भक्तपुर, ४ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले नेमकिपाको स्थापना आदर्श समाज बनाउनको लागि भएको बताउनुभयो ।
“देश र जनताको निःस्वार्थ सेवा गरौँ, समाजवादी प्रचार अभियान अगाडि बढाऔँ, मादल चिह्नमा छाप लगाऔँ’ भन्ने मूल नाराका साथ सूर्यमढीमा सोमबार भएको नेपाल मजदुर किसान पार्टीको चुनावी सभामा पार्टी सचिव सुवालले देशको नीति–कार्यक्रम, बजेट, कानुन, सन्धि–सम्झौताबारे छलफल गर्ने प्राज्ञिक थलो संसद् हुनुपर्नेमा शासक दलहरूले संसद्लाई प्रधानमन्त्री छनौट गर्ने थलो बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने र ठुला भ्रष्टाचारी एवम् महिलालाई बलात्कारपछि हत्या गर्नेहरूलाई मृत्यदण्ड दिनेसमेत कानुन बनाउन आवाज उठाउँदै छ ।”
शासक दलहरूले पैतीस वर्षको बहुदलीय व्यवस्था पुनःस्थापना र गणतन्त्रको अवधिमा सार्वजनिक संस्थान निजीकरणको निहुँमा विदेशीसमेतलाई बिक्री गर्ने, अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता पारित गर्ने, विदेशी पुँजी लगानी गराएर देशलाई नवउपनिवेश गराउन देशघाती काम गरेको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो चुनावमा नेपाली जनताले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भएका दलहरूलाई र सार्वजनिक संस्थान निजीकरण, एमसीसी सम्झौता र विदेशी पुँजी लगानी गराएर देशलाई नवउपनिवेश बनाउने दलहरूलाई नेपाल जनताले मत नदिने स्पष्ट छ ।”
सचिव सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले धेरै मत पाए सुन्दर भविष्य, नयाँ युगको सुरुआत, भ्रष्टाचार नियन्त्रण र सुशासन, प्रजातन्त्रको जीत हुने अवस्था तयार हुनेछ ।”
वाग्मती प्रदेशका सांसद एवम् नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले यो चुनाव पहिलाको जस्तो चुनाव नभई देश जोगाउने वा विदेशीलाई हस्तान्तरण गर्नेबिच भएको स्पष्ट पार्नुभयो ।
नेमकिपा देश जोगाउने पक्षमा लागेको बताउँदै उहाँले संसद्मा नेमकिपा विदेशीलाई देश हस्तान्तरण गर्ने विभिन्न देशघाती नीतिको विरुद्ध सङ्घर्ष गर्नलाई आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो चुनाव एक दुई जना भारतीय दलाल मन्त्री बनाउन नभई सिङ्गै मन्त्रीमण्डल भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको कब्जामा राख्नका लागि हुँदै छ । त्यसबाट देशलाई जोगाउन नेमकिपाका उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका अध्यक्ष ज्ञानसागर प्रजापतिले सत्तासीन पार्टीहरू कोही कसैसँग नैतिकता बाँकी नरहेको बताउँदै उनीहरूले विगतमा गरेको गठबन्धन अन्ततः ठगबन्धन नै पुष्टि भएको बताउनुभयो ।
नैतिक मूल्य र मान्यताको सिद्धान्तमा ठुला दलहरू सबै चुकेको उहाँले बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर निर्वाचन परिचालन समितिका अध्यक्ष लक्ष्मीभक्त लासिवाले चुनावै नभइकन प्रधानमन्त्री घोषणा गर्नेहरूलाई एनजीओ आाईएनजीओले चलाएको स्पष्ट छ भन्नुभयो । उहाँले सहकारी ठगहरूले जनतालाई झुक्याउन सक्नेप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
निर्वाचन परिचालन समिति सूर्यमढीका संयोजक काशीलाल प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामेश्वरी कोजू, लक्ष्मीप्रसाद कुसी, विद्यार्थी क्रिषला प्रजापतिलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा जनगायक विनोद विक, भीमप्रसाद प्रजापति, कृष्णा गाइँजू, पासा पुचः, कमिचागल्ली दिदीबहिनी समूहलगायतले प्रगतिशील गीत प्रस्तुति गरेका थिए ।