भक्तपुर, १२ फागुन । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर क्षेत्र नं. २ को आयोजनामा मध्यपुर थिमि बालकुमारीमा मङ्गलबार चुनावी जनसभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले समाजवादी व्यवस्थाले मात्र बहुमत जनताको हित हुने उल्लेख गर्दै सरकारमा गएका दलहरूले घोषणापत्रमा ठुला ठुला कुरा गरे पनि जनविरोधी गतिविधि गरिरहेको बताउनुभयो ।
नयाँ भनाउँदा पार्टीको कुनै नीति, कार्यक्रम तथा सिद्धान्त र विचार नभएको उल्लेख गर्दै उहाँले विचारको आधारमा जनताले मत हाल्नुपर्ने, नयाँ तथा युवा उमेरले होइन विचारले हुने र क्रान्तिकारी विचार नै नयाँ हुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेमकिपाका उम्मेदवार निष्कलङ्कित र सच्चा भएको कारण नेमकिपाका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उम्मेदवार रमेश वैद्यले निर्वाचन घोषणापत्रको लडाइँ हो र मतदाताले घोषणापत्र हेरी मत हाल्नुपर्छ भन्नुभयो ।
अहिले नेपालमा कृषकहरू मल, बीउबिजन र सिँचाइमा आत्मनिर्भर नभएको कारण किसानले दुःख पाएको उल्लेख गर्दै उहाँले देशमा उद्योग कलकारखाना नभएको कारण युवाहरू विदेश पलायन हुन बाध्य भएको बताउनुभयो । विदेशी दलाल भ्रष्टाचारी र बलात्कारीलाई फाँसीको सजाय हुने कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उहाँले देशमा रासायनिक मल कारखाना खोल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समिति सदस्य सूर्यराम था र निर्वाचन परिचालन समितिका संयोजक वीरकृष्ण प्रजापतिले मन्तव्य राख्नुभएको थियो ।