नेमकिपाको पन्ध्रौँ जुम्ला जिल्ला सम्मेलन सम्पन्न – “संशोधनवादीहरूलाई नेमकिपामा ठाउँ छैन”
जुम्ला, ७ कार्तिक । नेपाल मजदुर किसान पाटीको पन्ध्रौँ जुम्ला जिल्ला सम्मेलन बुधबार सम्पन्न भयो । सम्मेलनले पूर्णलाल खत्रीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले भन्नुभयो, “कम्युनिस्टहरूले पुँजीवादी निर्वाचनमा भाग लिएर देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु क्रान्तिकारी संसद्वाद हो । सम्मेलनका प्रतिनिधि र पर्यवेक्षकहरूले जुम्ला जिल्लाका मजदुर, किसान र कामदारवर्गको नेतृत्व गर्नु आवश्यक छ; पार्टी कार्यकर्ताहरूले निर्वाचनमा पैसा र सामान बाँड्ने तथा भोज खुवाउने संसद्वादी दलहरूविरूद्ध कामदार जनतालाई सचेत र सङ्गठित गर्नु जरूरी छ ।”
“संशोधनवादीहरूलाई नेमकिपामा ठाउँ छैन । नेमकिपाबाट मत लिएर जनतालाई विश्वासघात गरेकाहरू समयमै पार्टीबाट फालिनु देश र जनताको हितमा हुनेछ”, उहाँले भन्नुभयो ।
नेमकिपाविरूद्ध भारतको गोरखपुरमा र देशभित्र पनि षड्यन्त्र भइरहेको हुँदा पार्टीभित्र प्रतिक्रियावादीहरू हुनेतर्फ सबै सचेत हुनुपर्ने आवश्यकता सचिव सुवालले औँल्याउनुभयो ।
पार्टीका कार्यकर्ताहरू प्रतिक्रियावादीहरूको लोभमा फस्न नहुनेतर्फ सचेत गराउँदै सचिव सुवालले अमेरिकी साम्राज्यवादविरूद्धको लडाइँमा नेतृत्व गरेका भियतनामी सैन्य कमान्डरले नोवेल पुरस्कार लिन अस्वीकार गरेको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “शोषकहरूको पैसाबाट चुनाव जितेर सरकारमा गएका पार्टीहरूको नाममा कम्युनिस्ट राखिँदैमा ती पार्टीहरू मजदुर, किसान र कामदारवर्गको हुनेछैनन्; कम्युनिस्ट दाबी गरी सरकारमा गएका प्रम र मन्त्रीहरूले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, स्वदेशमा रोजगारी, सम्पत्तिको सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्छन् ।”
नेपालको नदीनालाबाट नेपालीकै लगानीमा जलविद्युत् उत्पादन गरी नेपाली जनतालाई सस्तोमा दिनुपर्नेमा एक एक गरी भारतीय एकाधिकार पुँजीलाई दिँदै आएकाहरू देशघाती भएको स्पष्ट पार्दै सचिव सुवालले नेमकिपाले देशको सन्तुलित विकास गर्न बजेट सङ्घीय राजधानी र प्रदेश राजधानीमा बढी खर्च नगरी ७५३ पालिकामा सहर विकास गर्नुपर्ने आवाज उठाउँदै आएको बताउनुभयो ।
नेमकिपाका कार्यकर्ताहरूले टोल या बस्तीमा स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षणलाई ध्यान दिनु जरूरी भएको उहाँले उल्लेख गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नवनिर्वाचित जिल्ला समितिका सदस्यहरूले जुम्ला जिल्लाका मजदुर, किसान र कामदारवर्गबिच पार्टी प्रकाशन अध्ययन र अन्तरक्रिया चालु गरी कामदारवर्गलाई सचेत र सङ्गठित गर्नु जरूरी छ† पार्टी कार्यकर्ताहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय जानकारीमा राख्न पार्टी प्रकाशन नियमित अध्ययन गर्नु जरूरी छ । अमेरिकी साम्राज्यवादले हतियारकै भरमा युक्रेनले रूसविरूद्ध र इजरायलले प्यालेस्टिनविरूद्ध आक्रमण गरेको हो ।”
अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्ली काफ्लेले गठबन्धनको नाममा शासक दलहरूले देश ठग्ने काम गरेको धारणा राख्नुभयो । उहाँले संसारमा पुँजीवादी शक्ति र समाजवादी शक्ति भएको उल्लेख गर्दै समाजवादी शक्तिले पुँजीवादविरूद्ध सङ्घर्षलाई अगाडि बढाइरहेको बताउनुभयो ।
नेमकिपाले समाजवादी व्यवस्था स्थापनाको निम्ति लडिरहेको स्पष्ट पार्दै उहाँले कार्यकर्ताको सक्रियताबाट सङ्गठनको विकास हुनसक्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले कम्युनिस्ट नामधारी पार्टीको सरकारले सबभन्दा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने उदयपुर सिमेन्ट कारखानालगायत विभिन्न उद्योगहरू निजीकरण गर्न खोजेको छ भन्दै कुनै पनि कम्युनिस्ट पार्टीले उत्पादनका साधनहरू निजीकरण नगर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीले नेपाललाई अगाडि बढ्न दिएन । हिमाललाई भारतको सुरक्षा पर्खाल मान्नु बेलायती साम्राज्यवादको निरन्तरता हो । सन् १९५० को नेपाल र भारतबिचको शान्ति तथा मैत्री सन्धिले नेपाललाई भारतको सुरक्षा छाताभित्र राखी नेपाललाई सिक्किम बनाउने षड्यन्त्रप्रति सजग हुनु जरुरी छ ।”
नेमकिपाका केन्द्रीय सदस्य सृजना सैँजुले क्रान्ति अवश्यम्भावी छ, क्रान्तिकारी मर्न सक्छ तर क्रान्ति कहिल्यै मर्दैन भन्नुभयो । उहाँले हजारौँ युवा बिदेसिनुमा शासक दलहरू नै जिम्मेवार छन् भन्नुभयो ।
नेमकिपा जुम्लाका पूर्वअध्यक्ष जयबहादुर शाहीले पार्टी कार्यकर्ताले जनताको सेवामा लाग्नुपर्ने भनाइ राख्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले शासक दलहरूको मिलेमतोमा विद्यालयमा आवश्यकताभन्दा पहुँचको आधारमा बजेट दिनाले शैक्षिक क्षेत्र भद्रगोल भइरहेको बताउनुभयो ।
सम्मेलन तयारी समितिका संयोजक पूर्णलाल खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राज्यश्वरी न्यौपाने, लालबहादुर बुढालगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा हरिबहादुर रावत, हस्त कुँवर, लक्ष्मी बुढा, बसुम बुढा, केसु रोकाया, धनमाया रोकायाले देउडा गीत प्रस्तुत गर्नुभएको थियो ।
पार्टी सचिव प्रेम सुवालको अध्यक्षतामा सञ्चालित बन्दसत्रले पार्टी जिल्ला समितिको प्रतिवेदन पारित गरेको थियो ।