काठमाडौँ, २१ पुस । नेपाल मजदुर किसान पार्टी ओखलढुङ्गा जिल्ला समितिको आयोजनामा जिल्ला कार्यकर्ता भेला शनिबार काठमाडौँमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा जानकार हुनुपर्ने बताउँदै पार्टीको एउटा मुख्य काम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय तथा परिस्थितिबारे जनतालाई सुसूचित पार्नु हो भन्नुभयो ।
उहाँले विश्वका साम्राज्यवादी देशहरूले विकासोन्मुख र विकासशील देशहरूलाई आफ्नो मुठीमा पार्ने कोसिस गरिरहेका छन् र नवउपनिवेशवादी चालबारे जनतालाई सचेत पार्न जरूरी रहेको बताउनुभयो ।
कम्युनिस्टहरू पुँजीवादी सरकारमा नजाने स्पष्ट पार्दै सचिव सुवालले नेमकिपालाई प्रधानमन्त्री र मन्त्री पदको प्रस्ताव पटक–पटक आए पनि सरकारमा नगएको र निर्वाचनमा जनताले प्रखर प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्न नेमकिपालाई दिएको मतको सम्मान गरेको प्रस्ट पार्नुभयो ।
पुँजीवादी व्यवस्था र भ्रष्टाचार एउटै सिक्काका दुई पाटा हुने बताउँदै उहाँले शासक दलका नेताहरूले जतिसकै सुशासनको कुरा गरे पनि देश र विदेशमा कसैले पनि पत्यार नगरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा कोसी प्रदेश संयोजक उकेश कवांले नेमकिपाको स्थापना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा आफ्नो स्पष्ट अडान राख्दै माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा ग्रहण गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले पार्टीको लक्ष्य देशको वस्तुस्थितिअनुसार जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादी समाजसम्म पुग्ने पार्टीको दीर्घकालीन लक्ष्य रहेको प्रस्ट पार्नुभयो ।
नेमकिपा प्रदेश समिति सदस्य महेन्द्र बखुन्छे, प्रदेश सदस्य एवं नेमकिपा उदयपुर जिल्ला अध्यक्ष विष्णुबहादुर खत्री, नेमकिपा खोटाङ जिल्ला अध्यक्ष भोजराज बस्नेत, नेमकिपा सुनसरीका संयोजक सुनिल शाक्यलगायतले समसामयिक राजनीतिक स्थितिबारे चर्चा गर्नुभएको थियोे ।
नेमकिपा ओखलढुङ्गा जिल्ला सम्पर्क समितिका अध्यक्ष ढकराज थापाको सभापतित्वमा भएको कार्यक्रममा समितिका इन्द्र श्रेष्ठले पनि बोल्नुभएको थियो ।
भेलाले ढकराज थापाको अध्यक्षतामा ९ सदस्यीय नेमकिपा ओखलढुङ्गा जिल्ला समिति गठन गरेको छ ।
त्यस्तै, शनिबार भएको अलग्गै भेलाबाट राजन कोइरालाको संयोजकत्वमा नेमकिपा उदयपुर–काठमाडौँ सम्पर्क समिति र विकास काफ्लेको संयोजकत्वमा नेक्राविसङ्घ उदयपुर–काठमाडौँ सम्पर्क समिति गठन गरिएको छ ।