विविध भाषा साहित्य सम्मेलन सम्पन्न : सार्वजनिक संस्थान निजीकरण गर्नेहरू समाजवादी नहुने


विविध भाषा साहित्य सम्मेलन सम्पन्न : सार्वजनिक संस्थान निजीकरण गर्नेहरू समाजवादी नहुने

मध्यपुर, १७ कार्तिक । ‘भाषा, कला र संस्कृति बचाऔँ, राष्ट्रिय भावना जगाऔँ’ भन्ने उद्घोषका साथ २६ औँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम शनिबार बोडेको लाय्कुमा सम्पन्न भयो ।
उक्त सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले समाजवादी दाबी गर्ने एमाले, माओवादी, एसले सरकारमा गएर शिक्षा, स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारी दिनुपर्ने काम नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सार्वजनिक संस्थानहरू निजीकरण गर्नेहरूलाई समाजवादी र साम्यवादी भन्न मिल्दैन । नेका र एमालेको वर्तमान सरकारले नौ वटा उद्योग निजीकरण गर्ने तयारी गर्दै छन् । यो देशघाती कदम नै हो ।”
सांसद सुवालले भन्नुभयो, “हामी भर्खरै कर्णाली प्रदेशको सुर्खेत, अछाम, दैलेख, कालीकोट, जुम्ला जिल्लामा पुग्यौँ । कर्णालीका २६ प्रतिशत जनताले बिजुली बत्ती पाएका छैनन् । मैनबत्ती बालेर सुत्केरी गराउँदै छ । महिलाहरूलाई महिनावारीको बेला छाउगोठमा राख्ने यथावत छ । स्याउ, सुन्तला, ओखर, मार्सी धान, सिमी, गहुँ, जौ, आलु, फापर खेती सरकारको प्राथमिकतामा परेन । विद्यालय र कलेज भवन छन्, शिक्षक दरबन्दी नहुँदा विद्यार्थी पढ्ने कम भइरहेको छ । अस्पतालहरूमा डाक्टर र नर्सको बन्दोबस्त छैन । सरकारले देशको सन्तुलित विकास नगरेको हुँदा जिल्ला छाडेर प्रदेश र सङ्घीय राजधानीमा बसाइँसराइ बढ्दो छ ।”
जलस्रोत अध्येता रतन भण्डारीले लिम्पियाधुरा, लिपुलेक नेपालको नक्सामा गाभिए पनि नेपालले उक्त भूमिमा कुनै उपयोग नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
बिगतमा नदीनाला बेच्ने देशघातीहरूले नेपालको जमिन, नदीनाला संरक्षण गर्छन् भन्ने विश्वास नेपाली जनतालाई नभएको उल्लेख गर्दै उहाँले नगरपालिका र गाउँपालिकाका वडाध्यक्षहरूले सरकारी ढुकुटीबाट डोजर किनी आफै ठेक्कापट्टा गर्दै प्राकृतिक स्रोत र साधन जथाभावी खनेकाले ठुलो विपद् सृजना भएको बताउनुभयो ।
मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक पुकारचन्द्र श्रेष्ठले भाषा, साहित्य र संस्कृतिको संरक्षणलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै स्वास्थ्यको ख्याल गरी खानपानमा ध्यान दिए धेरै थरीको रोगबाट बच्न सकिने धारणा राख्नुभयो ।
मानव अङ्ग केन्द्रले देशभरिका बिरामीहरूको उपचारमा टेवा पु¥याइरहेको उल्लेख गर्दै उहाँले केन्द्रमा उत्कृष्ट सेवा प्रदान भइरहेको बताउनुभयो ।
नाक, कान, घाँटी विशेषज्ञ डा. रचना वैद्यले नाक, कान, घाँटीमा लाग्ने रोग र बच्ने उपायबारे जानकारी दिनुभयो ।
मानसिक राग विशेषज्ञ धनरत्न शाक्यले शरीरलाई सन्तुलनमा राख्ने मस्तिष्क हो, मस्तिष्कलाई सन्तुलनमा राख्ने मन हो भन्नुभयो ।
संस्कृतिविद् पद्मसुन्दर जोशीले हरेक जनजातिको संस्कृति जोगाउनुपर्नेमा जोड दिँदै पानीको व्यवस्थापन गर्न नदी किनारमा खेती गरेको र पानीले नभेटाउने टारमा बस्ती गरेको बताउनुभयो ।
सम्मेलनमा अतिथि प्रेम सुवालले विविधका संस्थापक अध्यक्ष एवं साहित्यकार सुन्दरराम था, नीलबाराही गणनाचका भैलद्यो बासुदेव अदुवा, जिब्रो छेड्ने सुजन बाग, जिब्रो छेड्ने जात्रामा सियो बनाउने धर्मलाल नकर्मी, बाजा गुरू चन्द्रकृष्ण सिपाई र तुल्सी सिपाईलाई सम्मान गर्नुभएको थियो ।
कवितामा कविराम घिमिरे प्रथम, ऊँ नरहरि श्रेष्ठ द्वितीय, शम्भु प्रजापति तृतीय र बुद्ध लामा सान्त्वना परेको थियो ।
न्हुँद सांस्कृतिक ¥यालीमा निक्व दाफा भजन खल प्रथम, सिद्धिकाली साकोस द्वितीय र ग्लाड स्टोन एकेडेमी तृतीय भएका थिए ।
सम्मेलनको उद्घाटन नीलबाराही गणनाचका भैलद्यो बासुदेव अदुवाले गर्नुभएको थियो ।
अग्रज किसान कार्यकर्ता रूद्रकुमार साहुको सभापतित्वमा भएको सो सम्मेलनमा आयोजक समितिका अध्यक्ष दिलकृष्ण बाटाले स्वागत, प्रकाश नोकुले आयव्यय, विविध भाषा साहित्यिक समाजका अध्यक्ष प्रेम के निडर र आयोजक समितिका सचिव जुजुभाइ बासं श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सम्मेलन सुरू हुनुअघि बिहान शुभकामना ¥याली भएको थियो । नगदेशको न्यागाः टोलबाट सुरू भएको ¥याली नगर परिक्रमापछि बोडे माविमा पुगी समापन भएको थियो ।
उक्त समापन कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तिथिमितिको नाउँमा विभिन्न जातजातिको संस्कृतिलाई बिथोल्न अनेक षड्यन्त्र भइरहेको बताउनुभयो ।
सरकारले निजीकरणलाई प्राथमिकता दिई पुँजीपतिहरूलाई पोस्ने काम गरिरहेको उल्लेख गर्दै उहाँले देशमा क्रान्तिलाई धकेल्न सरकारले युवाहरूलाई विदेश पु¥याउने काम गरिरहेको बताउनुभयो ।
विदेशी सम्बन्धन लिएका कलेजहरूले करोडौँ नेपाली रकम विदेश पठाई लुट्ने काम गरिरहेको चर्चा गर्दै उहाँले ख्वप अस्पतालले घर–घरमा नर्सिङ सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।
न्यागा टोलमा सुनिल प्रजापति र पञ्चकुमार कोजुले ¥यालीको उद्घाटन गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार