भक्तपुर, ३ माघ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा बिहीबार प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले संसारका आन्दोलनको इतिहास र आन्दोलनका अगुवाहरूको जीवनी अध्ययन गरेर नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवस माघ महिनाभरि मनाउने पार्टीको निर्णय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी स्थापना दिवसका कार्यक्रमहरूमा फागुन १६, १७, १८ र १८ गते सम्पन्न हुने पार्टीको आठौँ महाधिवेशनबारे जनतासम्म कार्यकर्ताहरूले पु¥याउनु आवश्यक छ ।”
“राजनीतिक आन्दोलन सम्पन्न गर्न व्यापक जनतालाई राजनीतिकरूपले शिक्षित र सङ्गठित गर्नु आवश्यक छ । बेलायतको क्रान्ति, फ्रान्सको क्रान्ति र अमेरिकी स्वतन्त्रता आन्दोलन, रुस, चीन, क्युवा, प्रजग कोरियाको आन्दोलनले यही पाठ दिएको छ ।”, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको परराष्ट्र सम्बन्ध तथा पर्यटन समितिमा परराष्ट्रमन्त्री आरजु राणाले बीआरआई सम्झौतामा चीनसँग ऋण नलिने दोहो¥याउनुभयो । एमसीसी सम्झौतामा अनुदान आउने भए पनि अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने सर्त राखिएको नेपालको हितमा छैन । बीआरआईमा त्यस्तो कुनै सर्त छैन । बीआरआईबारे सरकार स्पष्ट नहुनु खोटपूर्ण मान्नुपर्छ ।”
उहाँले भन्नुभयो, “इजरायलले प्यालेस्टिनमा गरेको नरसंहार र भूमि कब्जा रोक्न कतारमा हालै भएको युद्ध विरामसम्बन्धी सम्झौता वार्तामा अमेरिकी राष्ट्रपति बाइडेन र राष्ट्रपतिमा निर्वाचित ट्रम्पमा विशेषदूत रहनुले इजरायललाई हतियार दिएर लडाउने अमेरिकी सरकार नै भएको पुष्टि गर्छ । अमेरिकी सरकारको मानवता र मानव अधिकार बमबारीमा सीमित निन्दनीय छ ।”
व्यक्तिगत सम्पत्तिमा लोभीहरूकै कारण संस्थामा अशान्ति, हिंसा, युद्ध, हतियार खरिद बिक्री बढिरहेको उल्लेख गर्दै उहाँले अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पलाई सन् २०२० को संसद् भवनमा हमलाबारे सजाय राष्ट्रपतिमा निर्वाचित भएकै कारण नगरिनु अर्काे निन्दनीय हो भन्नुभयो ।
“पार्टी कार्यकर्ताहरू देश र अन्तर्राष्ट्रिय अवस्थाबारे विस्तृत अध्ययन गरी जनतालाई शिक्षित र सङ्गठित गर्न लागिपर्नु जरुरी छ ।”, उहाँले भन्नुभयो ।
कार्यक्रममा लेखक एवं भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले संसारका विकासशील देशहरू एकजुट भई एक आपसमा सहयोग गरी हरेक देशसँग एक क्षेत्र एक रोडको अवधारणा चीनले ल्याएको बताउनुभयो ।
स्थलगत मार्ग, हवाई मार्ग, जलमार्ग र रेलमार्ग विकास गरी हरेक देशले आफ्नै खुट्टामा उभिन्न सक्ने उद्देश्य रहेको उक्त योजनाले देशको विकास मात्र होइन एक आपसमा सद्भाव र मित्रता बढाउँछ भन्नुभयो ।
साम्राज्यवादी र पुँजीवादी देशहरूले चिनियाँ सपनालाई असफल पार्न अनेक षड्यन्त्र रचिरहेको उल्लेख गर्दै उहाँले देशका शासकहरू विकासभन्दा संयुक्त राज्य अमेरिका र विस्तारवादी देश भारतको कठपुतली बनिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
आयोजक समितिका उपाध्यक्ष लक्ष्मीभक्त लासिवाको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुरुषोत्तम तमखुले पार्टीको उद्देश्य र स्थापनाबारे चर्चा गर्नुभयो ।