शिक्षामन्त्री प्रदेश र सङ्घको राजधानीमा शिक्षक सरूवामा लाग्नु बेठीक
काठमाडौँ, २४ साउन । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल भयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विधेयकमा संशोधन पेस गर्दै उत्पादन श्रमसँग जोडिएको व्यवसायिक र प्राविधिक शिक्षा जरूरी भएको, विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने जोड दिनुभयो ।
देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र नै राजनीति भएको उल्लेख गर्दै सांसद सुवालले देशको सार्वभौमिकता र सिमाना रक्षा गर्ने, भ्रष्टाचार र तस्करको विरोध गर्ने राजनीति शिक्षकहरूले विद्यार्थीहरूलाई सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले थप्नुभयो, “विधेयकमा संसद्वादी दलहरूको झन्डामुनि शिक्षक, कर्मचारी, प्राध्यापक लाग्न नहुने स्पष्ट उल्लेख हुनु जरूरी छ । शिक्षकहरूले शान्तिको पक्षमा युद्धको विरोध गर्ने नयाँ पुस्ता तयार गर्नुपर्दछ ।”
एसईई र कक्षा १२ को नतिजामा आधाआधी नै विद्यार्थी अनुत्तीर्ण हुनुमा आजसम्मका शिक्षामन्त्रीहरूलाई जिम्मेवार बनाउनु जरूरी भएको उल्लेख गर्दै सांसद सुवालले विद्यालय शिक्षाको उत्तीर्णाङ्क ६० प्रतिशत राख्नुपर्ने, सोहीअनुसार शिक्षण पेसामा आवश्यक सुविधा व्यवस्था गर्नुपर्ने र विद्यार्थीको स्वास्थ्य बिगार्ने पाकेट गरिएको तयारी (पत्रु) खाद्यान्न बिक्री वितरणमा रोक लगाउनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय शिक्षाको पाठ्यक्रममा कृषि भूमिको संरक्षण, प्राङ्गारिक खेती, शिक्षक र अभिभावकलाई शिक्षित, जानकार र स्मार्ट बनाउने बन्दोबस्त जरूरी भएको उल्लेख गर्दै सांसद सुवालले जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्नु बेठीक हुने, पालिका शिक्षा शाखा व्यवस्था गरी विद्यालय शिक्षामा सबै बालबालिकालाई समेट्ने र कक्षासमेत छोड्न लगाउन नदिने जिम्मेवारी सम्बन्धित जनप्रतिनिधिलाई दिने तथा सोहीअनुसार विकास बजेट दिने कानुनी व्यवस्था जरूरी भएको औंल्याउनुभयो ।
सरकारले प्रदेश राजधानी र सङ्घीय राजधानीमा अभिभावक र विद्यार्थीलाई केन्द्रित गराएको हुँदा जिल्लामा बनेका ठुला भनवसहितको विद्यालयमा विद्यार्थी सुक्दै गएको र शिक्षामन्त्री जिल्लाका शिक्षकहरूलाई प्रदेश र सङ्घको राजधानीका विद्यालयमा सरूवा गर्न समय खर्च गरिरहेको गलत भएको उल्लेख गर्दै सांसद सुवालले देशभरि एउटै शिक्षणस्तर र विधिको शिक्षा प्रदान गरी देशको सन्तुलित विकास गर्नुपर्नेमा जोड दिनुभयो ।