतामाहाँ दोस्रो, सुजी हेङ्गोजू तेस्रो र श्रीकृष्ण महर्जन सात्वना हुन सफल हुनुभएको थियो । उहाँहरूलाई प्रमुख अतिथि बिजुक्छेँले पुरस्कृत गर्नुभएको थियो ।
दोस्रो दिनको कार्यक्रम लेखिका एवं ख्वप कलेजकी शिक्षिका सुनिता गाईसीको सभापतित्वमा भएको थियो भने आयोजक समिति (ग्वसा खल) का उपाध्यक्ष राजेन्द्र चवालले स्वागत गर्नुभएको थियो ।
पहिलो चरणको साहित्यिक कार्यक्रमपछि प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रम भएको थियो ।