सप्तरी, १७ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा सप्तरीको बरहीपुरमा बिहीबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले किसान–मजदुरलाई नै देशको मालिक बनाउने उद्देश्यले नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको भए गाउँको विकास हुने थियो । शासक पार्टीहरूको अदूरदर्शिताकै कारण पञ्चायती व्यवस्थाभन्दा पनि गणतान्त्रिक व्यवस्थाको बदनाम भइरहेको छ ।”
नेका, एमाले र माओवादी पार्टीले गाउँको विकासलाई ध्यान नदिएको उल्लेख गर्दै केन्द्रीय सदस्य प्रजापतिले अहिलेको व्यवस्था पुँजीवादी व्यवस्था भएको र यो व्यवस्थामा कामदारवर्गको हित नहुने बताउनुभयो ।
समाजवादी व्यवस्थाले मात्र कामदारवर्गको हित गर्ने स्पष्ट पार्दै उहाँले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि कामदार जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्दै आएको बताउनुभयो ।
नेमकिपा सप्तरीका अध्यक्ष दिगम्बर यादवले गाउँका युवाहरू रोजगारीको लागि बिदेसिने क्रम बढेकाले गाउँ युवाविहीन हुँदै गएको र सिंहदरबारले गाउँको विकासमा ध्यान नदिएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोज साहले नेमकिपाले जनतालाई अन्याय र भ्रष्टाचारको विरूद्ध आवाज बुलन्द गर्न सिकाइरहेको छ भन्नुभयो ।
कार्यक्रममा ललित राम, मिथिलेस यादव र अभिनन्दन यादवलगायतले बोल्नुभएको थियो ।