भक्तपुर, १७ माघ । नेमकिपाको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा चाँगुनारायण नगरपालिका वडा नं. ४ एकाइ समितिको आयोजनामा बिहीबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टी देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्न स्थापना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशमा परिवर्तन हुन समय लाग्छ । विदेशीको भरमा भएको परिवर्तन नेपालको हितमा हुनेछैन । बेलायती उपनिवेशबाट भारत मुक्त हुन २ सय वर्षभन्दा बढी लाग्यो । नेपालमा राणा शासन अन्त्य गर्न १०४ वर्ष लाग्यो । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकाका राजाहरूको नजिकका भारदारहरूलाई हातमा लिएर आक्रमण गरेका थिए । संसद्वादी दलहरूले सर्वसाधारण जनतालाई नगद र सामान बाँडेर, भोज खुवाएर, झुठा आश्वासन दिएर मत लिएका हुन् । यसमा बुद्धिजीवीहरू बढी जिम्मेवार छन् ।”
सचिव सुवालले भन्नुभयो, “राज्य सत्ताको दुरूपयोग गरी सम्पत्ति कुम्ल्याएका शोषकहरू जनताको सरकारमा जेलमा थुनिने छन् । यो यथार्थ थाहा पाएका शोषकहरू संसद्वादी दलहरूमा घुसेर सांसद र मन्त्री बनिरहेका छन् । सरकारले आफूलाई चुनावमा सहयोग गरेका शोषकहरूलाई सरकारी सम्पत्ति ठेक्का दिने गरेको स्वार्थको राजनीति हो । गोकर्ण रिसोर्ट यति होल्डिङस्लाई, नेपाल ट्रस्टको जग्गा र भवन पनि शोषकलाई, पाथिभरा केबुलकार बनाउने जिम्मा आईएमईलाई, बालमन्दिरको जग्गा, महाराजगञ्जको जग्गा पनि शोषकलाई दिने संसद्वादी दलका नेताहरूले स्वार्थको राजनीति गरेका हुन् । एक व्यापारीसँग संसद्वादी दलको पार्टी कार्यालय बनाउन जग्गा र भवनको खर्च प्रदान गरिनु पनि स्वार्थको राजनीति हो ।”
“अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालको लागि जितेका ट्रम्पले विश्वकै खर्ब डलरपति अलन मस्कलाई सरकार सञ्चालनको एक विभागको जिम्मेवारी दिएलगत्तै मस्कको उद्योग–व्यापारको शेयर आकासियो । ट्रम्पले निष्काशन गरेको बिट्क्वाइनको मूल्य पनि आकासियो । यी सबै स्वार्थको राजनीति हो”, उहाँले थप्नुभयो ।
सचिव सुवालले नेमकिपाले पार्टी विस्तारको नाममा देश हितविपरीतका कुनै पनि काममा समर्थन नगर्ने स्पष्ट पार्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले कामदारवर्गको हित हुने समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यले नेमकिपा स्थापना भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य निःशुल्क, ज्येष्ठ नागरिकहरूलाई आदर निकेतनको व्यवस्था, बालबालिकाको विकासको लागि शिशुशाला, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, उत्पादनका मुख्य मुख्य साधन र स्रोत सामाजिकीकरण हुन्छ ।”
नेमकिपा स्थापना नभएको भए संशोधनवाद, अवसरवाद, साम्राज्यवादको विरोध गर्ने पार्टी नै नहुने धारणा उहाँले व्यक्त गर्नुभयो ।
श्रीभक्त भडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा रमेश श्रेष्ठले पनि बोल्नुभएको थियो ।