अध्यक्ष बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र इखालाछी मठको निरीक्षण

भक्तपुर, १८ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार, गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र तालाक्वमा अवस्थित इखालाछी मठ पुनःनिर्माण कार्यको मङ्गलबार स्थलगत निरीक्षण गर्नुभयो ।
निरीक्षणको क्रममा अध्यक्ष बिजुक्छेँले सम्पदा पुनःनिर्माणको कार्यमा भक्तपुर नपाको अग्रसरता प्रशंसनीय भएको बताउँदै सम्पदा पुनःनिर्माणले नयाँ पुस्ताको सेवा गर्ने बताउनुभयो ।
उहाँले भक्तपुरको मौलिकस्वरुप संरक्षणमा नपाको अग्रसरता सराहनीय भएको उल्लेख गर्दै यहाँका सम्पदा पुनःनिर्माणमा स्थानीय जनताको साथ र सहयोग पनि महत्वपूर्ण विषय भएको बताउनुभयो ।
उहाँले सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको खण्डमा देशभरकै सम्पदाहरू संरक्षण हुने बताउनुभयो ।
सम्पदाको महत्वबारे नयाँ पुस्तालाई अवगत गराउन सके संरक्षण र संवद्र्धन हुँदै जाने बताउँदै उहाँले भक्तपुरको मौलिक पहिचान नै यहाँको परिचय भएको स्पष्ट पार्नुभयो ।
भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर सात सय वर्ष पुरानो देखिन आएको छ । लक्ष्मीनरसिंह मन्दिरभित्र शक्तिसहितको शान्त भावको लक्ष्मीलाई साथमा लिएको नरसिंहको मूर्ति अवस्थित छ । भक्तपुर महोत्सवको तयारीस्वरूप भक्तपुर नपाले यहाँका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माण र संरक्षण कार्यलाई तीव्रता दिइएको छ ।
निरीक्षणमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्ष, जनप्रतिनिधिलगायतको सहभागिता थियो ।