(का. रोहितद्वारा लिखित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकको पहिलो प्रकाशन वि.सं. २०३३ (१ सेप्टेम्बर, १९७६) मा भएको थियो । यो पुस्तक नेपाल मजदुर किसान पार्टीको स्थापनाका आधारभूत तत्वहरूमध्ये एक हो । यो सैद्धान्तिक सङ्घर्षको निचोड हो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटो विचारको खण्डन नगरी कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । यो पुस्तक अहिले पनि समय सान्दर्भिक छ । नेमकिपा स्थापना हुनाका सैद्धान्तिक आधार र ठम्याइ पुस्तकमा उल्लेख भएकोले पार्टी स्थापना दिवसको अवसरमा यो छापिएको हो । – सं.)

पार्टीभित्र हाम्रा केही कामरेडहरू सास फेर्दा पनि ‘पार्टी कार्यक्रम’ या ‘नयाँ जनवादी कार्यक्रम’ भनेर फलाको गर्ने गर्छन् र अरूलाई पनि आफ्ना त्यही प्रचारलाई सुगाको घोकाइ घोकाउन चाहन्छन् । त्यस ‘कार्यक्रम’ लाई तिनीहरू क्रान्ति र सङ्घर्षको उद्देश्यको रूपमा नलिई एक व्यक्ति वा एक गुटको ठम्याइ ठीक हो भनी आँखा चिम्लेर समर्थन गराउन र प्रचार थोप्न चाहन्छन् । तिनीहरू ‘कार्यक्रम’ को पार्टीलाई सीताराम पार्टीमा बदल्न चाहन्छन् । अन्धविश्वासीहरू घाँटी सुकाई सीतारामको भजन गरेर स्वर्गमा आफ्नो मेचलाई पहिले नै खालिराख्न चाहेजस्तै यी कार्यक्रमवादीहरू आफ्नो मेचलाई एडभान्स बुकिङ (अग्रीम सुरक्षा या बैना दिएर आफ्नो) गर्न चाहन्छन् । ‘कार्यक्रम’ ठीक र बेठीक नबुझिकन आँखा चिम्लेर समर्थन गर्नु नै क्रान्तिको समर्थन गर्नु हो भन्ने हल्ला गर्छन् । के कुरा साँच्चै तिनीहरूले ठम्याए जस्तै हो त ?
हाम्रो विचारमा यो ठम्याइ खोटपूर्ण छ । तर, तिनीहरूको त्यस अन्धविश्वासी प्रचारले सैद्धान्तिक स्तर नउठेका केही पुराना र नयाँ कामरेडहरू अलमलमा परेका छन् । यस प्रकारको अन्धो समर्थनले अन्तमा पार्टीलाई नै गलत बाटोमा लैजान सक्छ र क्रान्तिमा तगारो हाल्ने काम हुन जान्छ भन्ने हाम्रो ठम्याइ छ । यसकारण, कार्यक्रमको सम्बन्धमा माक्र्सवादी–लेनिनवादी विचारहरूलाई अध्ययन गर्नु जरूरी छ ।
आज हाम्रो देशमा कम्युनिस्टहरू विभिन्न गुटमा विभाजित छन् । तिनीहरूमध्ये कति ठीक ठाउँमा होलान्, कति बेठाउँमा होलान्, कति असल होलान्, कति कमसल होलान्, कति सङ्गठित होलान् र कति असङ्गठित होलान् । तर, तिनीहरू सबैलाई एकगठ गर्न सक्नु साझा दुश्मनको निम्ति आँखाको धुलो हुनेछ । एकगठ नभएसम्म दुश्मनले हामीमाथि रजाइँ गर्न पाइरहने छन् । एकगठ हुनमा बाधा दिनु नै दुश्मनको सेवा हुन जानेछ । यसकारण, यदि त्यस ‘कार्यक्रम’ ले कम्युनिस्टहरूमा एकता ल्याउनुको सट्टा फुट ल्याउँछ भने, ‘कार्यक्रम’ ले आन्दोलनलाई अगाडि बढाउनुभन्दा नोक्सान पु¥याउँछ भने त्यसलाई हेरफेर गर्नुपर्छ वा त्यसलाई थन्क्याएर नयाँ र बहुमतलाई मान्य ‘कार्यक्रम’ बनाउनुपर्छ । यदि एक नयाँ सर्वसम्मत कार्यक्रमको आधारमा जनताको आन्दोलनलाई अगाडि बढाउन सक्ने सम्भावना छ भने त्यस विवादास्पद वा तगारोको रूपमा खडा भएको ‘कार्यक्रम’ लाई फिर्ता लिनुपर्छ वा फालिदिनुपर्छ र ‘कार्यक्रम’, ‘कार्यक्रम’ भनेर घाँटी सुकाउने बानी छोड्नुपर्छ ।
