कैलाली, ७ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा कैलालीको जानकी गाउँपालिका वडा नं. ४ मुनुवामा पार्टी प्रकाशनबारे अध्ययन गोष्ठी सोमबार सम्पन्न भयो ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘नेपालको आर्थिक विकास र आत्मनिर्भरताको प्रश्न’ पुस्तकको विषयमा सहभागीहरूले आ–आफ्नो बुझाइ प्रस्तुत गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले देशको प्राकृतिक स्रोत साधन विदेशी एकाधिकार पुँजीको नियन्त्रणमा, नेपाली युवा जनशक्ति विदेशी भूमिमा पलायन र नेपाली जनतालाई ऋणको भारी बोकाएर सरकारमा गएका नेता र उच्च तहका कर्मचारीहरू भ्रष्टाचारको दलदलमा फसिरहुञ्जेल देशको उन्नति सम्भव नहुने बताउनुभयो ।
उहाँले समाजवादी व्यवस्थामा उत्पादनका स्रोत र साधन राज्यको स्वामित्वमा रहने हुँदा कामदार जनताको साझा प्रयासमा चाँडो विकास भएको चीन र प्रजग कोरियाको उदाहरण पेस गर्नुभयो ।
पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले पार्टीको आठौँ महाधिवेशन पुँजीवादी विकृतिविरूद्ध जनतालाई सचेत पार्ने र समाजवादको आवश्यकताबारे जागरण फैलाउने अभियानको रूपमा अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले मान्छेको जन्मदेखि मृत्युपर्यन्तसम्मको सम्पूर्ण जिम्मेवारी राज्यले लिने व्यवस्था समाजवाद भएको चर्चा गर्दै पार्टीको निर्देशनमा भक्तपुर नगरपालिकाले जनताको सेवा गरिरहेको बताउनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला समितिका सचिव गगन थापामगर, नेपाल क्रान्तिकारी युवा सङ्घका सीताराम पण्डित, गोवद्र्धन तारामी, रामबहादुर दर्लामी मगर र विद्यार्थी लक्ष्मी प्याकुरेललगायतले पुस्तकका विभिन्न अङ्कहरू वाचन गरी आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।