काठमाडौँ, १५ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा विश्वका महान् गुरुहरू स्तालिन र माओ त्सेतुङको जन्म दिवस क्षेत्रपाटीमा सोमबार मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले स्तालिन र माओ त्सेतुङले गरिबीबाट मुक्त गराउने समाजवादी क्रान्तिको बाटो रोज्नुभएको बताउनुभयो ।
माक्र्सवादी शिक्षालाई आफ्नो देशको परिस्थितिअनुसार स्तालिनले रुसमा लेनिनसँग मिलेर अक्टोबर समाजवादी क्रान्ति सफल बनायो भने चीनमा माओ त्सेतुङले जनवादी क्रान्तिमार्फत चिनियाँ शैलीको समाजवादी क्रान्ति सफल बनाएको उहाँले बताउनुभयो ।
उहाँले देशको परिस्थितिअनुरूप समाजवादी क्रान्तिको लागि जनतालाई राजनैतिकरूपले सचेत र सङ्गठित गर्नुपर्ने आवश्यकता औँल्याउँदै अहिले देशमा पुँजीवादी र समाजवादी पक्षधरबिचका जनता सङ्घर्षमा छन् भन्नुभयो ।
उहाँले नेमकिपा देश र जनताको हितमा समाजवादी व्यवस्थाको लागि नेमकिपाले सङ्घर्ष गरिरहेको उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले स्तालिन र माओ त्सेतुङको शिक्षा लिएर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पार्टीको केन्द्रीय परिषद्ले गरेका निर्णय र प्रस्तावहरूबारे स्पष्ट पार्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले केन्द्रीय परिषद्को चर्चा गर्दै देश र जनताको सेवा गर्न जनताका समस्या बुझ्न जनताबिच जानुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले स्तालिन र माओ त्सेतुङले समाजवादी गणतन्त्रका लागि गरेको योगदानको स्मरण गर्दै किसान सङ्घले किसानको हितमा गरेको कामबारे प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्लाका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा वन्दना श्रेष्ठ, मदन श्रेष्ठ, विष्णुबहादुर खत्री र कान्छाबाबु महर्जनले पनि बोल्नुभएको थियो ।