कालीकोट, ७ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा कालीकोट जिल्ला समितिले सोमबार जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
दुईदिने कार्यक्रमको सुरुआत गर्दै नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेमकिपाले समाजवादी व्यवस्थाबारे जनतालाई प्रशिक्षित गर्नमा जोड दिँदै आएको प्रस्ट पार्नुभयो ।
समाजवादी व्यवस्थाले मात्र शोषित तथा पीडित किसान–मजदुरको हित गर्ने स्पष्ट पार्दै उहाँले उत्पादनका मुख्यमुख्य साधन र स्रोत सामाजिकीकरण गर्नु आवश्यक भएको बताउनुभयो ।
केन्द्रीय सदस्य शाहीले भन्नुभयो, “कर्णाली राजमार्ग बनेको २० वर्ष भयो तर राजमार्गको खाल्डाखुल्डी कहिल्यै पुरिएन । मुख्यमन्त्री आउनेबेला माटोले खाल्डो पुर्ने नाटकमात्र भइरह्यो । विकास बजेटले कार्यकर्ता पाल्ने काम जारी रहेसम्म देशको विकास हुनेछैन ।”
पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले माओवादी अराजकतावादी गतिविधिविरुद्ध सैद्धान्तिक सङ्घर्ष गरेको बताउनुभयो ।
सामन्तवादी व्यवस्थाले लामो समय शासन गरेको, सामन्तवादको अन्त्य भएर पुँजीवादी व्यवस्था आएको उल्लेख गर्दै केन्द्रीय सदस्य गोसाईले पुँजीवादी व्यवस्थाले पनि मजदुर वर्गलाई मुक्त नगर्ने र समाजवादी व्यवस्थाले मात्र मजदुर वर्गलाई मुक्ति दिनेछ भन्नुभयो ।
क्रान्तिलाई सफलतामा पु¥याउन देशको भित्री र बाह्य परिस्थिति तयार हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति पनि मिल्नु जरुरी भएको उहाँले बताउनुभयो ।
नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजङ्ग शाहीले नेमकिपाले २०१९–२० सालदेखि नै तत्कालीन पुष्पलाल नेतृत्वको कम्युनिस्ट पार्टीभित्र सैद्धान्तिक सङ्घर्ष गरेको, त्यस पार्टीले कुनै परिवर्तन नगर्ने जानकारी भएपछि पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले नेतृत्वमा २०३१ सालमा नेमकिपा स्थापना भएको बताउनुभयो ।
पञ्चायती व्यवस्थाले बहुदलवादी पार्टीका नेताहरुलाई पञ्चायतमा हुले पनि जनविरोधी व्यवस्थाको अन्त्य भएरै छोडेको छ भन्दै उहाँले नेमकिपाका नेता तथा कार्यकर्ताहरुलाई प्रतिक्रियावादी पार्टीहरुले लोभलालचमा फसाउन सक्नेप्रति सजग गराउनुभयो ।
नेमकिपा, कालीकोटका अध्यक्ष खड्गराज शाहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा धनञ्जय अधिकारी, नरेन्द्र रोकाया, प्रेमलाल कोइराला, निमबहादुर भण्डारी, रतनबहादुर शाही, नैनबहादुर शाही, बसुन्धरा दमाइ, जयसरा रोकायमगर, रत्ना भण्डारी, तुल्सी, मनसरा शाही, हजिरी दमाइलगायतले आफ्नो विचार राख्नुभएको थियो ।