सन् १८७५ तिर जर्मनीमा दुई मजदुर पार्टीहरूको एक संयुक्त समाजवादी पार्टीको स्थापना भइरहेको थियो । माक्र्स र एङ्गेल्सले त्यस एकतालाई ठीक मान्नुभयो । तर, त्यसमा भएका कमजोरीहरूलाई नहिच्किच्याइकन आलोचना गर्नुभयो । त्यस एकता सम्मेलनको कार्यक्रमलाई ‘गोठा कार्यक्रम’ भनिन्छ । त्यस कार्यक्रमको आलोचनाको चिठीमा माक्र्सले भन्नुभयो, “वास्तविक आन्दोलनको हरेक पाइलो दर्जनौँ कार्यक्रमहरूभन्दा धेरै महत्वपूर्ण छ ।”
कार्ल माक्र्सले त्यस कार्यक्रमलाई तीखो आलोचना गर्नुभयो, वैज्ञानिक समाजवाद र सर्वहारावर्गको हुकुमबारे गहकिला विचारहरू अघि सार्नुभयो । पहिलो इन्टरनेसनलले पास गरेको आइजेनाख कार्यक्रमको आधारमा काम गर्न त्यस परिस्थितिले नदिएको हो भने “खालि साझा शत्रुको विरोधमा सङ्घर्ष गर्न एक सम्झौतासम्म गर्नुपर्दथ्यो ।”
१८–२७ मार्च १८७५ मा अगस्ट बेवेललाई लेख्नुभएको पत्रमा एङ्गेल्सले भन्नुभयो, “कुनै पार्टीको औपचारिक कार्यक्रम त्यस पार्टीले गर्ने कामभन्दा कम महत्वपूर्ण हुन्छ ।”
त्यसैले यदि नेपालमा सामन्तवाद, साम्राज्यवाद, नयाँ र पुराना उपनिवेशवादको विरोधमा सङ्घर्ष गर्ने हो भने सबै कम्युनिस्टहरू एक हुनुपर्दछ र त्यो कम्युनिस्ट एकता साझा शत्रुलाई हान्न सक्ने एक खँदिलो शक्ति हुनेछ । यसकारण, माक्र्सले भन्नुभएजस्तै लामो अवधिसम्म संयुक्त सङ्घर्षले एक आधार नबनाएसम्म कार्यक्रमलाई ‘स्थगित’ गर्नुपर्छ । हुन पनि फलाकिएको त्यस ‘कार्यक्रम’ मा त्यस्ता धेरै कुरा छन्, जसले पार्टी आन्दोलनको स्तरलाई नाप्नेछ र जो आजको परिस्थितिसँग मेल खाँदैन ।
कार्यक्रम प्रस्तुत गर्नु मात्रै सबथोक होइन । ‘कार्यक्रम’ ठीक पनि हुनसक्छ, बेठीक पनि हुनसक्छ । कार्यक्रमले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति राम्रोसँग मूल्याङ्कन गर्न सकेको पनि हुन्छ, गर्न नसकेको पनि हुन्छ । कार्यक्रम वास्तवमा जनताको आन्दोलनको ऐतिहासिक शिक्षाको रूपमा विकास हुन्छ । त्यो कोठामा बसेर क्रान्तिको फलाको गर्ने एक दुईजना मपाईँमार्केहरूको कलम खियाउने काम होइन, त्यो त जनताको वास्तविक आन्दोलनको सारको रूपमा आउनुपर्छ । कार्यक्रम जनताको आवश्यकतालाई बुझेर लेखिएको हुनुपर्छ । त्यो देशको वस्तुस्थिति र सङ्घर्षबाट सचेतरूपले लेखिएको जनताको आवश्यक इच्छापत्र हुनुपर्छ । कुनै कार्यक्रम यदि एक दुई जनाको पेवा र अनुभव मात्रै हुन्छ भने त्यो एक दुई जनालाई मात्रै स्वीकार्य हुनसक्छ । यदि जनआन्दोलनको नियमलाई बुझेर लेखिएको छैन भने त्यो कार्यक्रमको पक्षमा दिइने सबै कुरा बेकार साबित हुनेछन् । यसकारण, लेनिनले ऐतिहासिक अनुभव भएको व्यावहारिक पाइलोलाई “सयौँ कार्यक्रम र तर्कहरूभन्दा कता कता धेरै महत्वपूर्ण” मान्नुभयो ।
