“देश बेच्ने र जनतालाई शोषण गर्ने भ्रष्ट नेता, मन्त्री र कर्मचारीहरूलाई उदाङ्ग्याएर नफालेसम्म देशको विकास हुँदैन”


सिन्धुपाल्चोक, २३ पुस । “काम गरी खाने जनतालाई राजनैतिकरूपले प्रशिक्षित गर्न नसकेसम्म भ्रष्ट र अपराधी पँुजीपतिहरूले निर्वाचनमा पैसा बाँडेर, भोजभतेर खुवाएर जित्छन् । देश बेच्ने र जनतालाई शोषण गर्ने भ्रष्ट नेता, मन्त्री र कर्मचारीहरूलाई उदाङ्ग्याएर नफालेसम्म देशको विकास हुँदैन । त्यसैले कार्यकर्ताहरू स्तालिन र माओबाट प्रशिक्षित हुन अध्ययन गर्नुपर्छ र जनताको बिचमा गएर प्रशिक्षण चलाउनुपर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले विश्व सर्वहारावर्गका महान् नेता स्तालिन र माओ त्सेतुङको जन्म जयन्तीको अवसरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आइतबार बताउनुभएको हो ।
उहाँले देश र जनताको सेवामा लेखिएको साहित्यको अध्ययन गर्नुपर्नेमा जोड दिँदै १९१७ को अक्टोबर समाजवादी क्रान्तिको सफलतामा म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यासले राम्रो वातावरण तयार गरेको बताउनुभयो । शिक्षकहरूले असल, इमानदार, देशभक्त एवं कर्तव्यनिष्ठ नेता, मन्त्री, कर्मचारीलगायत असल नागरिकहरू तयार गर्नसक्ने भएकाले शिक्षक आफँै इमानदार र देशभक्त हुनु आवश्यक भएको उहाँले बताउनुभयो । सांसद सुवालले साम्राज्यवादको विरोध नगरे नेपाल पनि उपनिवेश बन्ने खतरा हुन्छ भन्नुभयो ।
उहाँले पँुजीवादी पार्टीहरूले जनतालाई छलकपट गरी पार्टीलाई ठुलो बनाउनु भनेको जनतालाई धोका दिनु हो भन्नुभयो । विदेशीको इसारामा चल्ने शासक पार्टीले देश र जनताको हितमा काम गर्न नसक्ने उल्लेख गर्दै उहाँले नाम कम्युनिस्ट भए पनि व्यवहारतः पुँजीवादी पार्टी नै भएको बताउनुभयो । म्यानपावर कम्पनी सञ्चालन गर्ने पार्टी र नेताहरू युवाहरूलाई विदेशमा बेच्ने विदेशी दलाल हुने भएकाले तिनीहरूबाट देशको हित नहुने सांसद सुवालले बताउनुभयो । उहाँले जनता राजनैतिक र सांस्कृतिकरूपले प्रशिक्षित भए भ्रष्ट नेताहरूको विरोधमा आन्दोलन गर्ने डरले पुँजीवादी पार्टीहरुका नेताहरुले युवाहरूलाई विदेश पठाउने षड्यन्त्र गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका अध्यक्ष जीपी लासिवाले महान् नेता स्तालिन र माओ त्सेतुङबाट सिकेर देश र जनताको सेवा गर्नुपर्ने र कार्यकर्ताहरू राजनैतिकरूपले प्रशिक्षित हुन अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी सिन्धुपाल्चोकका डीवी कायष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनबी श्रेष्ठ, वसन्त तामाङ, हरिलक्ष्मी दनेखु, राजमती लवजु, लक्ष्मीदास श्रेष्ठ र गीता सैँजुले स्तालिन र माओ त्सेतुङको योगदानबारे चर्चा गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार