भक्तपुर, १३ माघ । नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा संस्कृतिकर्मी तथा स्रष्टाहरूको भेला आइतबार सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले साहित्य र संस्कृतिमा चाख राख्नेहरूले हरिबहादुर श्रेष्ठको नाममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँका कृतिहरू – कवितासङ्ग्रह, कथाहरू, जनताको साहित्य र साहित्यकारलगायत अध्ययन गर्नु उपयुक्त हुने बताउनुभयो ।
सचिव सुवालले संसारका प्रख्यात साहित्यकार, सङ्गीतकार, गायक, गायक–गायिकाहरूको जीवनी अध्ययन गरेर सिक्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “रूसी साहित्यकार म्याक्सिम गोर्कीले लेख्नुभएको ‘आमा’ उपन्यास रूसी क्रान्तिको महत्वपूर्ण सहयोगी बनेको बताइन्छ । नेमकिपासँग आबद्ध स्रष्टाहरूले पनि नेपाली युवालाई सुसंस्कृत बनाउने साहित्य सृजना गर्नु आवश्यक छ ।”
हाम्रो साहित्य संसारका करोडौँ र अर्बौँ जनतालाई उठाउने हतियार हुनुपर्दछ । कथा, कविता, गीत सृजना गर्नेहरूले विषयवस्तुलाई गहिराइमा गएर अध्ययन गर्नु आवश्यक छ, सांसद सुवालले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाको ५१ औँ स्थापना दिवस र आउने फागुन १६ देखि १९ गतेसम्म हुने पार्टीको आठौँ महाधिवेशन विषयमा सर्जकहरूले साहित्य लेख्नु उपयुक्त हुनेछ ।”
अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो पटकको कार्यकाल सुरूलगत्तै क्युवाविरूद्ध क्रूर नाकाबन्दी दोहो¥याएको, विश्व स्वाथ्य सङ्गठन र पेरिस सम्झौताबाट बाहिरिएको विरोधमा पनि सर्जकहरूले कदम चलाउनु जरूरी भएको सचिव सुवालले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले स्रष्टा र संस्कृतिकर्मी विभिन्न विधाका भए पनि वैचारिक पक्ष र राजनीतिक उद्देश्य प्राप्तिमा एक भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै संस्कृतिकर्मी, कलाकारहरूले भारतीय एकाधिकार पुँजी, भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादविरूद्ध आफ्नो कला र सीपलाई उपयोग गर्नु आवश्यक छ । आमूल परिवर्तनको लागि देश र जनताको सेवामा निःस्वार्थपूर्वक लाग्नु जरूरी छ ।”
भेलाले बालकृष्ण वनमालाको अध्यक्षतामा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ पुनः गठन गरेको छ । कार्यक्रममा बालकृष्ण वनमाला र लक्ष्मीप्रसाद चवालले पनि बोल्नुभएको थियो ।