काठमाडौँ, भदौ १६ । नेक्राविसङ्घ दैलेख–काठमाडौँ, जुम्ला–काठमाडौँ, कैलाली–काठमाडौँ, सुर्खेत–काठमाडौँ, कालीकोट–काठमाडौँ, काभ्रे–काठमाडौँ, रामेछाप–काठमाडौँ सम्पर्क समितिको संयुक्त आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम काठमाडौँमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले नेमकि सङ्गठनले राष्ट्रिय पञ्चायतलगायत क्षेत्रमा पञ्चायतको विरोध गर्ने, मजदुर र किसानलाई राजनीतिक र सामाजिक रूपमा अगाडि बढाउने कार्यबाट चिढिएर निरङ्कुश पञ्चायती सरकारले भक्तपुर काण्ड रचेको बताउनुभयो । त्यस काण्डमा थुप्रै राजनीतिकर्मी, कानुन व्यवसायी र जनताले विरोध गरी सहयोग गरेको उहाँले बताउनुभयो ।
सही विचार र व्यवहार आवश्यक भएको विचार व्यक्त गर्दै उहाँले देश विकासका लागि युवा–विद्यार्थीले सिद्धान्त र नीतिमा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले भक्तपुर काण्ड नेमकिपाले निमुखावर्गको हितमा काम गरेको कारण पञ्चायत सरकारबाट षड्यन्त्र रचिएको स्पस्ट पार्नुभयो । सर्वहारावर्गको क्रान्ति सफल पार्न जनतालाई सचेत र सङ्गठित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रमेशकुमार रावलले भक्तपुरका जनतालाई भूकम्पले भन्दा भक्तपुर काण्डले ठुलो पीडा दिएको बताउनुभयो । उहाँले यस्ता षड्यन्त्र जुनसुकै बेला घट्न सक्ने सम्भावना भएकोले विद्यार्थीले सर्वहारावर्गको निम्ति काम गर्नुपर्छ भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश गुरुङले राजनीति भनेको समाजको निम्न वर्ग, देश र सम्पूर्ण मानव समुदायको हितमा काम गर्नु हो भन्नुभयो ।
जुम्ला–काठमाडौँ सम्पर्क समितिका सदस्य राजन भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा खेमसुन्दर कार्कीले २०४५ भदौ ९ गतेको घटनाक्रम, नेक्राविसङ्घ जुम्ला–काठमाडौँ सम्पर्क समितिका सदस्यहरू राजेश कामीले घटना घट्नुको कारण, आयुस अधिकारीले जेलभित्र भएको बहस तथा छलफल र नेक्राविसङ्घ कैलाली–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष राजकुमार पुन मगरले भक्तपुर काण्डको प्रभावबारे आ–आफ्नो प्रस्तुति दिनुभएको थियो ।
नेक्राविसङ्घ दैलेख–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष खेमसुन्दर कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा नेक्राविसङ्घ सुर्खेत–काठमाडौँ सम्पर्क समितिका सहसचिव रितु रोकायाले पनि बोल्नुभएको थियो ।