भक्तपुर, २० फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको बन्द सत्र नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा निर्वाचित गर्दै मङ्गलबार सम्पन्न भएको छ । केन्द्रीय समितिमा अध्यक्षसहित २९ केन्द्रीय सदस्य तथा ४ जना वैकल्पिक केन्द्रीय सदस्य रहनुभएको छ ।
बन्द सत्र बैठकमा अध्यक्ष रोहितले पार्टीका हरेक सदस्य र समितिहरू अनुशासित र सङ्घर्षशील हुनुपर्ने र प्रजातान्त्रिक केन्द्रीयताको नीतिअनुसार चल्नुपर्ने बताउनुभयो ।
उहाँले समाजवाद र साम्यवाद आफै आउने नभई क्रान्ति गरेर ल्याउने हो भन्दै शान्तिपूर्ण तवरले वा सङ्घर्ष नगरी आफै समाजवाद आउने कुरा सही नभएको इतिहासले पुष्टि गरिसकेको बताउनुभयो ।
पार्टीभित्र निरन्तर अध्ययन र प्रशिक्षण चलाइरहनुपर्नेमा जोड दिँदै अध्यक्ष रोहितले एउटा सच्चा कम्युनिस्ट पार्टी विश्वविद्यालयसरह हुने बताउनुभयो ।
कामदारवर्ग राजनीतिकरूपले सचेत र सङ्गठित भएन भने लाखौँलाख कार्यकर्ता र जनताको बलिदानबाट आएको समाजवाद र साम्यवाद पनि नटिक्ने बताउँदै उहाँले कामदार वर्गलाई सचेत र सङ्गठित गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
कम्युनिस्टहरूले काम नबिग्रँदै आलोचना र आत्मालोचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले गलत सिद्धान्त, विचार र व्यवहारको आलोचना र विरोध गर्न डराउन नहुने बताउनुभयो ।
उहाँले विश्वमा जस्तै नेपालको कम्युनिस्ट आन्दोलनमा पनि वामपन्थी अवसरवाद, अराजकतावाद, दक्षिणपन्थी अवसरवाद र संशोधनवाद मुख्य खतरा रहेको विश्लेषण गर्नुभयो ।
यसअघि बन्द सत्र बैठकले केन्द्रीय सचिव प्रेम सुवालले प्रस्तुत गर्नुभएको केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित पारित गरेको थियो ।
त्यस्तै बन्द सत्रले केन्द्रीय सदस्य सुनिल प्रजापतिले प्रस्तुत गर्नुभएको पार्टीको विधान संशोधन प्रस्ताव तथा १९ बुँदे राष्ट्रिय र ९ बुँदे अन्तर्राष्ट्रिय प्रस्तावहरू सर्वसम्मत पारित ग¥यो ।
नवनिर्वाचित केन्द्रीय समितिको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति रहनुभएको छ भने सदस्यहरूमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, सुरेन्द्रराज गोसाई, रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैयाँ सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सृजना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्तिप्रसाद यादव, योगेन्द्रमान बिजुक्छेँ, बखतबहादुर थापा, रमेशकुमार रावल, केशेन्द्रप्रकाश कार्की र खड्गराज शाही रहनुभएको छ । त्यस्तै वैकल्पिक केन्द्रीय सदस्यहरूमा मञ्जु चौधरी, विनोद बिक, तुल्सी खड्का र प्रकाश गुरुङ रहनुभएको छ ।
बन्द सत्रले सातवटै प्रदेशका निम्ति प्रदेश समितिहरू गठन गरेको छ । कोसी प्रदेशको संयोजकमा केन्द्रीय सदस्य उकेश कवां, मधेस प्रदेश संयोजकमा केन्द्रीय सदस्य सुनिल प्रजापति, वाग्मती प्रदेश संयोजकमा केन्द्रीय सचिव प्रेम सुवाल, गण्डकी प्रदेश संयोजकमा केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्ले, लुम्बिनी प्रदेश संयोजकमा केन्द्रीय सदस्य हरिसुन्दर बासी, कर्णाली प्रदेश संयोजकमा केन्द्रीय सदस्य सरोजराज गोसाई र सुदूरपश्चिम प्रदेश संयोजकमा केन्द्रीय सदस्य नवराज कोइराला रहनुभएको छ ।
यसअघि फागुन १६ गते पार्टीको आठौँ महाधिवेशनको उद्घाटन समारोह भएको थियो । बन्द सत्र फागुन १७ गतेदेखि २० गतेसम्म भएको थियो । बन्द सत्रमा पार्टी सदस्य, जनवर्गीय, पेसागत सङ्गठनका अध्यक्ष र प्रतिनिधिहरूले आ–आफ्नो प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । उद्घाटन सत्र सुरु हुनुअघि भक्तपुरको विभिन्न स्थान र काठमाडौँको कोटेश्वरबाट विभिन्न नारासहित ¥याली भएको थियो ।