भक्तपुर, ३ साउन । नेपाल मजदुर किसान पार्टी कोसी प्रदेश समितिको आयोजनामा कोसी प्रदेश स्तरीय कार्यकर्ता भेला शनिबार सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले हिजो राजासँग नडराउनेहरू आज म्यानपावर कम्पनीका मालिक र शासक दलका पुँजीपतिहरूसँग डराउन नहुने विचार व्यक्त गर्दै गलत कार्यको विरुद्ध निर्मम भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले निर्वाचनको बेला जनतालाई पैसा र सामान बाँडेर मत लिने शासक दलका नेताहरू नै भ्रष्टाचारमा मुछेका हुनाले त्यसविरुद्ध कार्यकर्ताहरूले ठाउँठाउँमा अभियान चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वि.सं. २०१५ सालको निर्वाचनमा काठमाडौँ उपत्यकामा कम्युनिस्टहरू विजय भएमा देशभरि कम्युनिस्टहरूको प्रभाव हुने डरले नेपाली काङ्ग्रेस र राजावादीहरू लागेको स्मरण गर्दै संसदीय व्यवस्थाबाट कामदार जनताको हित नहुने अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
फ्रान्सको पेरिसमा सन् १८७१ मा भएको मजदुर सङ्घर्षको क्रममा भएको कमी कमजोरीबाट सिकेर कार्यकर्ताहरूले संसारका विभिन्न देशमा भएको मजदुर आन्दोलन र सङ्घर्षबारे नियमित कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले समाजमा व्यक्तिगत सम्पत्ति भएसम्म धनी र गरिब रहिरहने उल्लेख गर्दै पार्टी कार्यकर्ताहरूले व्यक्तिगत स्वार्थ त्यागी सामूहिक हितमा लाग्नुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँ भन्नुभयो, “नेमकिपाले सहकारी ऐन निर्माण गर्दा विभिन्न बैङ्कहरूलाई नेपाल राष्ट्र बैङ्कले नियमन गरेझँै सहकारीलाई पनि कुनै निकायले नियमन र नियन्त्रण गर्नुपर्ने संशोधन राखेको तर शासक दलहरूले नसुनेका कारण अहिले समस्या उत्पन्न भएको हो । सहकारी संस्थाले सहकारीको सिद्धान्त र मर्मअनुसार कार्य गरेको छैन ।”
पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सरकारमा गएका पार्टीहरूको आर्थिक र वैदेशिक मामिला एउटै भएकोले नाम फरक वा पार्टी पुराना र नयाँ भए पनि फरक पार्टीको औचित्य नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएर सार्वजनिक संस्थान निजीकरण वा विदेशीलाई बिक्री गर्ने दलहरू देश र जनताको पार्टी होइनन् । यो विषय नेपाली जनतामा भ्रम रहनु भएन ।”
सन् १९४७ को गोर्खा भर्ती, सन् १९५० को नेपाल–भारत सन्धि, एमसीसीलगायत देशघाती सन्धि सम्झौता गर्ने शासक दलहरूको अलग नाम राख्नुको कुनै औचित्य नभएको सचिव सुवालले स्पष्ट गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “निर्वाचनमा सामान, पैसा बाँड्ने र भोज खुवाउने शासक दलहरूको मत धेरै आएको हुँदा सरकार अस्थिर र देशमा भ्रष्टाचार बढेको हो, सार्वजनिक ऋण २७ खर्ब र व्यापारघाटा वार्षिक १५ खर्ब पुगेको हो । नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले सुरूदेखि नै भ्रष्टाचारविरोधी आन्दोलन चालु राखेको हुँदा यो भावना नयाँ पुस्तामा पनि कायम राख्नु आवश्यक छ ।”
नेमकिपा कोसी प्रदेश समितिका संयोजक उकेश कवांले पार्टी कार्यकर्ताले नियमित पार्टी प्रकाशन अध्ययन गरी जनताको घरदैलोमा जानुपर्ने बताउनुभयो । उहाँले माक्र्सवाद–लेनिनवाद, माओ त्सेतुङ विचारधारा र पार्टी कार्यक्रमबारे सङ्क्षिप्त चर्चा गर्दै पार्टी कार्यकर्ताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा जानकार हुनुपर्ने बताउनुभयो ।
उकेश कवांको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष बिजुक्छेँद्वारा लिखित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तकको विषयमा नेमकिपा कोसी प्रदेशका सुनिल शाक्य, भोजराज बस्नेत, विष्णुबहादुर खत्री, महेन्द्र बखुन्छेँ र दिनेश खड्गीले बोल्नुभएको थियो ।