कर्णालीमा २६ प्रतिशत घरधुरी अँध्यारो : दोषी सरकार
भक्तपुर, १५ कार्तिक । “कर्णाली प्रदेशका २६ प्रतिशत घरधुरीमा बिजुली बत्ती नपुगेको र मैनबत्ती बालेर सुत्केरी गराइएको सार्वजनिक भयो । बहुदलीय व्यवस्था पुनःस्थापनायता ३५ वर्षको अवधिमा सरकारमा गएका संसद्वादी दलहरूले नेपालको नदीनाला र बिजुली भारतलाई बिक्री गर्दै छन् । नेपालीको बिजुली नपाउने, खाना पकाउन भारतको महँगो ग्यास लिनुपर्ने किन ? नेपालीलाई सस्तोमा बिजुली उपलब्ध हुनु जरूरी छ ।”
नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका वडा नं. ८ समिति सुडालको आयोजनामा भएको नयाँ वर्ष ११४५, तिहार र छठ पर्वको अवसरमा सम्पन्न शुभकामना कार्यक्रममा पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उक्त भनाइ राख्नुभएको हो ।
संसद्वादी दलका नेता, मन्त्री र प्रधानमन्त्री नेपालको सरकारी अस्पतालाई व्यवस्थित नगरी सरकारी कोष बोकेर विदेश उपचारमा गएको देशघाती कदम भएको उल्लेख गर्दै सांसद सुवालले नेपाली जनता ती संसद्वादी दलहरूको पछि लाग्न नहुने बताउनुभयो ।
सांसद सुवालले शत्रुले नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूलाई लोभलालचमा फसाउनेतर्फ सचेत हुनुपर्ने उल्लेख गर्दै सित्तैमा पाउने भनी एमसीसी सम्झौता बहुमतबाट पारित गरेका संसद्वादी दलहरू अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने सर्त मान्न तयार हुनु पनि देशघात नै भएको बताउनुभयो ।
“सुगौली सन्धि गर्न गएका गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले आ–आफूले भारतमा जग्गा जमिन लिएर देशको क्षेत्रफल साँगुरो बनाए । अङ्ग्रेजहरूले कालापानीको युद्धमा नेपालीसँग मित लगाएर पानीको मुहान थुनेर युद्ध जितेका थिए । मित लगाएर, लोभमा फसाएर शत्रु अगाडि बढ्नेतर्फ सबै कार्यकर्ता सचेत हुनु जरूरी छ ।” सांसद सुवालले स्पष्ट गर्नुभयो ।
“सन् १९१७ को अक्टोबर क्रान्तिपछि सोभियत सङ्घले १८ वर्षमा आफूलाई विश्वको दोस्रो अर्थतन्त्रमा विकास ग¥यो । त्यही सोभियत सङ्घलाई विघटनमा पु¥याउन साम्राज्यवादी देशहरूले ख्रुश्चेभ र ब्रेझनेभलाई संशोधनवादी बाटोमा हिँडाए भने गोर्वाचोभलाई नोवेल पुरस्कारसमेत प्रदान ग¥यो”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
“नेपालमा कम्युनिस्ट दाबी गरेका एमाले, माओवादी, एसलगायतलाई पुँजीवादी सरकारको गुलियो पोतेको गोलीमा फसाइएको छ । देश र जनताले दुःख पाउनुमा संसद्वादी दलहरू नै दोषी छन् । सरकारले २६ खर्ब रूपैयाँ बढी ऋणमा देशलाई डुबाएर विकास निर्माणको हौवा फैलाएको छ । ऋण ल्याएर देश विकास गर्नु देशघात नै हो”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजु, सदस्य केशव तिमिल्सिना, स्थानीय समितिका सन्तराम दुलालले पनि शुभकामना दिनुभएको थियो ।