पुँजीवादी सरकारमा जानेहरू कम्युनिस्ट नहुने


पुँजीवादी सरकारमा जानेहरू कम्युनिस्ट नहुने

कालीकोट, ५ कार्तिक । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा सोमबार कार्यकर्ता भेला भयो ।
भेलामा पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भन्नुभयो, “कर्णाली राजमार्ग निर्माण कच्ची र अवैज्ञानिक हुँदा सयौँ सवारी दुर्घटना र हजारौँको मृत्यु भयो । नेमकिपाले हिमाल–पहाडमा रज्जु मार्ग र सुरूङ मार्ग निर्माणमा जोड दिँदै आएको हो । सरकारमा गएका पार्टीहरूले सडक, पुल, अस्पताल, विद्यालय भवन निर्माण गरेको दाबी गर्छन् । कतिपय निर्माण बलियो नहुँदा स–सानो पहिरोमा समेत सडक र पुल भत्किएको हुँदा त्यस्ता प्राविधिक र ठेकेदारलाई पनि जवाफदेही बनाउनु जरूरी छ ।”
कम्युनिस्टहरूले निर्वाचनमा भाग लिएर देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने हो, पुँजीवादी सरकारमा गएर देश र जनतालाई शासन र शोषण गर्ने होइन भन्दै सचिव सुवालले पुँजीवादी सरकारमा गएकाहरू सच्चा कम्युनिस्ट नभएको स्पष्ट पार्नुभयो । २०४६ सालको जनआन्दोलनपछि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बहुदलको एक चम्चा पानीले जनताको प्यास नमेटिने बताउनुभएको अहिले सत्य साबित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारहरूले देश र जनतालाई २६ खर्ब रूपैयाँ ऋण बोकाई सडक, पुल र अस्पताल, विद्यालय भवन बनाएको पुष्टि भयो । करोडौँ युवालाई वैदेशिक रोजगारीमा पठाएर दाल, चामल, तरकारी, फलफूलसमेत भारतबाट आयात गर्दै सरकारहरूले देशलाई परनिर्भर बनायो ।
नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती र नेपालको सुरक्षा मामिला भारतको जिम्मा लगाउने सन् १९५० को नेपाल–भारत सन्धि खारेज गर्नुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले भन्नुभयो, “नेकाका नेता कृष्णप्रसाद भट्टराई प्रम भएर नेपालको नदी–नाला भारतको साझा हुने सम्झौता र गिरिजाप्रसाद कोइरालाले आफू प्रम भएको बेला टनकपुर बाँध बनाउन भारतले अतिक्रमण गरेको जमिन सदर गर्ने टनकपुर सम्झौता ग¥यो । यी दुवैको विरोध गरेको एमालेले नेपाली काङ्ग्रेसका प्रम शेरबहादुर देउवालाई महाकाली नदी भारतको साझा हुने महाकाली सन्धि गर्न साथ दियो । सुगौली सन्धिअनुसार महाकाली नदी सिङ्गै नेपालको हो ।”
“नेमकिपाका कार्यकर्ताहरू सिद्धान्तनिष्ठ हुनु जरूरी छ । अन्य पार्टीसँग चुनावी मोर्चा वा अन्य गठबन्धन गर्ने सिद्धान्तच्युत हुनुहुँदैन । सरकारमा गएका पार्टीहरू नामले फरक भए पनि कामले एउटै भएको यथार्थतर्फ सचेत हुनु जरूरी छ । प्रतिक्रियावादीहरू पार्टीभित्र घुस्नेतर्फ सचेत हुनुपर्दछ”, उहाँले भन्नुभयो ।
खड्गराज शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू नन्दबहादुर शाही, सरोजराज गोसाई र सृजना सैंजू र कालीकोटका धनञ्जय अधिकारी, प्रकाश गुरुङले पनि बोल्नुभएको थियो । कार्यक्रममा भुपेन्द्रबहादुर शाहीले गीत गाउनुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार