भक्तपुर, ५ माघ । “इजरायल प्यालेस्टिन युद्धको प्रयोजनको अमेरिकी उद्देश्य त्यस क्षेत्रको रणनीतिक बिन्दु हुनुका साथै त्यहाँको तेलको भण्डार हुनु कब्जा गर्न हो ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले शनिबार नेमकिपा कोसी प्रदेशको आयोजनामा भएको पार्टी कार्यकर्ता भेलाको प्रशिक्षणमा व्यक्त गर्नुभएको हो ।
उहाँले दोस्रो विश्वयुद्धको अन्त्यपछि साम्राज्यवादीहरू कम्युनिस्टहरू गुप्त तरिका अपनाउँछन् र प्रजातन्त्रवादीहरू खुला र स्वतन्त्र हुन्छन् भन्ने कुरा गलत हो भन्ने तथ्य अमेरिकामा राष्ट्रपति नियुक्ति र त्यहाँको गुप्तचर विभाग र कर्मचारीतन्त्रद्वारा राष्ट्रपतिहरू परिचालित हुनुपरेकोबाट छर्लङ्ग हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेता–कार्यकर्ताहरूले पद र पैसाको निम्ति राजनीति गर्ने होइन ।”
उहाँले भन्नुभयो, “वेस्ट मिनिस्टर प्रणालीअनुसार संसद्मा दोस्रो तहका दल प्रमुख प्रतिपक्षी र पहिलो दल सरकार प्रमुख हुनुपर्ने सिद्धान्तविपरीत प्रमुख प्रतिपक्षी हुनुपर्ने दल सरकार प्रमुख बनेको छ । कार्यकर्ताहरूले सिद्धान्तलाई नै जोड दिनुपर्छ । अरूको भरमा काम गर्नुहुँदैन, आफू र आफ्नो उद्देश्यमा प्रस्ट हुनु आवश्यक छ । जिल्ला जिल्लामा कार्यकर्ताहरूले पार्टीको क्रान्तिकारी उद्देश्यलाई प्रचारप्रसार गर्नुपर्छ ।”
पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यकर्ता भेलामा सभापतिको आसनबाट नेमकिपा केन्द्रीय सदस्य एवं कोसी प्रदेश संयोजक उकेश कवांले ग्रीनल्यान्ड, क्यानाडालगायतका उत्तरी धु्रवीय मुलुकहरू ग्लोबल वार्मिङका कारण हिउँ पग्लिएर जमिन उपयोग गर्ने परिस्थितिसँगै अनेक खनिज पदार्थ उत्खनन हुने भएपछि ती देशहरूमाथि संरा अमेरिकाले आँखा गाड्ने गरेको बताउनुभयो ।
उहाँले पार्टी कार्यकर्ताहरूले अन्तर्राष्ट्रिय परिस्थितिको अध्ययन नगरी देशमा तात्विक परिवर्तन गर्न कठिन हुने भएकोले अन्तर्राष्ट्रिय विषयमा अध्ययन गर्नु आवश्यक छ भन्नुभयो ।
सामन्ती संस्कार, पुँजीवादी संस्कार नछोड्ने व्यक्तिले क्रान्तिकारी विचार व्यवहारमा देखाउन नसक्ने बताउँदै उहाँले हरेक नागरिकलाई एमाले, माओवादी, काङ्ग्रेसलगायतका दलहरूको सिद्धान्त र व्यवहारबिच तुलना गरी सही गलत छुट्याउन सबल बनाउनु कार्यकर्ताको कर्तव्य हो भन्नुभयो ।
कार्यकर्ता भेलामा नेपाल मजदुर किसान पार्टीको स्थापनाका आधार र विकास, युक्रेन–रुस युद्ध, प्यालेस्टिन–इजरायल युद्ध, युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू भन्ने विषयमा प्रशिक्षण भएको थियो ।
भेलाको सञ्चालन भोजराज बस्नेतले गर्नुभएको थियो भने भेलामा महेन्द्र बखुन्छे, मिनबहादुर बाटा, रमेश वैद्य, रामेश्वर मचामसी, सुरेश कवांले पनि बोल्नुभएको थियो ।