काभ्रे, ७ फागुन । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवस तथा आठौँ महाधिवेशन प्रचारार्थ नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा चण्डेश्वरी बनेपामा बुधबार कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले व्यक्तिगत स्वार्थ नराखी इमानदारीपूर्वक देश र जनताको सेवा गर्नु नै सच्चा राजनीति भएको बताउनुभयो । “धन सम्पत्ति कमाउने भए व्यापार व्यवसायमा लाग्नु उचित हुन्छ । राजनीतिमा लागेर भ्रष्टाचार गर्नु, भागबन्डा गर्नुलाई सच्चा राजनीति भन्न सकिन्न ।” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएका दलहरूले अनेक बहाना गरेर जनतालाई पटकपटक ठगेका छन्, ती ठगिनेमा महिला बढी छन् । ठुला भनिने हात्ती पार्टी जति ठुला भए पनि सानो माहुतेले तह लाउँछ । घ्याम्पो ठुलो देखिन्छ सानो ढुङ्गा लाग्दा फुट्छ । नेमकिपा सानो देखिए पनि ढुङ्गाजस्तै खँदिलो छ ।”
भ्रष्टाचारी, चेलीबेटी बेचबिखन, देशघाती सन्धि सम्झौतालगायतका बेथितिहरूको विरोधमा व्यापक जनसहभागिता प्रदर्शन गर्न नेमकिपाको आठौँ महाधिवेशन समुद्घाटन समारोहमा सहभागी हुनुपर्ने थापामगरले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले जनतालाई शोषणबाट मुक्त गर्ने बाटो समाजवाद भएकोले जनता सचेत र सङ्गठित भएर समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मानव समाज विकासको इतिहासले दास युग, सामन्ती युग र पुँजीवादी युग क्रमशः पतन हुँदै समाजवादी युगमा पदार्पण हुने गर्दछ । पुँजीवादी व्यवस्थाले जनतालाई सुख सुविधा दिन नसक्ने हुनाले समाजवाद अपरिहार्य छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय समितिका कोषाध्यक्ष रोशनमैयाँ सुवालले नेमकिपाको उद्देश्य देशमा समाजवादी व्यवस्था स्थापना गर्नु हो; उत्पादनका मुख्य–मुख्य साधनहरू राष्ट्रियकरण गर्ने, शिक्षा स्वास्थ्य निःशुल्क गर्ने, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला बन्दोबस्त गनर्,े रोजगारीका ग्यारेन्टी गर्ने आदि बन्दोबस्त समाजवादी व्यवस्थाले गर्छ† राजनीति सङलो हुनु आवश्यक छ भन्नुभयो ।
भेलामा नेमकिपा काभ्रे जिल्ला समितिका सल्लाहकार डा.हरिप्रसाद मानन्धर, सहसचिव मुना तामाङ, नेपाल क्रान्तिकारी महिला सङ्घ सूर्यविनायक नगर समितिका सचिव मनशोभा सुवाल, कान्ति अवा, पुण्यशोभा श्रेष्ठ र सृष्टि डंगोलले पनि बोल्नुभएको थियो ।