कालीकोट, ८ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा पार्टी जिल्ला समिति कालीकोट जिल्ला समितिले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ ।
अध्यक्ष नारायणमान बिजुक्छेँले लेख्नुभएको नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटा विचारको खण्डन पुस्तकको अध्ययन गोष्ठी मङ्गलबार गरिएको थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले अध्ययन संस्कृतिको विकास गर्नुपर्ने भन्दै पार्टी साहित्यको अध्ययन नगर्ने व्यक्ति पार्टीको अनुशासित कार्यकर्ता होइन भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले सिद्धान्त, नीति तथा कार्यक्रममा स्थिरता भएको कुरा स्थापनाकालमा लेखिएका पुस्तकहरू प्रमाणको रूपमा रहेको धारणा राख्नुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजंग शाहीले प्रत्येक कार्यकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्नु अनिवार्य छ भन्नुभयो ।
नेमकिपा कालीकोट जिल्ला समितिका अध्यक्ष खड्गराज शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीले पुस्तकका केही अंशको अध्ययन गरेर आफ्नो विचार राख्नुभएको थियो ।