संसद्वादी दलहरूको वर्गचरित्र एउटै !

भक्तपुर, २६ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग बागलुङका सोमनाथ शर्माले बुधबार भेट गर्नुभयो ।
भेटमा शर्माले आफूसहित ७ जनाको समूहले ६९ महिना लगाएर तयार गरिएको ‘अल नेपाल इन्फो’ नामको विवरण पुस्तिका (एक किसिमको इन्साइक्लोपेडिया) हस्तान्तरण गर्नुभयो ।
उहाँले विवरण पुस्तिकामा नेपालको भौगोलिक विभाजन, स्थानीय तहको जनसङ्ख्या, सांस्कृतिक गतिविधि, साना उद्योग, खानी र अन्य प्राकृतिक स्रोतहरूबारे उल्लेख भएको चर्चा गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले शर्मालाई पार्टी प्रकाशनहरू ‘जनताको साहित्य र साहित्यकार’, ‘आत्मनिर्भरताको प्रश्न र देशको विकास’, ‘भारतीय लेखकहरूको दृष्टिमा आजको भारत’, अमेरिकी ‘प्रजातन्त्र’, ‘युक्रेनमा रूसविरूद्ध अमेरिकी छद्मयुद्ध’, ‘प्यालेस्टिनी प्रतिरोध’ लगायत उपलब्ध गराउनुभयो ।
अध्यक्ष बिजुक्छेँले नेपाल मजदुर किसान पार्टीको उद्देश्य देश र जनताको सेवाबाहेक अर्को नभएको उल्लेख गर्दै देशलाई आत्मनिर्भर बनाउनु जरुरी भएको औँल्याउनुभयो ।
२०२६ सालदेखि २०३६ सालसम्म १० वर्ष भारत प्रवासमा रहेको बेला आफूले भारतबाट कुनै सहुलियत नलिएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले नेमकिपाविरूद्ध संसद्वादी दलहरू एक भएर लाग्नु वर्गचरित्र एउटै भएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “राजनीतिमा सैद्धान्तिक सङ्घर्ष महत्वपूर्ण हुन्छ । विकास निर्माणको काम २०–३० वर्षमा प्राप्त हुनसक्छ । सैद्धान्तिक सङ्घर्ष पुस्ताका पुस्ता लाग्छ ।”
“सोभियत सङ्घमा साम्राज्यवादीहरूको घुसपैठ भयो । लेनिनलाई गोली हानी मारियो । स्तालिन मन्द विष प्रयोगबाट मारिनुभयो । त्यसपछि सोभियत सङ्घका नेताहरू संशोधनवादी भए”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
“माक्र्सको देश जर्मनीका पुँजीपतिवर्गले रूस र जर्मनलाई भिडायो । साम्राज्यवादीहरूले रूसको समाजवादको ठाउँमा राष्ट्रिय समाजवादको नारा उठाउन लगाए । जर्मनको नाजिवादी हिटलर र इटलीका फासीवादी मुसोलिनीलाई ‘राष्ट्रिय समाजवाद’ को नारा बोकाइ अगाडि सारे”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।