हो, लेनिनले भन्नुभएजस्तै ‘सयौँ कार्यक्रम र तर्कहरू’ भन्दा एक व्यावहारिक पाइलो जाती छ । लेनिनका यी शिक्षाबाट हामीले सिक्नुपर्छ । ‘कार्यक्रम’, ‘कार्यक्रम’ भनेर सीतारामको भजन गर्नु र सुगाको घोकाइ गर्नुभन्दा देश र जनताको सेवा गर्ने व्यावहारिक पाइला वा सङ्घर्षहरू चालेर जानु धेरै असल हुन्छ ।
१७ मई १९७१ को चीनको ‘जन दैनिक’, ‘लाल झन्डा’ र ‘मुक्ति सेना’ को सम्पादकीय विभागले पेरिस कम्युनको सयवर्षे जयन्तीको स्मृतिमा प्रकाशित सर्वहारा हुकुमको विजय अमर रहोस् भन्ने एक लेखमा भनिएको थियो, “सही कार्यक्रम र कार्यदिशा खालि ठुलो जनसमुदायलाई वर्गसङ्घर्षमा लागु गरेर नै तयार गर्न सकिन्छ, त्यसको विकास गर्न सकिन्छ र त्यसलाई जाँचबुझ गर्न सकिन्छ र कार्यमा लागु गर्न सकिन्छ ।”
हो, कार्यक्रम जन समुदायको वर्गसङ्घर्षबाट तयार भएको र जाँचबुझ गरिएको हुनुपर्छ । अनि मात्रै त्यो कार्यक्रम ठीक कार्यक्रम हुनेछ । नत्र ‘कार्यक्रम’, ‘कार्यक्रम’ भनेर फलाक्नाले त्यस कार्यक्रमको महत्वलाई पनि घटाउनु र बदनामसमेत गराउनु हुनेछ ।
तर, पार्टीका केही कामरेडहरू आफ्नो कार्यक्रमको मोटाइमा समेत गर्व गर्छन् । यस कुरालाई छिमेकी देश चीनको कम्युनिस्ट पार्टीको कार्यक्रमसँग दाँज्यौ भने हामीलाई आश्चर्य लाग्नेछ । भनिन्छ, सन् १९२७ मा मात्रै अर्थात् छैठौँ महाधिवेशनमा मात्रै त्यस पार्टीको एक निश्चित कार्यक्रम तयार गरिएको थियो । त्यसमा खालि १० वाक्यको १० सूत्रीय कार्यक्रम पास गरिएको थियो । सन् १९३७ को जापानविरोधी सङ्घर्षमा त्यस पार्टीले अर्को १० वाक्यको १० सूत्रीय कार्यक्रम तयार पार्यो । अहिलेसम्म त्यस पार्टीको कुनै मोटो पार्टी कार्यक्रम छैन । पार्टी संविधानभित्र रहेकै कार्यक्रम तिनीहरूको पार्टी कार्यक्रम हो, जसमा केही वाक्यहरू मात्र छन् ।
अब हामी यस टुङ्गोमा पुग्छौँ कि कार्यक्रम नै सबथोक होइन । माक्र्सवाद–लेनिनवादले हामीलाई सिकाउँछ कि ऐतिहासिक र व्यावहारिक अनुभवले युक्त भएको आन्दोलन र वर्गसङ्घर्ष कुनै कार्यक्रमभन्दा बढी महत्वपूर्ण हुन्छ । अरू मित्र पार्टीको अनुभवले पनि बताउँछ कि पार्टी कार्यक्रम मोटो र ठुलो हुनुपर्छ भन्ने होइन । एकचोटि पास गरिसकेको वा स्वीकार गरिसकेको कार्यक्रम सदा व्यावहारिक र सही हुन्छ भन्ने कुरा पनि होइन । यसकारण, आ–आफ्नो कार्यक्रममै अडिरहन वा त्यही आधारमा मात्रै कम्युनिस्ट एकताको बाटो खोज्नु पार्टी एकता र क्रान्तिको निम्ति तगारो हाल्नु जत्तिकै हुनेछ ।
अब पार्टीको एकता र क्रान्तिलाई अगाडि बढाउन सक्ने परिस्थिति तयार गर्न कुन उपाय हामीले रोज्ने हो त ? एक कम्युनिस्ट गुटले गरेको वर्गसङ्घर्षलाई अर्को गुटले समर्थन गर्ने र आपसमा सफलता र अनुभवको आदानप्रदान गर्ने उपाय नै पार्टी एकताको निम्ति सजिलो आधार र बाटो हुनेछ । यस्तो पार्टी एकताले क्रान्तिलाई छिट्टै अगाडि बढाउन सकिने छ । पार्टी कार्यक्रमबारे यही हाम्रो ठम्याइ हो ।

साभार : नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन