भक्तपुर, १७ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको बन्द सत्र शनिबार सुरु भयो । बन्दसत्र बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पुँजीवादी शासक दलहरू र नेमकिपाबिच सिद्धान्त र व्यवहार दुवैमा भिन्नता रहेको स्पष्ट पार्नुभयो ।
संसद्वादी दलहरूको नाम भिन्न रहे पनि काममा कुनै मौलिक भिन्नता नभएको उल्लेख गर्दै उहाँले संसद्वादी दलहरूको नाममा कम्युनिस्ट भए पनि व्यवहारमा तिनीहरू कम्युनिस्ट पार्टी होइनन् भन्नुभयो ।
अध्यक्ष रोहितले कार्यकर्ताहरूलाई निर्देशन दिँदै भन्नुभयो, “पार्टीमा लामो समयदेखि लागेकाहरू आफ्नो व्यक्तिगत काममा मात्र लाग्ने होइन पार्टीमा पनि सक्रिय हुनु जरुरी छ । पार्टी सदस्यले सारा जनताका छोराछोरीको लागि चिन्ता लिनु आवश्यक छ । नेमकिपाको लक्ष्य देश र जनताको निःस्वार्थरूपमा सेवाबाहेक अर्को छैन । पार्टी कार्यकर्ताहरू सिद्धान्तच्युत हुनुहुँदैन । विरोधी पार्टीले फसाउनेबारे सचेत हुनु जरुरी छ । आफ्नो मान्छे हुँदैमा छुट दिने उदारवादको विरोध गर्नु आवश्यक छ ।”
सच्चा कम्युनिस्ट पार्टीले गल्ती भएमा समयमै आलोचना र आत्मालोचना गर्ने चर्चा गर्दै उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले समयमै सोभियत सङ्घको कम्युनिस्ट पार्टीको संशोधनवादी नीतिमाथि आलोचना गरेजस्तै हाम्रो पार्टीभित्र कमीकमजोरी भएका साथीहरूलाई समयमै आलोचना गर्नु जरुरी भएको बताउनुभयो ।
देशको संसदीय व्यवस्थामा भित्रिएको विकृतिबारे चर्चा गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रको चिन्ता लिने होइन, देशको चिन्ता लिनु आवश्यक छ । संसद् सदस्यलाई विकासको रकम जिम्मा दिने होइन स्थानीय तहमार्फत विकास गराउनुपर्दछ । विदेशी सहयोगमा होइन आफ्नै खुट्टामा टेकेर देश अगाडि बढाउनु जरुरी छ ।”
पुँजीवादी शासक पार्टीका नेता कार्यकर्ताहरू माथिदेखि तलसम्म भ्रष्टाचारमा लिप्त रहेको देखिएको खुलासा भइरहेको चर्चा गर्दै उहाँले नेमकिपाका कार्यकर्ताहरुले सरकारी वा सार्वजनिक सम्पत्ति मास्ने कार्यमा सहमति जनाउन नहुने र राजनीतिक शत्रुको षड्यन्त्रबाट बच्न मदिरा तथा सुर्तीजन्य पदार्थको लतबाट टाढा रहनुपर्ने सुझाव दिनुभयो ।
अध्यक्ष रोहितले सहकारी संस्थामा संलग्न भएकाहरूले सहकारीको सिद्धान्तअनुसार काम गर्नुपर्ने र सहकारी संस्थाको रकम अपचलन गर्नेहरूको विरोध र निन्दा गर्नुपर्ने बताउनुभयो ।
बन्द सत्रमा पाटी जिल्ला समिति, पेसागत सङ्गठन र जनवर्गीय सङ्गठनका केन्द्रीय समितिहरूको प्रतिवेदन पेस गर्ने क्रम चालु छ । शनिबारको बैठकमा जुम्ला, दैलेख, कालीकोट, सुनसरी, ललितपुर, खोटाङ, बाँके, मकवानपुर, सुर्खेत, बारा, काठमाडौं, उदयपुर, ओखलढुङ्गा, नुवाकोट, रामेछाप र रुपन्देही जिल्लाका प्रतिवेदनहरू पेस गरिए । त्यस्तै नेपाल कर्मचारी समाज, नेपाल अर्थशास्त्र अध्ययन समाज, संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको प्रतिवेदन पनि पेस गरिएको थियो ।
बन्द सत्र बैठक आइतबार पनि चालु रहने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।