“भारतीय कम्पनी जीएमआरलाई माथिल्लो कर्णाली बेच्ने अधिकार छैन”


“भारतीय कम्पनी जीएमआरलाई माथिल्लो कर्णाली बेच्ने अधिकार छैन”

दैलेख, २ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले कर्णाली प्रदेशलाई प्राङ्गारिक खेती क्षेत्र बनाउने सरकारको घोषणा कार्यान्वयन नभएको उल्लेख गर्नुभयो ।
दैलेखको चामुन्डामा उपस्थित पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूसँगको शुक्रबार भएको भेटघाट कार्यक्रममा सचिव सुवालले नेपालको नदीनाला नेपालीकै लगानीमा जलविद्युत् उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउँदै माथिल्लो कर्णाली जलविद्युत् उत्पादनको नाममा कर्णाली नदी नै भारतीय एकाधिकार पुँजी जीएमआरलाई दिनु सरकारको देशघाती कदम भएको उल्लेख गर्नुभयो ।
“माथिल्लो कर्णाली जलविद्युत् परियोजना हात पारेको भारतीय कम्पनी जीएमआरले सो परियोजनालाई भारतको सतलज र इरेडा कम्पनीलाई बेचेको नेपालको सार्वभौमिकतामाथि भारतीय शासक वर्गको हस्तक्षेप हो”, सांसद सुवालले स्पष्टसँग राख्नुभयो ।
सांसद सुवालले अमेरिकी साम्राज्यवादको धम्कीमा अमेरिकी सरकारको नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता बहुमतबाट पारित गर्ने शासक दलहरूबाट नेपाली जनताको हित नहुने उल्लेख गर्दै नेपाली जनतालाई देशभित्र र विदेशको समसामयिक विषयमा राजनीतिकरूपले सचेत बनाई पार्टी सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
दैलेखको गुराँस गाउँपालिकाका पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूसँग घोडाबासमा भेटघाट गर्दै सांसद सुवालले सिद्धान्तहीन निर्वाचन र सत्ता गठबन्धन गर्ने शासक दलहरूबाट नेपाली जनता र नेपालको हित नहुने उल्लेख गर्नुभयो ।
सचिव सुवालले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे पार्टीका प्रकाशनहरूको अध्ययन र अन्तरक्रिया गर्नुपर्ने आवश्यकता औँल्याउँदै फूलमाला र टीका लगाएर पार्टी सदस्यता वितरण गर्नु विज्ञानसम्मत नहुने उल्लेख गर्नुभयो ।
“धर्म मानिसको कर्तव्य हो । व्यक्तिको आस्थाअनुसार धर्म मान्न सकिन्छ । राज्यको धर्म हुनेछैन । धर्म अन्धविश्वास होइन”, सांसद सुवालले उल्लेख गर्नुभयो ।

 

पार्टी गतिविधिहरु
समाचार