“शासक दलहरूले उपनिर्वाचनमा पनि जनतालाई धोखा दिन खोज्दै छन्”

काठमाडौँ, ११ मङ्सिर । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगरपालिका उपनिर्वाचन परिचालन समितिको आयोजनामा मङ्गलबार कीर्तिपुरको नगाउँमा चुनावी सभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले बहुदल र गणतन्त्रको २५ वर्षयता पालैपालो सरकारको नेतृत्व गरेका संसद्वादी दलहरूले अहिलेको उपनिर्वाचनमा अनेक आश्वासन दिएर जनतासँग मत माग्नु जनतालाई पुनः धोका दिनु हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “जनताले संसद्वादी दलका उम्मेदवारहरूलाई पुनः मत दिनु महादेवले भष्मासुरलाई वरदानजस्तै हुनेछ । यसतर्फ कीर्तिपुरका सबै जनता सचेत हुनु जरुरी छ । सिंहदरबार र देशको बजेट नै कब्जा गरेका संसद्वादी दलहरूले यो चुनावमा जितेर जनताको काम गर्ने दाबी गर्नु झूट हो ।
सभामा सांसद सुवालले चुनाव जितेर प्रधानमन्त्री र मन्त्रीमात्र हुने तर देश र जनताको सेवा नगर्ने पार्टीहरू सबै दलहरू संसद्वादी हुन्; सच्चा कम्युनिस्टहरूले इमानदारीपूर्वक सेवा गर्छन्; पुँजीवादी सरकारको प्रधानमन्त्री र मन्त्री बन्दैमा चुनावबाट समाजवाद आउँदैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “संसद्वादी दलहरूले सिंहदरबार कब्जा गरेर नदीनाला भारतलाई बेचे, सार्वजनिक उद्योगहरू निजीकरण गरे, करोडौँ युवाहरूलाई वैदेशिक रोजगारीको नाममा विदेश पठाए, दाल, चामल, तरकारी, फलफूलसमेत भारतसँग किनेर खर्बाैँ खर्ब रूपैयाँ व्यापार घाटा बताए; नेपाल र नेपालीलाई २६ खर्ब रूपैयाँ ऋणमा डुबाए । यसकारण, सरकारमा पालैपालो प्रधानमन्त्री र मन्त्री भएका संसद्वादी दलहरूको गुलियो पोतिएको विषमा विश्वास गर्नुहुँदैन ।”
नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू जनताको मत पाएर विजयी भएमा सबै नगरवासी र जनप्रतिनिधिहरूसँग मिलेर कीर्तिपुर नगरपालिकालाई सफा, स्वच्छ, सांस्कृतिक नगर बनाउन काम गर्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्थाका मन्त्रीहरू भ्रष्टाचारी हुने संसद्वादी दलबाट मन्त्री भएका कतिपय आ–आफ्नो पुस्तकमा लेखेका छन् । भारतको संसद्मा ९६ प्रतिशत सांसद अर्बपति भएको सार्वजनिक भयो । नेपालका कतिपय खर्बपति खराब म्यानपावर कम्पनी सञ्चालक र ठेकेदारहरू संसद्वादी दलबाट सांसद र मन्त्री भएका छन् । भर्खरै प्रधानमन्त्री केपी ओली अमेरिकी खर्ब डलरपति मस्कसँग इन्टरनेटको कुराकानीमा अमेरिकी गरिबहरूबारे चर्चा नहुनु नेपालको चुनाव पनि पैसाको भरमा जित्ने संसद्वादी दलहरूको मनसाय प्रकट भएको हो ।”
उहाँले भन्नुभयो, “अमेरिकी मन्त्रीहरूकै दबाबमा नेपालका प्रधानमन्त्री र संसद्वादी दलका नेताहरूले एमसीसी सम्झौता बहुमतबाट पारित गरेका हुन् । अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता अमेरिकी लगानी हो, अनुदानको नाममा विष हो । यसकारण, नेपाली जनताले यो सम्झौताको विरोध गरेका छन् ।”
नेमकिपाका उम्मेदवारहरूले कीर्तिपुर नगरवासीहरूको शिक्षा, स्वास्थ्य सेवाका निम्ति वडा वडामा योग्य विद्यार्थीहरूलाई डाक्टर र इन्जिनियर पढाउन छात्रवृत्तिको व्यवस्था गर्ने र अन्य विद्यार्थीहरूलाई विनाधितो शैक्षिक ऋण व्यवस्थाको निम्ति आवश्यक निर्णय गर्न गराउन सङ्घर्ष गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जन र कीर्तिपुर नपाका प्रमुख उम्मेदवार श्रीकृष्ण महर्जनले पनि बोल्नुभएको थियो ।