काठमाडौँ, १८ पुस । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहीबार सिंहदरबारमा भयो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आव ०८१/८२ को कार्यक्रम र हालसम्मको प्रगति सम्बन्धमा छलफल भयो ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संस्कृति मन्त्रालयको जिम्मेवारी सुसंस्कृत समाज निर्माण गर्ने भएको उल्लेख गर्दै सुसंस्कृत समाजको लागि समाजलाई साक्षर बनाएर नपुग्ने बरू सिङ्गो समाजलाई बुद्धिजीवीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “सुसंस्कृत समाजमा सदाचार, सद्भावना र मानवीय भावना हुनेछ । पदमा बस्दैमा मन्त्रीहरूले मनपरी गर्न मिल्दैन । भएको सरकारी उद्योग र संस्थान बेचेर देश ध्वस्त पार्नु र विदेशीसँग ऋण, दान, भिक्षा माग्नु शरमको विषय हो । पुँजीवादी समृद्धि कामदारवर्गको रगत पसिनामा होली खेल्नु हो ।”
“नेकाका बीपी कोइराला र नेपाल कम्युनिस्ट पार्टीका पुष्पलाल श्रेष्ठले भारतीय पुँजीको सेवा गर्ने राणा शासनविरूद्ध लड्नुभएको थियो । अहिले नेका र एमालेको संयुक्त सरकारले पर्यटन उद्योगको एउटा आधार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ९०० बिघा जमिन ३५ वर्षदेखि भारतीयको नियन्त्रणमा रहेको बारे उठाउन सकेन । देश र जनताको लागि काम गर्दा दुःख हुने विषयमा मन्त्री र सचिवहरू स्पष्ट हुनु जरूरी छ ।” सांसद सुवालले अगाडि थप्नुभयो ।
“नेपालका परराष्ट्र मन्त्री आरजु राणाको संरा अमेरिका, चीन, जर्मनी, भारत भ्रमण भयो । त्यसबारे समितिमा रिपोर्टिङ हुनु जरूरी छ । प्रधानमन्त्री र अन्य मन्त्रीहरूको विदेश भ्रमणबारे पनि समितिलाई बेखबर राख्नु उपयुक्त होइन । विभिन्न देशका लागि नेपाली राजदूत, महावाणिज्य दूत, अवैतनिक राजदूतहरूलाई पनि ६ महिना एक वर्षमा समितिमा आमन्त्रण गरी जानकारी लिनु सकारात्मक हुनेछ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “वाइडबडी खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार भएको र घुस रकम सिङ्गापुर र दुबई ल्याएर व्यवस्थापन गरिएको, हुण्डीमार्फत नेपालमा पनि पुगेको, प्रकृयागत निर्णयमा संलग्नलाई दोषी बनाइएको सार्वजनिक भयो । यसमा नेपाल राष्ट्र बैङ्कको अनुसन्धान जरूरी छ । यसबारे अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना भयो । नेपालमा नीतिगत निर्णय गर्नेहरू कसरी उम्किए ? मन्त्रीले यो विषय उठाउनु जरूरी छ ।”
सांसद सुवालले भन्नुभयो, “काठमाडौँ थँवहीलस्थित सरकारी कमलपोखरी र बगैँचा संस्कृति र पर्यटन उद्योगको आधार हो । यसलाई व्यक्तिको नाममा दर्ता गराई पन्ध्र तलाको छाया सेन्टर व्यापारिक भवन बनाउन दिइयो । यो भवन बनाउनेले क्षतिपूर्ति माग्दै छन् । यसमा संलग्न दोषीहरूलाई कारबाही हुनु जरूरी छ ।”
“काठमाडौँ उपत्यकाका पुराना बस्तीहरू पनि पर्यटन उद्योगका आधारहरू हुन् । २०७२ सालको भूकम्पयता यहाँका पुराना घरहरू टोल–टोल र चोक–चोकमा जीर्ण अवस्थामा छन् । कतिपय रैथानेले जीर्ण घर बेच्दै छन् । रैथानेको संरक्षण नभए यहाँको संस्कृति कसरी संरक्षण हुन्छ ? यहाँका पुराना घरहरू जीर्णोद्धार गर्न सरकारले काठलगायत परम्परागत निर्माण सामग्री जनतालाई सहयोग गर्नु जरूरी छ ।” सांसद सुवालले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको हिमालय प्राकृतिक सम्पदा र पर्यटन उद्योगको आधार हो । अहिले जलवायु परिवर्तनको कारण यहाँको हिमालयका ८० प्रतिशत हिउँ पग्लिने अवस्थामा पुगेको विषय पनि सरकारले उठाउनु आवश्यक छ ।”
