नेपाल प्राकृतिक स्रोत सम्पन्न उर्वर भूमि हो । यसलाई विश्वमा प्रतिस्पर्धी बनाउन सकिन्छ । तर, सम्पन्न देशका हामी नागरिकलाई विपन्न र विदेशीको नोकर बनाइए – सरकारको असमर्थताका कारण । जलविद्युत् विकासको मेरुदण्ड हो । हाम्रो देशमा पहिलो र पर्याप्त स्रोत पानी हो । जसलाई हाम्रो हिमाल रहेसम्म कसैले घटाउन सक्ने छैन । यसैमा आधारित खेती र उद्योग चलाएमा देश सम्पन्न हुनेछ ।
जलस्रोतलाई सानासाना जलविद्युत् आयोजना, सिँचाइ र प्रशोधित खानेपानीको लागि उपयोग गर्न सकिन्छ । यसलाई प्राथमिकता दिए देशलाई आत्मनिर्भर बनाउन ठुलो टेवा पु¥याउनेछ । तर, दुःखको कुरा सरकारले विद्युत्मा लगानी गर्न छाडिसक्यो । सरकारले जलविद्युत्मा लगानी नगरी सोलार र थर्मल प्लान्ट बनाई देशलाई एसिदबाट प्रभावित बनाउँदै छ । विदेशी लगानीको नाममा भारतीय एकाधिकार पुँजीको हातमा नेपालको जल विद्युत् सुम्पने काम गरेको छ । नेपाली विद्युत् आयोजना कमजोर हुँदै छ । हाम्रो देश ऊर्जा र सिँचाइ भारतको पञ्जामा पार्दै छ । यसको विरोध हामीले गर्दै आएका छौँ ।
कर्णाली प्र्राकृतिक स्रोत सम्पन्न छ । पानी, जमिन, जडिबुटी र फलफूल कर्णाली विकासका आधार हुन् तर विदेशमुखी शासकहरूको बेवास्ताको कारण ती प्राकृतिक स्रोत साधन उपयोग नगर्दा कर्णाली अविकसित छ र जनता गरिब छन् । जान्ने बुझ्ने ठाउँ छाडदै, युवा विदेसिँदै र सर्वसाधारण शक्तिहीन बन्दै छन् कर्णालीमा । विकासको नाममा कर्णालीमा गुणस्तरहीन सडक छन् । शिक्षा, अस्पताल र सरकारी निकायहरू कहिले जाला घाम गर्छन् । परनिर्भर स्वभाव कर्णालीको कहर हो । ठेक्कापट्टा, उपभोक्ता समिति अथवा अमानत जसरी गरे पनि कर्णालीको विकासमा गुणस्तर छैन । यसलाई नेमकिपाको नयाँ जोस र जाँगरले समाधान गर्नेछ भनी कर्णालीवासी जनताले आसा गरेका छन् ।
देशलाई परनिर्भर हुने गरी गाउँमा युवाविहीन र खेती प्रणालीमा शुन्यता ल्याउने तथा उद्योगहरू निजीकरण गरी रोजगारी पनि घटाउने वातावरण ल्याएकोले दलाल सरकारको विरुद्धमा लडनु जरुरी छ ।