चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलद्वारा अध्यक्ष बिजुक्छेँसित भेटघाट
भक्तपुर, ५ कार्तिक । चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा छिनहाई प्रान्तीय समितिका सचिव छन काङ्गद्वारा नेतृत्व गरिएको १२ सदस्यीय प्रतिनिधिमण्डलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग सोमबार भेटघाट ग¥यो ।
भेटमा नेपाल—चीनबिचको इतिहासदेखि रहँदै आएको मैत्री सम्बन्ध र दुई देशका जनताबिच रहेको गहिरो सम्बन्ध विषयमा छलफल भयो । दुई देशको इतिहास, कलासंस्कृति तथा सभ्यताबारे अध्यक्ष रोहित र चिकपाको प्रतिनिधिमण्डलका प्रमुख छङले विस्तृत छलफल गर्नुभयो ।
अध्यक्ष रोहितले नेपाल एउटा सांस्कृतिक सङ्गमस्थलको रूपमा रहेको चर्चा गर्दै नेपालले उत्तरबाट वास्तुकला र दक्षिणबाट धार्मिक चिन्तन पाएको इतिहासक्रममा निर्माण गरिएका मठ–मन्दिर र तिनको वास्तुकला एवम् निर्माणशैलीले प्रस्ट पार्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “इतिहासमा भक्तपुर भएरै ल्हासा, तिब्बत जाने गरिन्थ्यो । तिब्बतबाट बौद्ध धर्मका गुरुहरू यहाँ आउँथे । बौद्ध धर्मावलम्बीहरू यहाँ आउँथे र बस्थे । बौद्ध धर्मले दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनायो ।”
उहाँले प्रस्ट पार्दै भन्नुभयो, “हिजोको नेपाल कस्तो थियो भनेर बुझ्न तिब्बती साहित्यको अध्ययनले मद्दत पु¥याउने छ । चिनियाँ तथा तिब्बती भाषाको गहिरो अध्ययन गराई विशेषज्ञ तयार गर्न सके इतिहास चिन्न सहज बन्नेबारे नेपाल सरकारको ध्यानाकर्षण गराउँदै छौँ ।”
अध्यक्ष रोहितले संसार फेरि पूर्वतिर फर्किँदै छ भन्दै राजनीतिको मुख्य उद्देश्य जनताको सेवा हो तर पश्चिमाहरू व्यक्तिगत महत्वाकाङ्क्षालाई प्रश्रय दिँदै व्यक्तिवादी चिन्तन हुर्काउँदै छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “पूर्वी दर्शन तथा चिनियाँ दर्शनले आपूmलाई होइन जनतालाई केन्द्रमा राख भन्छ । कन्फुसियसले पनि त्यही चिन्तन अगाडि बढाए । त्यसको विपरीत पश्चिमाहरूले ध्वंस, हमला र विनाशको नीति लिए । पश्चिमाहरूले कहाँ हमला गर्ने भनी हेर्छन् भने पूर्वेलीहरूले कहाँबाट के सिक्ने र कसरी सहयोग गर्ने भनी चिन्तन गर्छन् । यही विषयमा महासचिव सि चिन फिङले गम्भीर रूपमा विश्लेषण गर्नुभएको हाम्रो अध्ययनले बताउँछ ।”
अध्यक्ष रोहितले चीन र चिनियाँ कम्युनिस्ट पार्टीले विचारको आदानप्रदान, सहयोगको आदानप्रदान तथा हार्दिकतासहितको आदानप्रदान अगाडि बढाउनु सकारात्मक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले नामबाट मित्र चिन्न नसकिने प्रस्ट पार्दै नेपालको सन्दर्भमा समेत जातजातिको विशेषता फरक–फरक हुने प्रस्ट पार्नुभयो ।
चिनियाँ प्रतिनिधिप्रमण्डलका प्रमुख छन काङ्गले सम्पदा संरक्षित तथा मौलिक विशेषता जोगाइएको भक्तपुर भ्रमणबाट प्रभावित भएको बताउँदै पहिलो चोटिको नेपाल भ्रमणले आपूmमा गहिरो छाप दिएको अनुभव सुनाउनुभयो । चीन र नेपालले सांस्कृतिक आदानप्रदानको लामो यात्रा तय गरिसकेको बताउँदै उहाँले भन्नुभयो, “छिङहाई प्रान्त र तिब्बती भूमि पठार भूमि हो । चिनियाँ सरकार, जनता र चिनियाँ कम्युनिस्ट पार्टीले त्यहाँ द्रुतगतिमा विकासका कार्य र जनतालाई सुखसुविधा दिने काम निरन्तर अगाडि बढाउँदै छ ।”
प्रमुख छनले जनताको खुसी र अनुहारमा हाँसो महत्वपूर्ण हुन्छ भन्दै त्यसको निम्ति सर्वसाधारण जनता र जनप्रतिनिधिहरूबिच जीवन्त सम्बन्ध स्थापित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भक्तपुरका जनताको खुसी र हाँसोबाट आपूm प्रभावित भएको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टी छिङहाई प्रान्तका सचिव छनले द्रुत आर्थिक विकासको निम्ति जनताप्रतिको विश्वासमा अडिग हुनुपर्ने र जनताको हितलाई उच्च प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपति सि चिन फिङको नेतृत्वमा चीनले जनता र सरकार तथा पार्टीबिचको सम्बन्ध इतिहासमै बलियो ढङ्गमा निर्माण गर्न सफल भएको बताउनुभयो ।
सचिव छनले पूर्वी र पश्चिमा संस्कृतिबिच प्रशस्त भिन्नता रहेको चर्चा गर्दै राजनीतिबारे पूर्वी र पश्चिमा बुझाइ फरक छ भन्नुभयो । उहाँले भन्नुभयो, “पश्चिमा राजनीतिक चिन्तनले षड्यन्त्र बढी गर्न सक्नेलाई नेता निर्वाचित गर्छ भने पूर्वी चिन्तनले असल मानिसमात्र राजनीतिज्ञ बन्न सक्छ भन्छ ।”
भेटमा नेमकिपाका केन्द्रीय सदस्यद्वय सुनिल प्रजापति र सुरेन्द्रराज गोसाईको उपस्थिति थियो ।
भेटघाटभन्दा अगाडि चिकपाको प्रतिनिधिमण्डलले भक्तपुर दरबार स्क्वायर, तौमढी र तालाक्व क्षेत्रमा अभिरुचिपूर्वक अवलोकन गरेको थियो । अवलोकनपूर्व खौमा द्वारमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत जनप्रतिनिधि तथा सांस्कृतिक बाजागाजा टोलीले स्वागत गरेका थिए ।