काठमाडौँ, २६ पुस । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्लाको सातौँ जिल्ला सम्मेलनको उद्घाटन पुस २६ गते नयाँ बजार मल्टीभेन्युमा भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले काठमाडौँ जिल्लामा कम्युनिस्टको बदनाम नक्कली कम्युनिस्टहरूले गरेको बताउनुभयो ।
उहाँले आफूलाई कम्युनिस्ट भन्ने तर कम्युनिस्टहरूको व्यवहार नगर्नेहरू कम्युनिस्ट हुन नसक्ने भन्दै नेमकिपाका कार्यकर्ताहरूले पार्टी प्रकाशन अध्ययन गर्ने, जनताबिच पु¥याउने काम गरेमा जनता छिटो सचेत हुने बताउनुभयो ।
मुखले के बोल्छ त्यो मुख्य कुरा होइन के व्यवहार गरे त्यो मुख्य हुने भएकोले गलत र जनविरोधी गर्नेहरूलाई सिंहदरबारबाट निकाल्न काठमाडौँकै जनता सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले सरकारमा रहेका जुनसकै दल भए पनि स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउनुपर्ने उल्लेख गर्दै भक्तपुर नगर एउटैले स्वास्थ्य र शिक्षामा भक्तपुरलगायत देशभरका जनतालाई सुविधा दिएको बताउनुभयो । उहाँले भक्तपुरबाट इन्जिनियरिङ गरेका विद्यार्थीहरूले देशभरका प्रोजेक्टमा इमानदारीपूर्वक गुणस्तरीय काम गरेको समाचार भुक्तभोगीले सुनाएको बताउँदै निर्माणमा कमसल सामान राखेर पारित गर्न खोजेकोमा विरोध गरेको सुनाउनुभयो ।
ख्वप विश्वविद्यालय स्वीकृति दिएमा सस्तोमा गुणस्तरीय डाक्टर उत्पादन भए देशकै सेवा हुने उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले प्रदेशसभा गठन भएको ७ वर्षमा सत्तासीन पार्टीहरूले पालैपालो शासन गरेर शोषण गरेको बताउनुभयो । उहाँले प्रदेशसभा संरचना दलहरूको ठगी खाने भाँडो बनाएकोमा सदन र सडकमा नेमकिपाले विरोध गरिरहेको बताउनुभयो ।
जनताको माग र आवश्यकताको निर्देशन शिरोपर गरी अगाडि बढ्ने उहाँले बताउनुभयो ।
उहाँले शासक दलहरूको कालाकर्तुतलाई प्रतिनिधिसभा, प्रदेश र स्थानीय जनताका बिच उदाङ्ग्याउँदै जानुपर्ने चर्चा गर्दै देशको सार्वभौमिकता रक्षा गर्न भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादसँग नेपाली जनताको आवाज उठाउने एक मात्र पार्टी नेमकिपा रहेको बताउनुभयो ।
उहाँले इजरायलले प्यालेस्टिनी गाजामा गरेको जातीय सफाया तथा फासीवादको विरोधमा नेमकिपा एक्लैले सङ्घर्ष गरेको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले हालैमात्र बझाङका एक २२ वर्षीय महिलाको प्रसव व्यथाको कारण बच्चासहितको निधनले देशमा ३५ वर्ष शासन चलाउनेलाई लाज लाग्नुपर्ने बताउनुभयो ।
देशमा स्वास्थ्यको स्थिति खराब भएकोमा सिंहदरबार र बालुवाटारलाई दुःख नहुनु शासक दलहरूको अकर्मण्यता हो, उहाँले भन्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जनले देशमा पटक पटक परिवर्तन भए पनि भ्रष्टाचारको दलदलमा फसेको उल्लेख गर्दै सरकारमा रहेकाले जनताको सेवा नगरेको बताउनुभयो ।
उहाँले सहकारी रकम हिनामिना गर्ने ठगहरूलाई कारबाही गरी बचतकर्ताको रकम फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा सातौँ काठमाडौँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला तयारी समितिका सदस्यहरू ज्ञानुमाया दराई, बिन्द्रा महर्जन, मीना डंगोल, इन्द्रकुमारी बज्राचार्य, विश्वक डंगोल, नुवाकोट जिल्ला अध्यक्ष रवीन्द्र डंगोल, ललितपुर जिल्लाका नरेश महर्जनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा महालक्ष्मी माविका विद्यार्थीद्वारा नृत्य, गायक विनोद विक र सपना शाहीले जनगीत प्रस्तुत गर्नुभएको थियो । सम्मेलन शनिबारसम्म चल्नेछ ।