युवालाई नेपालमै रोजगारी उपलब्ध गराउनु जरुरी


काठमाडौँ, ५ असार । सरकारले दैनिक ६–७ हजार नेपाली युवालाई वैदेशिक रोजगारमा पठाइरहेको छ । युवालाई विदेश पठाउने होइन, नेपालमै रोजगारी उपलब्ध गराउनु जरुरी छ ।
भारतीय वन रक्षकले भर्खरै बर्दिया गुलरियाका २० वर्षे नेपाली युवालाई नियन्त्रणमा लिएर कुटपिट गर्दा देब्रे खुट्टाको हड्डी भाँचिएको सार्वजनिक भयो । भारतीय वनरक्षकले अघिल्लो साता पनि नेपाली भूमि प्रवेश गरी विपन्न समुदायका ५ जना नेपाली युवालाई नियन्त्रणमा लिएको जानकारीमा आयो । २०७२ साल फागुन १२ गते भारतीय सुरक्षाकर्मीले जङ्गलमा दाउरा खोज्न गएका नेपाली युवालाई नियन्त्रणमा लिएकोमा निजको अझै अवस्था खुलेको छैन । युवा मन्त्रालयले युवाको अवस्थाबारे चिन्ता लिनुपर्ने होइन र ?
भारतसँगको खुला सीमामा नेपाली युवा भारतीय एसएसबीको दमनमा पर्नुपरेको समाचार पुरानो हो । यसर्थ, नेपाली युवालाई जोगाउन खुला सीमा बन्द गर्नु जरूरी छ । नेपाली युवा नेपाल र विदेशमा पनि सुरक्षित भएका छैनन् । यही संसद्को हाताभित्र २२ वर्षीय प्रहरी जवानले आज बिहान आत्महत्या गरे । युवा मन्त्रालयले हरेक युवाको पीडा बुझेमात्र युवा मन्त्रालयको औचित्य हुनेछ । युवा कुलतमा फस्दा पनि केही गर्न नसक्ने मन्त्रालयको काम छ र ? युवालाई निःशुल्क शिक्षा र देशभित्र रोजगारी दिने विषयमा मन्त्रालय र मन्त्रीको ध्यान जानु आवश्यक छ ।
नेपाल संस्कृत विश्वविद्यालयको १ हजार ३ सय २६ बिघा जग्गामा शासक दलहरूको रजाइँ भएको सार्वजनिक भयो । युवा र विद्यार्थी पढ्नुपर्ने विश्वविद्यालयको जग्गामा रजाइँ हुँदा पनि मन्त्रालय के गर्दै छ ? जग्गा फिर्ता लिन सचिव र मन्त्री अगाडि बढ्नुपर्छ ।
आजका बालबालिका भोलिका युवा हुन् । भोलिका युवालाई राम्रो बनाउन आजका बालबालिकाको राम्रो हेरचाह हुनुपर्छ । आजका बालबालिकालाई बेवास्ता गरिए युवा भइसक्दासम्म पथभ्रष्ट भइसकेका हुन्छन् ।
सरकारले देशका केही ठाउँमा भ्युटावर बनायो । अहिले ती भ्युटावर फोहोर फाल्ने र युवाहरू लागूपदार्थ खाएर बस्ने ठाउँ बनिरहेको छ । यस्तो विषयमा पनि युवा मन्त्रालयको ध्यान जानु जरूरी छ ।
नेपालीहरूको एउटा भनाइ छ, दिउँसै लुट्नु डकैत हो । जनताको कर, मित्र देशसँग लिएको ऋण र अनुदानबाट मन्त्रीले आफ्नो जिल्लामा मात्र योजना राख्नुलाई के भन्ने ? आफू मन्त्री भएकोले ८ अर्ब आफूलाई मन्त्री बनाउने नेतालाई ७ अर्ब बजेट बाँडफाँट गर्नु न्यायोचित होइन । सामान्य जनताले लुटे डकैत भनेर थुन्ने, मन्त्रीले बजेट आफ्नो जिल्ला र आफ्ना नेताको जिल्लामा केन्द्रित गरेकोलाई के भन्ने ? यस्तो बजेट पास गर्नुहुन्न ।
युवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे शिक्षित गर्नु आवश्यक
स्वास्थ्य र अनुशासनको लागि १८ वर्ष पूरा भएका युवालाई खेलकुदसँगै सैनिक तालिम दिनुप¥यो । सैनिक तालिम भनेको अनुशासन हो, स्वास्थ्य हो ।
जहाँ खटाए पनि काम गर्न सक्ने सक्षम युवा बनाउनु हो । युवालाई मदिरा, सुर्ती, लागूपदार्थबाट टाढा राख्नु प¥यो । खेलकुदको उपाधीलाई शैक्षिक तहसँग मिलान गर्नुप¥यो । खेलकुदको नारा– ‘स्वास्थ्य, अनुशासन, मित्रता र सार्वभौमिकताको रक्षा’ राख्नुप¥यो ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक ०८१ अन्तर्गत युवा तथा खेलुकद मन्त्रालयमा खर्च कटौतीको प्रस्ताव पेस गर्नुभयो । उक्त बैठकमा राख्नुभएको विचार –सं.)

पार्टी गतिविधिहरु
समाचार