भक्तपुर, पुस १६ । नेपाल कर्मचारी समाज र नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको संयुक्त आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरुहरू स्तालिनको १४७ औँ र माओको १३२ औँ जन्म दिवसको अवसरमा नगरपालिकाका कर्मचारीहरूबिच प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माओ र स्तालिन कामदारवर्गका इमानदार नेता हुन् भन्नुभयो ।
समाजवादी क्रान्तिको लागि अन्तर्राष्ट्रिय जगतमा माओ र स्तालिनले खेल्नुभएको योगदानको स्मरणमा भक्तपुर नगरपालिकाले कर्मचारीहरूबिच उहाँहरूको जन्म दिवसको अवसरमा प्रवचन कार्यक्रम आयोजना गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।
माओको जगमा चीन विश्वको उदीयमान देशको रूपमा अगाडि बढ्न सफल भएको औँल्याउँदै उहाँले शत्रुको जालझेल र धम्कीबाट अविचलित भई माओले चीनको विकासको लागि गरेको त्यागले चीनमा आमूल परिवर्तन सम्भव भएको बताउनुभयो ।
‘बन्दुकको गोलीले जित्न नसकेका क्रान्तिकारी र कम्युनिस्टलाई गुलियो पोतेको चास्नीले बिगार्न सक्छ’ भन्दै उहाँले एनजीओ तथा आइएनजीओहरू साम्राज्यवादीहरूको सशक्त आर्थिक हतियार भएको हुँदा डलरको लोभ देखाएर नयाँ पुस्ताको मानसिकता बिगार्ने यस्ता संस्थाहरूबारे नयाँ पुस्तालाई सचेत पार्नु आवश्यक छ भन्नुभयो ।
एमसीसी सम्झौता नेपालको लागि देशघाती र दूरगामी असर पार्ने सम्झौता हो भन्दै उहाँले विदेशी सहयोगमा उनीहरूको स्वार्थ लुकिएको हुन्छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कुनै पनि विषयको सतही र एकतर्फी अध्ययनले नयाँ पुस्तालाई गलत बाटोमा लान सक्ने बताउँदै उहाँले सैद्धान्तिक विषयवस्तु अध्ययनको लागि पुस्तक अध्ययनमा जोड दिनुपर्छ भन्नुभयो ।
उहाँले माओ र स्तालिनबारे सञ्चारमाध्यममा फैलाइएको भ्रम र झूटबारे सचेत हुनुपर्नेमा जोड दिँदै बताउँदै उहाँहरूको समाजवादी क्रान्तिमा खेलेको भूमिका र योगदानबाट प्रस्ट पार्नुुभयो ।
स्तालिन सोभियतका जनतालाई अन्तिम समयसम्म देशको रक्षाको लागि लड्न उत्साहित गर्ने व्यक्तित्व हो भन्दै वडाध्यक्ष ज्याख्वले फागुनमा चुनाव हुने र नहुने भन्दा पनि देशलाई बङ्गलादेशको स्थितिमा पु¥याउनबाट रोक्नुपर्छ भन्नुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले समाजवादी देशहरूको जनमुखी नीतिका कारण त्यहाँका नागरिकहरूले सुखी जीवन उपभोग गर्ने अवसर पाएको बताउनुभयो । माओ र स्तालिनको जन्म दिवस मनाउनुको उद्देश्यमाथि प्रकाश पार्दै उहाँहरूको जीवनी अध्ययनबाट पनि धेरै प्रेरणा प्राप्त हुने उहाँले बताउनुभयो ।
समाजका उपाध्यक्ष काजीबहादुर पञ्च, नेपाल कर्मचारी एशोसियसन भनपा एकाइ समिति सदस्य गणेशलाल फोँजु, सचिव शिवराम धुख्वा र समाजका कोषाध्यक्ष दिव्यलक्ष्मी बज्राचार्यले माओ र स्तालिनको सङ्क्षिप्त जीवनी र योगदानबारे चर्चा गर्नुभयो ।