भक्तपुर, १० फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको तयारीस्वरूप नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा पार्टीका सचिव प्रेम सुवालले कार्यकर्ताहरूको सैद्धान्तिक स्तर उठाउन राजनीतिक कक्षा सञ्चालनमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
पार्टीलाई चिन्तनको चौतारी, महाधिवेशनलाई बृहत् राजनीतिक कक्षा र पार्टी प्रशिक्षणलाई विश्वविद्यालयको कक्षाभैmँ बनाउनुपर्ने धारणा राख्दै सचिव सुवालले राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा जानकारी राख्ने कार्यकर्ताहरूले मात्र देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यकर्ताहरूमा स्पष्ट राजनीतिक दृष्टिकोण, अडान, अध्ययनशीलता र अनुशासन अनिवार्य हुने स्पष्ट पार्दै उहाँले आलोचना, आत्मालोचना र आत्मसमीक्षाको माध्यमबाट सांस्कृतिक स्तर उठाउन र थप समर्पित हुन निरन्तर प्रयास जारी राख्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
सचिव सुवालले संरा अमेरिकाले एनजीओ/आईएनजीओलाई विभिन्न देशहरूमाथि हस्तक्षेप गर्ने माध्यम अथवा अस्त्र बनाएको चर्चा गर्दै संरा अमेरिकाले धम्कीको भरमा विश्वको खनिज कब्जा गर्न नसक्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले आठौँ महाधिवेशनले कामदार जनताको सङ्घर्षलाई थप बल पु¥याउने विचार राख्दै समाजवादबारे तल्लो वर्ग र बौद्धिक समुदायबिचमा समेत गम्भीर छलफल निरन्तर चलाउन आवश्यक भएको बताउनुभयो ।
भेलामा विभिन्न पार्टी समितिका प्रतिनिधिहरू, जनवर्गीय र पेसागत समितिका प्रतिनिधिहरूले आठौँ महाधिवेशनको तयारीस्वरूप जिल्लामा चालु गतिविधिबारे आ–आफ्नो धारणा राख्नुभयो ।