भक्तपुर, १० पुस । सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा बिहीबार प्रशंसापत्र तथा मायाको चिनो वितरण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले निर्वाचन घोषणा भइसकेको स्थितिमा निर्वाचनबाहेक अर्को विकल्प नरहेको उल्लेख गर्दै देश जोगाउन र बनाउन जनता आफै लाग्नुपर्ने कुरामा नेमकिपाले जोड दिँदै आएको बताउनुभयो ।
राजनीतिक दर्शनबिना देशमा परिवर्तन सम्भव नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आमूल परिवर्तन तत्काल सम्भव छैन† देशमा भइरहेको शोषण र भ्रष्टाचार अन्त्य गर्न जनता सचेत हुनुपर्छ ।”
सिद्धान्त र विचार एकातिर, काम अर्कोतिर थन्काएर देश र जनताको सेवा नहुने उल्लेख गर्दै उहाँले जेन–जीको आन्दोलनमा स्वदेशी विदेशीहरूको घुसपैठ भएको हुँदा आन्दोलन तोडफोड र आगजनीमा परिणत भएको बताउनुभयो ।
संरा अमेरिका र भारतले नयाँ पुस्तालाई प्रयोगमा ल्याउन खोजेकोतर्फ सतर्क हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भ्रष्टाचार रोक्न सांसद मन्त्री बन्न पाउने व्यवस्था गर्न नहुने बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले नेमकिपाले पञ्चायतकालदेखि देश र जनताको सेवा गर्न सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै विभिन्न मित्र राष्ट्रहरूको सहयोगले बनेका उद्योगहरू कौडीको मूल्यमा बिक्री गरेर व्यक्तिलाई पोस्ने काम गरिरहेको बताउनुभयो ।
काँक्रेबारीमा सार्वजनिक जग्गा मिचेर भूमाफियाहरूले रजगज गरिरहेको उल्लेख गर्दै उहाँले सार्वजनिक सम्पत्ति जोगाउनु सङ्घ, प्रदेश र स्थानीय सरकारको हो भन्नुभयो ।
समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति काजीबहादुर पञ्चले समाजले गर्दै आएको गतिविधिबारे प्रकाश पार्दै कला र संस्कृतिका संरक्षण र उत्थानमा सबैको उत्तिकै सहयोग आवश्यक छ भन्नुभयो ।
प्रशंसापत्र, मायाको चिनो र धन्यवाद पत्र वितरण भएको सो कार्यक्रममा वडा नं. ८ का श्यामसुन्दर सुवाल, अग्रज किसान कार्यकर्ता कृष्णनारायण मचामसी, समाजका उपाध्यक्ष गङ्गालाल हाकुसु र महेन्द्र बखुन्छेले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।