नेपालको बहुजातीय र बहुसांस्कृतिक विषय धेरै पुरानो हो । संरा अमेरिकाको जन्म धेरै लामो छैन । नेपालको सांस्कृतिक संरक्षण विषयबारे अमेरिकासँग Cultural Property Agreement गर्नु समिचीन होला र ?” सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “मन्त्रालयको कार्यक्रममा बुद्ध, शिव, किराँत र रामायणको परिपथ बनाउने उल्लेख छ । बुद्ध र किराँत परिपथ सत्य इतिहास हो । पुरातत्वविद्हरूका अनुसार शिव र रामायण साहित्य हो, यथार्थ होइन । राजा–महाराजालाई ईश्वरको अवतार नमान्नेलाई ज्यान सजाय दिइन्थ्यो । समाज सचेत हुँदै आएपछि राजा–महाराजालाई ईश्वरको अवतार मान्न छाडियो । बुद्ध र किराँत परिपथबारे कार्यक्रममा राख्नु उपयुक्त हुनेछ ।”
“सरकारले बजेट विनियोजनमा ४० प्रतिशत चालु खर्च र ७० प्रतिशत पुँजीगत खर्च राख्नु उपयुक्त हुनेछ । मन्त्रालयको चालु आवको विनियोजनमा चालु खर्च ४८ प्रतिशत र पुँजीगत ५२ प्रतिशत गरिएको समिचीन भएन । यो पाँच महिनाको चालु खर्च ४८ प्रतिशत र पुँजीगत खर्च ८ प्रतिशतमात्र हुनु मन्त्रालयको कौशल कमजोर हुनु हो ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले थप्नुभयो, “मन्त्रालयविरूद्ध अख्तियारमा परेका १८३ उजुरीमध्ये ५४, राष्ट्रिय सतर्कतामा परेका २० उजुरीमध्ये ६ र अन्य १६ मध्ये १ मात्र फछ्र्यौट हुनु सकारात्मक होइन । मन्त्रालयको बेरूजु २ अर्ब १९ करोडमध्ये फछ्र्यौट ३१ करोड ९ लाख र मन्त्रालयअन्तर्गत समितिहरूको २ अर्ब ६९ करोडमध्ये ५५ करोडमात्र फछ्र्यौट हुनु पनि उपयुक्त होइन । भ्रष्टाचारविरूद्ध निर्मम हुने सरकारको प्रतिबद्धता नारामा सीमित भयो ।”
“मन्त्रालयले बजेट स्थानीय तहमार्फत विकास निर्माण गराउनु उचित भएको र मुक्तिनाथ क्षेत्रमा पर्यटकीय उद्धार केन्द्र स्थापना गर्ने बजेट स्थानीय तहमा पठाइएजस्तै अन्य स्थानीय तहलाई पनि जिम्मेवारी दिइए पुँजीगत खर्च समयमा हुनेछ । नेपालमा अर्बौँ रुपैयाँ ऋण ल्याएर अन्तर्राष्ट्रिय विमानस्थलहरू धेरै बनाउनु जरूरी छैन । स्वदेशी र विदेशी दुवैको हितको लागि आन्तरिक विमानस्थल सुदृढ बनाउनु आवश्यक छ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
मन्त्री बद्रीप्रसाद पाण्डेले जनशक्ति नपुग्दा पुँजीगत खर्च नभएको उल्लेख गर्दै पशुपति विकास क्षेत्र, पर्यटन विकास समिति, लुम्बिनी विकास कोष, तारागाउँ विकास समिति, गौशाला धर्मशालाको सुधार जरूरी भएको बताउनुभयो ।
सांसद प्रभु साहले मन्त्रालयको बजेट खर्च निराशाजनक भएको बताउनुभयो भने राप्रपाका सांसद धवलशमशेर राणाले नेपाल वायुसेवा निगमको जहाज थप्नुपर्ने उल्लेख गर्नुभयो ।
नेकपा एसका सांसद तथा पूर्वप्रम माधवकुमार नेपालले सरकार भ्युटावर बनाउनेतर्फ किन लागेको ? भन्ने प्रश्न गर्दै पुष्पलाल प्रतिष्ठानमा सहसचिव नेतृत्वको कर्मचारी उपयुक्त नभएको बताउनुभयो ।
एमालेका सांसद भीम आचार्यले विदेशी पर्यटकको ६० प्रतिशत खर्च हवाई जहाज भाडामा लागेको उल्लेख गर्नुभयो भने माओवादी केन्द्रका सांसद सुदन किराँतीले कमिसन आउने योजनामा मात्र मन्त्रालयको ध्यान जान नहुने बताउनुभयो ।
छलफलमा सांसदहरू सुनिता बराल, शिशिर खनाल, एकनाथ ढकाल, दामोदर पौडेल वैरागीले पनि भाग लिनुभएको थियो ।
मन्त्रालयका सचिवले संस्कृति, पर्यटन र नागरिक उडड्यनसँग सम्बन्धित निकायहरूको पूर्ण सुदृढीकरण गर्नुपर्ने बताउनुभयो ।