“देशघाती नागरिकता विधेयक र एमसीसी सम्झौता पारित गर्ने संसद्वादी दल नै हुन्”

काठमाडौँ, १३ मङ्सिर । नेपाल मजदुर किसान पार्टीले मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनको प्रचार प्रसारको क्रममा पार्टीका उम्मेदवारहरूलाई जिताउन बुधबार नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ को काउले, काठमाडौँ महानगरपालिका वडा नं. १६ को बालाजु बाइपास र कीर्तिपुर नगरपालिका पाङ्गा लाछी टोलमा छुट्टाछुट्टै जनसभा ग¥यो ।
उक्त कार्यक्रमहरूमा पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले संसद्वादी दल सबै सिद्धान्तहीन निर्वाचन गठबन्धन र सत्ता गठबन्धनमा केन्द्रित भएको हुँदा ती पार्टीहरू फरक पार्टी नभई एउटै जस्तै भएको बताउनुभयो ।
यस अगाडि सङ्घ, प्रदेश र पालिकाको चुनावमा जनताले संसद्वादी दलहरूलाई निर्वाचित गरे, तर ती दलहरूले देश र जनताको हितमा काम नगरी देशघाती र जनघाती काम गरेको हुँदा ती पार्टीहरूलाई मत दिनुहुन्न, उहाँले भन्नुभयो ।
संसद्वादी दलहरूको विकल्प देशभक्ति पार्टी नेमकिपा नै रहेको स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, “नेमकिपाका उम्मेदवारहरू मङ्सिर १६ को चुनावमा निर्वाचित भए जनताको सल्लाहमा वडा र पालिकाको इमानदारीपूर्वक सेवा गर्नेछन् ।”
उहाँले भन्नुभयो, “संसद्वादी दलहरू ३५ वर्षमा सडक, पुल, भवन निर्माण गरेको, विद्युत् र टेलिफोन विस्तार गरेको दाबी गर्छन्† तर यसको लागि देश बन्धकीजस्तै राखेर २६ खर्ब ऋण ल्याएर भ्रष्टाचार गरेका छन् ।”
संसद्वादी दलका सांसद र मन्त्रीहरू ललिता निवासको सरकारी जग्गा खाने, बालमन्दिर र स्काउटको जग्गा र भवन खाने, सुन तस्करीमा संलग्न, नेपालीलाई नक्कली भुटानी शरणाथी बनाउनेमा संलग्न भएको सार्वजनिक भइरहेको छ, उहाँले भन्नुभयो ।
देशघाती नागरिकता विधेयक र एमसीसी सम्झौता पारित गर्ने संसद्वादी दलहरू नै हुन् । साम्राज्यवादीहरूको हात खुट्टाजस्तै भएका विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्कबाट देशघाती सर्त हुँदासमेत खर्बौँ रूपैयाँ ऋण ल्याउँछन् । तर, कुनै सर्त नभएको मानव जातिको साझा हितसँग सम्बन्धित बीआरआईको ऋण नलिने दाबी गर्नु साम्राज्यवादीहरूको कठपुतली बन्नु हो, एक ध्रुवीय विश्वको पक्ष लिनु हो, सांसद सुवालले भन्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्यहरू सुरेन्द्रराज गोसाई, सृजना सैँजू, नारायण महर्जन र कीर्तिपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार श्रीकृष्ण महर्जन, काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष पदका उम्मेदवार न्हुज महर्जन र ककनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष पदका उम्मेदवार माइलीमाया तामाङले नेमकिपाका उम्मेदवारलाई जिताए इमानदारीपूर्वक सेवा गर्ने बताउनुभयो ।
सभामा जनगायक चन्द्रबहादुर श्रेष्ठ, विनोद विक र सपना शाहीले नेमकिपालाई जिताउन आग्रह गर्दै गीत गाउनुभएको थियो ।