कैलाली, २३ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा नेक्राविसङ्घको स्थापना दिवसको अवसरमा प्यालेस्टिनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध विरोध प्रदर्शन तथा सभा कार्यक्रम जानकी गाउँपालिका वडा नं.१ दुर्गौली बजारमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले नेमकिपा सदनमा सधँै प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको कुरा बताउँदै नेमकिपाले वर्गीय राजनीति गरिरहेको विचार व्यक्त गर्नुभयो । उहाँले प्यालेस्टिनीहरूले आफ्नो भूमि रक्षाको निमित्त इजरायलसँग युद्ध गरिरहनु परेको कुरा बताउनुभयो । पटकपटक प्यालेस्टिन भूमि हडपी अमेरिकी साम्राज्यवादको आडमा इजरायलले प्यालेस्टिनी जनतालाई सास्ती दिइरहेको उल्लेख गर्दै उहाँले अहिलेसम्मका शासक दलहरू अमेरिकी साम्राज्यवाद र भारतीय पुँजीवादको दलाल भएको कुरा एमसीसी र नागरिकता विधेयक पास गरेबाट पुष्टि भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव तथा कैलाली अध्यक्ष लक्ष्मी पुनले अरुको देशमा गिद्दे नजर लगाउने अमेरिकी साम्राज्यवादले इजरायललाई हातमा लिएर प्यालेस्टिनमाथि बर्बर हमला गरेकोमा घोर विरोध गर्नुभयो ।
नेमकिपा कैलाली सचिव गगन थापा मगरले किसानले समयमा मल, बीउ बिजन नपाउँदा र उत्पादन भएको कृषि वस्तुको उचित बजार नपाउँदा सधैँ मारमा परेको विचार व्यक्त गर्नुभयो ।
नेक्रायुसङ्घ कैलाली सचिव सविन पण्डितले गत ६ महिनामा २४ लाख युवा विदेश पलायन हुनु भनेको नेपालको लागि दुःखद खबर रहेको बताउँदै सरकार रेमिट्यान्सको मुख हेरी खुसी मनाइरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ कैलाली अध्यक्ष हिक्मत भण्डारीले स्थापना दिवसको शुभकामना दिँदै माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मुख्य मार्गनिर्देशक सिद्धान्तको रूपमा आत्मसात गरी उत्पादन श्रमसँग जोडिएको शिक्षाको निम्ति सधैँ सङ्घर्ष गरिरहेको बताउनुभयो । उहाँले नेक्राविसङ्घको स्थापना भारतीय पुँजीवादले सुस्ताको भूमि अतिक्रमण गरेको विरोधमा भएको बताउनुभयो ।