काठमाडौँ, २९ पुस । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण र इजरायलमा ‘सिक्ने र कमाउने’ कार्यक्रममा पठाइएका विपिन जोशीको अवस्थाबारे परराष्ट्रमन्त्री आरजु राणाले जानकारी गराउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विपिन जोशीबारे इजरायललाई हातहतियार पठाउने अमेरिकी सरकारसँग कुराकानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी मलाला युसुफ जाइले प्यालेस्टिनको गाजामा इजरायलले सम्पूर्ण शिक्षा प्रणाली ध्वस्त पारेको, सबै विश्वविद्यालयमा बमबारी गरेको, ९० प्रतिशतभन्दा बढी विद्यालय ध्वस्त पारेको, विद्यालय भवनहरूमा आश्रय लिइरहेका नागरिकहरूलाई अन्धाधुन्ध आक्रमण गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै भन्नुभयो, “प्यालेस्टिनीहरूले यहुदीहरूलाई शरण दिएको नरसंहार गराउन होइन, नेपालमा शरणमा बसेकाले इजरायलले जस्तै ध्वंस मच्चाए नेपाली जनता चुप बस्नेछैनन् ।”
सांसद सुवालले थप्नुभयो, “अमेरिकी रक्षामन्त्रीले युक्रेन र इजरायललाई हतियार बेचेर आफ्ना देशका हातहतियार उद्योगीहरूलाई अगाडिभन्दा अर्बौँ अर्ब डलर बढी नाफा कमाएको बताए । चोरले नदेखिने गरी चोर्छ । डाँकुहरूले जानकारी दिएर लुटेर लान्छन् । प्यालेस्टिन ध्वस्त पारेर अर्बौँ डलर नाफा कुम्ल्याउने अमेरिकी सरकारको मानवता र मानव अधिकार कस्तो हो ? यो प्रश्न परराष्ट्रमन्त्रीले अमेरिकी सरकारसँग सोध्नु जरूरी छ ।”
सांसद सुवालले अगाडि भन्नुभयो, “सरकारले वर्षा मौसममा उत्पादन बढी भएको बिजुली भारतलगायत विदेश निर्यात गर्ने दाबी गरेको छ । कर्णाली प्रदेशका २६ प्रतिशत बस्तीमा बिजुली पुगेको छैन । बिजुली नपुगेरै नेपालका उद्योगीहरू क्षमताको ४० प्रतिशतमात्र सञ्चालन भइरहेको छ । खाना पकाउने ग्यासको आयात २० प्रतिशतले बढ्यो । बिजुली नपुगेकै कारण २० प्रतिशत खेतीयोग्य भूमि बाँझो भयो । बिजुली नपुगेकै कारण कर्णाली प्रदेशका ९६ प्रतिशत जनता दूषित पानी खान बाध्य छन् । तराई–मधेसका मुसहर समुदाय शीत लहर फैलिएसँगै सुरक्षित आश्रय खोज्दै छन् । सरकारले नेपाली जनतालाई पर्याप्त बिजुली दिनु जरूरी छ ।”
अमेरिकी सरकारले युक्रेनलाई हातहतियार पठाएर रूसविरुद्ध लडाएको र नेपालीलाई युक्रेनी सेनामा पठाएको उल्लेख गर्दै सांसद सुवालले सरकारले ६४ लाख थान राहदानी छाप्न टेन्डर आह्वान गरेको देशको हितमा नभएको बताउनुभयो ।
“सरकारले नेपाली युवा करोड हाराहारीमा भारतबाहेक १७३ देशको वैदेशिक रोजगारीमा पठाएको हुँदा नेपालको सामाजिक सन्तुलन बिग्रियो, ५०० भन्दा बढी कलेजहरू विद्यार्थी नभएर बन्द भए, कृषि अवरूद्ध भयो, दाल, चामल, तरकारी, फलफूलसमेत खर्बौँ रूपैयाँको आयात गर्नुपरेको छ; देशको कतिपय ठाउँमा मलामी जाने युवासमेत भेटिएन”, सांसद सुवालले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
केही वर्षअगाडि लुम्बिनी भ्रमणमा आएको भारतीय प्रधानमन्त्री मोदीलाई नेपालका प्रधानमन्त्रीले स्वागतसहितको तल्लो अरूण जलविद्युत् परियोजनासमेत उपहार दिएर पठाएको सांसद सुवालले उल्लेख गर्नुभयो ।
परराष्ट्रमन्त्री आरजु राणाले सार्क शिखर सम्मेलनबारे भारतीय विदेशमन्त्री एस. जय शङ्करले तिम्रो देशमा आक्रमण गरी नागरिक मारेको भए बैठक राख्छ र भनी प्रतिप्रश्न गरेको बैठकलाई जानकारी दिँदै पाकिस्तान नभएको र सबै सदस्य देश सहमत भएको हुँदा विम्स्टेकको बैठकमा प्रधानमन्त्रीसहितको टोली जाने बताउनुभयो ।
चीनसँग भएको बीआरआईसम्बन्धी सम्झौतामा ऋण नलिने र अनुदानमात्र लिने उल्लेख गर्दै परराष्ट्रमन्त्री राणाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहाबारे चीनसँग कुनै छलफल नभएको बताउनुभयो ।
नेकाका सांसद विमलेन्द्र निधीले बीआरआईबारे ऋण वा अनुदान के हो प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने बताउनुभयो ।
राप्रपाका सांसद पशुपतिशमशेर राणाले बीआरआईमा ऋण पनि लिने उल्लेख भएको बारे आशङ्का व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री आरजु राणाले विदेश गएका नेपालीमध्ये कतिपय उतै भाग्ने, अपराध र अवैध काममा लाग्ने गरेको हुँदा नेपालको राहदानीको विश्वसनीयता घटेको बताउनुभयो ।
सांसद सुवालले राख्नुभएको कतिपय जिज्ञासाबारे परराष्ट्रमन्त्री राणाले स्पष्ट गर्नुभएन ।