सामाजिक सञ्जालमा नेमकिपाविरूद्ध प्रकाशित झूटा समाचारको खण्डन
काठमाडौँ, २७ असोज । छिमेकी देश जनवादी गणतन्त्र चीनले संसदीय दलहरूमार्फत असोज १८ गते नेपालका पहिरो र डुबान पीडित जनतालाई घरायसी सामान खानेकुरा, ओढ्ने–ओछ्याउने, स्वास्थ्य सामग्री, भाँडाकुँडा, खानेपानी, पाल वितरण ग¥यो । ‘यो हो टेलिभिजन’का चिनिएका पत्रकार जीवराम भण्डारीले असोज २४ गते आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मा लेख्नुभयो– “…यहाँ त पीडितको नाममा पार्टी र त्यसका नेतालाई चेक हस्तान्तरण गरियो । यसमा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीको नाम लिइन्छ । चीनले मात्रै किन पार्टीका नाममा दिएछ ? आखिर पीडित गरिब दुःखी नेपाली हुन् कि पार्टी नेतृत्व ? भारतले पनि भूकम्प पीडितको नाममा आफ्ना हितका नेतालाई यस्तै ढङ्गले सहयोग उपलब्ध गराएको याद छँदै छ ।”
केही समयपछि पत्रकार भण्डारीले सहयोग पाउने पार्टीहरूको सूचीमा ‘नेमकिपा’ थप्नुभयो । यो सत्य होइन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले असोज २७ गते पत्रकार भण्डारीलाई फोनमार्फत पीडितको नाममा चेक हस्तान्तरण गरिलिने पार्टीमा नेमकिपा संलग्न नभएको जानकारी गराउँदै आपत्ति जनाउनुभयो ।
पत्रकार भण्डारीले आफूलाई कसैले सूचना दिएको आधारमा नेमकिपासमेत थप गरेको र तत्काल सच्याउने बताउनुभयो । उहाँले कुन व्यक्तिले नेमकिपाविरूद्ध त्यस्तो झूटा समाचार सम्प्रेषण गरायो बताउनुभएन । लगत्तै पत्रकार भण्डारीले नेमकिपा हटाएर सुरूकै पार्टीहरूको नाम उल्लेख गरी सामाजिक सञ्जालमा राख्नुभयो । उक्त व्यहोरा अहिले पनि हेर्न सकिन्छ ।
पत्रकार भण्डारीले नेमकिपा थप्नु अगाडि पार्टीका सम्बन्धित व्यक्तिसँग समाचारबारे सुनिश्चित गर्नुपर्ने थियो । त्यसो नगरेको हुँदा पत्रकार भण्डारीको टिप्पणी हचुवा र अपरिपक्व पुष्टि भयो । पत्रकार भण्डारीले नेमकिपाबारे झूटा समाचार सम्प्रेषण गराउने व्यक्ति सार्वजनिक गरेको भए जनता भ्रममा पर्ने थिएनन् ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भूकम्प, पहिरो तथा डुवान पीडित जनतालाई सरकारको एकद्वार प्रणालीमार्फत राहत र पुनःस्थापना हुनुपर्ने सुझाव दिँदै आएको उल्लेख गर्दै पहिरो र डुबान पीडितको नाममा नेमकिपालाई कसैबाट नगद, चेक र अन्य सामान प्राप्त नभएको स्पष्ट गर्नुभयो ।